२८ माघ - १ फागुन २०७२ | 7-13 February 2016

बेवास्तामा स्वयम्भू

Share:
  
महाभूकम्पले क्षतिग्रस्त विश्व सम्पदा स्वयम्भू महाचैत्य परिसर पुनःनिर्माणमा खास पहल हुन सकेको छैन।

बिक्रम राई
ऊ बेला कालीदह भनिने काठमाडौंमा विपस्वी बुद्धले पहाड परिक्रमापछि नागार्जुनमा तपस्या गरे। उनै बुद्धले वैशाख पूर्णिमामा दहमा कमलको बीउ रोपे। अर्को वर्ष कमल उमि्रयो। त्यही कमलमा स्वयम्भू महाचैत्य उत्पत्ति भयो। “आफैं उमि्रएको हुनाले त्यसलाई स्वयम्भू भनिएको हो भन्ने भनाइ छ”, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्य भन्छन्।

काठमाडौं महानगरपालिका– १५ स्थित स्वयम्भूलाई काठमाडौं उपत्यकाको स्थापनासँग जोडेर हेर्ने गरिन्छ। तर, स्वयम्भूको स्थापना र निर्माणबारे अन्योल कायमै छ।

मञ्जुश्रीले काठमाडौंको पानी कटाउनुअघि त्यही स्वयम्भूमा पूजा गरेको, फूल भएकै स्थान पहाड बनेको र त्यही स्वयम्भूनाथ स्तुप बनेको कथन छ। संस्कृतमा स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि हुन्छ। नेवारीमा भने 'स्यें'ले स्वयं, 'गुँ'ले वन भन्ने जनाउँछ। स्वयम्भूका प्रमुख थकाली (पुजारी) वीरमान बुद्धाचार्य (७६) स्येंगु भन्दै जाँदा स्वयम्भू नाम रहन गएको बताउँछन्।

विश्व सम्पदा सूचीमा परेको स्वयम्भू ३२.६४ हेक्टरमा फैलिएको छ। स्वयम्भूलाई कपिलवस्तुमा भेटिएका स्तुपहरूपछिको सबैभन्दा पुरानो स्तुप मानिन्छ। पुरातत्व विभाग, विश्व सम्पदा संरक्षण शाखा प्रमुख सुरेश श्रेष्ठका अनुसार, सातौं शताब्दीका लिच्छवी राजा अंशुवर्माको गोकर्ण र हाँडीगाउँमा भेटिएका शीलालेखहरूमा स्वयम्भूको वर्णन गरिएको छ। सरकारले सन् १९७९ मा धार्मिक क्षेत्र घोषणा गरेको थियो।

स्वयम्भू महाचैत्यको गुम्बजमा बुद्धका विभिन्न रूप समेटिएका ९ वटा साना मन्दिर (गवाछे) छन्। महाचैत्यको आडैमा हारती माताको मन्दिर छ। तीर्थालुहरु भर्खरै जन्मिएको सन्तान सुरक्षाको कामना गर्न हारती माताको दर्शन गर्न आउने गरेका छन्। भाकलका लागि पनि स्वयम्भू सबैको तीर्थस्थल बनिआएको छ।

स्वयम्भू महाचैत्य परिसरमा शान्तिपुर, अग्निपुर, वायुपुर, नागपुर, वसुपुर मन्दिर प्रमुख छन्। महाचैत्य परिसरमा बसोबास गर्ने २९ परिवार पुजारी खलकमध्ये पाँचजना थकालीले नियमित पूजा गर्छन्।

स्वयम्भूमा बुद्ध पूर्णिमा र श्रीपञ्चमीमा विशेष पूजा गरिन्छ। साउन महीनाभर गोला धर्म मेला लाग्छ। योबेला स्वयम्भू दर्शन गर्न आउनेमा बौद्धभन्दा बढी हिन्दू धर्मावलम्बी हुन्छन्। “स्वयम्भूप्रति सबैको समान आस्था छ”, महासमितिका महासचिव बुद्धाचार्य भन्छन्।

पुनःनिर्माणमा ढिलाइ

१२ वैशाखको भूकम्पले स्वयम्भू क्षेत्रको महाचैत्यमा क्षति नपुगे पनि परिसरका मन्दिर तथा स्तुपको स्वरूप बिग्रिएको छ। अग्निपुर, शान्तिपुर, प्रतापपुर, पुरानो तामाङ गुम्बा पूर्णरूपमा भत्किएका छन् भने १७ वटा स्तुप र अन्य सम्पदामा आंशिक क्षति पुगेको छ। महासमितिले क्षतिग्रस्तमध्ये केहीको मर्मत थालेको छ। तर, अधिकांशको अवस्था उस्तै छ।

“मर्मतमा करीब रु.६० लाख खर्च भइसकेको छ”, महासचिव बुद्धाचार्य भन्छन्, “तर, पुरातत्व विभाग नतातेसम्म केही नहुने देखिन्छ।”

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम