कपिलवस्तु एउटा गणराज्य हो र 'शाक्यगण'को रुपमा प्रसिद्ध छ। गणराज्यमा राजतन्त्रको प्रसंग र सिद्धार्थलाई राजकुमारका रुपमा गरिएको चित्रण आफैंमा विरोधाभास छ। 'ललित विस्तर' लगायत पछिल्ला बौद्ध साहित्यमा कपिलवस्तुलाई गणराज्य नभएर राजतन्त्रात्मक पद्दतिको राज्यको रुपमा चित्रण गरिएको त छ, तर त्यो इतिहाससम्मत छ्रैन। 'त्रिपिटक' अन्तर्गतका पाली ग्रन्थहरुमा समेत गौतम बुद्धका बाबु सुद्धोदनलाई महाराजा भनिए पनि 'महाराजा' शब्दले राजतन्त्रात्मक राज्यको सर्वोच्च पदको अर्थ दिंदैन।
महाराजासँगै 'राजा' शब्द आएको पाइन्छ। 'राजा' र 'महाराजा'को प्रसंग बज्जी, मल्ललगायत तत्कालीन भारतीय गणराज्यहरुमा पनि पाइन्छन्, तर आजको शब्दकोशबमोजिम ती राजा, महाराजा होइनन्। ती गणराज्यहरुमा निश्चित अवधिका लागि गणप्रमुख निर्वाचित हुन्थे। त्यसरी निर्वाचित गणप्रमुखलाई महाराजा र संसद्को रुपमा रहेको संस्थागार सदस्यहरुलाई 'राजा' भनिएको पाइन्छ। श्रमण जीवन अपनाउनुअघि सिद्धार्थ पनि संस्थागारका सदस्य रहेको बुझिन्छ। शस्त्र–अस्त्रको होडबाजीबाट विरक्तिएर श्रमण जीवन अपनाएको बुद्धले स्पष्ट पारेका छन्, जुन 'सुत्तनिपात' ग्रन्थमा संग्रहित छ।
अर्को तथ्य, शाक्य गणराज्य कपिलवस्तुका राजनीतिक हस्ती शुद्धोदन जीवनपर्यन्त गणप्रमुख वा महाराज थिएनन्। बुद्धत्व प्राप्त गरेर गौतम बुद्ध कपिलवस्तु फर्कंदा पिता शुद्धोदन नभई गणप्रमुख वा महाराजाको भूमिकामा भद्दीय थिए भने कोशल नरेश विडूडभले आक्रमण गर्दा महानाम शाक्य (शुद्धोदनका भाइ शुक्लोदनका छोरा) कपिलवस्तुको गणप्रमुख वा महाराजा पदमा थिए।
कपिलवस्तुको राजदरबार भनिएको तिलौराकोटको संरचना वा भग्नावशेष र प्राचीन शाक्यगणबीच कुनै सम्बन्ध छैन। त्यहाँ पुग्ने पर्यटकलाई जानकारी दिन प्रकाशित सामग्री र गाइडहरुले बताउने 'फलाना कोठामा यशोधरा सुत्थिन्, ढिस्काना कोठामा छोरा राहुल सुत्थे' भन्ने जस्ता कुरा मनगढन्ते हुन्। भनिने अरु पनि थुप्रै कुरा छन्, जो कि मनगढन्ते हुन् कि अनुमान।
भारतीय पुरातत्वविद् देवला मित्राले उत्खनन् गरेर जति रिपोर्ट दिए, अहिले त्यसभन्दा बढी उत्खनन् भई थप सामग्री पाइएका छन्। ती सबै पुरातात्विक उत्खनन्ले जमीनमुनि बेग्लै संरचना देखिएका छन्। दरबार भनिएको क्षेत्र र त्यसपरिपरि पाइएको वस्ती वा सहरको संरचनाले तिलौराकोटको जमीनमुनि दबिएको संरचना तत्कालीन राजधानीको प्रमुख प्रशासनिक भवन भएको बुझिन्छ। पछि त्यही स्थानमा अन्य संरचनाहरुको निर्माण भएको देखिन्छ। चिनियाँ यात्रीहरुले 'तिलौराकोटको दरबार' भनेको पाइन्छ, तर उनीहरु राजतन्त्रात्मक प्रणालीमा अभ्यस्त थिए भन्ने बिर्सन मिल्दैन।
तत्कालीन राजनीतिमा प्रसिद्ध 'सोह्र महाजन पद' को अर्थ समृद्ध र शक्तिशाली राज्यहरु भन्ने बुझिन्छ। पछिल्लो बौद्ध वाङ्मयमा कपिलवस्तु समृद्ध र शक्तिशाली राज्यको रुपमा चित्रित भए पनि 'सोह्र महाजन पद'मा कपिलवस्तुको गणना हुँदैन। बरु महाजन पद कोशलको प्रभाव क्षेत्रमा परेको र धेरै अर्थमा स्वतन्त्रता गुमाइसकेको सानो गणराज्यमात्र भएको देखिन्छ, कपिलवस्तु। बरु, कोशन अर्को महाजन पद मगधको अधीनमा परेपछि कपिलवस्तु पनि स्वतः मगध साम्राज्यमा गाभिन पुग्यो।
बुद्धलाई २९ वर्षको उमेरसम्म राजकुमारका रुपमा दरबारमा हुर्काइएको मानिंदै आएको छ। यो मान्यतामा प्रश्न उठाउँदा 'धर्मग्रन्थविपरीत' भन्दै आपत्ति जनाउने धेरै छन्। जवकि, बौद्ध धर्मकै थुप्रै ग्रन्थले राजतन्त्रको अर्थ दिंदैन र कुनै ग्रन्थमा लेखिएको वा बुद्धले भनेको भन्दैमा आँखा चिम्लेर पत्याइनहाल्नू, सुनारले सुन जाँचेजसरी जाँचबुझ गरेर सही ठहरेमात्रै त्यसलाई ग्रहण गर्नु भन्ने बुद्धकै उपदेश छ।