२८ माघ - १ फागुन २०७२ | 7-13 February 2016

आँटिलो प्रयोग

Share:
  
अन्त्यसम्मै रहस्यलाई ब्यूँताइराख्नु र अप्रत्यासित ढंगमा कथा टुंग्याउनु उपन्यासको विशेषता हो।

पहिलो उपन्यास 'मोनिका'मा सम्भ्रान्त युवतीको विलासी जीवनशैलीलाई मुख्य विषय बनाएकी शिवानी न्यौपानेको दोस्रो उपन्यास 'क्रसिङ स्याडोज्' को केन्द्रमा भने निम्नवर्गको चित्रण छ। चार वर्षपछिको दोस्रो कृतिमा शिवानीको कथामात्र होइन, लेखनीको धारसमेत फेरिएको छ। यो कृतिमा उनी रहस्यात्मक जासूसी विधाप्रति लोभिएकी छिन्, जुन स्थापित लेखकका लागिसमेत हत्तपत्त आँट गर्ने विधामा पर्दैन।

उपन्यासमा मुख्य कथा र पटकथाहरुको संयोजन गजब लाग्छ। यसले खासगरी किशोरकिशोरी र युवा पाठक उपन्यासका चरित्रहरुसँगै बाँधिएर बस्छन्। दुई प्रहरी पात्रको परिचयबाट शुरु भएको उपन्यासमा केही पृष्ठपछि त्रिकोणात्मक प्रेमकथा देखिन्छ। आफ्नो बालसखा र प्रेमीको पर्खाइमा बसेकी माया एकाएक स्तब्ध हुन्छिन्, जब प्रेमी जीवनले धनी श्रीमती र बालख छोरी साथै ल्याउँछ।

पीडाबाट रन्थनिएकी मायाले जीवनप्रति बदलाभाव राख्छे। उता जीवनकी पत्नीले पनि पतिको पूर्वकथा थाहा पाउँछे। अनि शुरु हुन्छ, अपराधको चलखेल। कहिले मायाको जबरजस्ती विवाह, फेरि मायाको नयाँ प्रेमीको बुबाको अपहरण, जीवनको प्रधानमन्त्री बन्ने दौड र मायाको घरमा अचानकसँग देखापर्ने दुर्घटना– यी सबैले पाठकलाई चकित तुल्याउँछन्, उत्सुकता जगाउँछन्। उपन्यासको अन्त्यसम्मै रहस्यलाई ब्यूँताइराख्नु र अप्रत्यासित ढंगमा कथा टुंग्याउनु उपन्यासको विशेषता हो। लेखकले छरिएका पात्र, परिवेश र घटनालाई धैर्यतापूर्वक नजिक्याउँदै पाठकले नसोचेको मोडमा कथा पुर्‍याएकी छिन्।

नेपालमा औंलामा गन्न सकिने अंग्रेजी साहित्य लेखनमा शिवानीको प्रयास स्वागतयोग्य छ। तर, त्रुटिरहित भने छैन। उनले बढी सुधार गर्नुपर्ने साहित्यको भाषा हो। उनको कथा जति रोचक र दरिलो लाग्छ, भाषा त्यसअनुरुप शुद्ध र सुन्दर लाग्दैन। व्याकरण र शब्द प्रयोगमा थुप्रै त्रुटि छन्, जसले उपन्यासको सौन्दर्यमा दाग लगाउँछ।

कृति क्रसिङ स्याडोज्
विधा उपन्यास

लेखक शिवानी न्यौपाने

प्रकाशक कथालय पृष्ठ ३२४+...,

मूल्य रु.३५०

प्रहरी अधिकृत 'टेरिफाइड' (डराएको) हुनुपर्नेमा 'मोर्टीफाइड' (लजाएको) शब्द प्रयोग गरिएको छ। अफ (ओएफएफ) र अफ (ओएफ) बीचको फरकको ख्यालै नगरी पटकपटक प्रयोग गरिएको छ। यस्ता गल्तीहरुले अनर्थ लगाएका छन्।

यसले अंग्रेजीमा दख्खल राख्ने पाठकले शुरुवातमै झिंझो मानेर उपन्यास छाड्ने र सिकारुका लागि भाषाको दुर्घटना निम्तिने खतरा छ। मन हर्ने वाक्य मुस्किलले भेटाइनु उपन्यासको कमजोरी हो। यस्ता गल्तीप्रति लेखक, त्यो भन्दा बढी उनका सम्पादक र प्रकाशकले ध्यान पुर्‍याउनु अत्यावश्यक थियो। त्यसो त पात्रका हाउभाउलाई ऋतिक रोशन र स्टीभ जब्सजस्ता व्यक्तित्वसँग तुलना गर्ने अनावश्यक जोखिम मोल्ने शिवानीको रहर पनि बुझ्न सकिंदैन।

उपन्यासको शक्ति भनेकै प्रचूर कल्पनाशीलताले भरिएको कथा हो, जसलाई भाषामा उतार्न शिवानीले प्रशस्त मिहिनेत गरेकी छन्। उनले अवको समय भाषा निखार्न र शैलीमा सुधार ल्याउन खर्चे पुग्छ।

रविन गिरी

comments powered by Disqus

रमझम