२८ माघ - १ फागुन २०७२ | 7-13 February 2016

भोलिका स्टार

Share:
  
- अनुशील श्रेष्ठ
पछिल्ला 'हीट' चलचित्रमा सहायक भूमिकामा समेत नयाँ अनुहार हावी भइरहेका छन्।

बिक्रम राई
छड्के फिल्ममा विपिन (अगाडि) र कामेश्वर (अन्तिम)।

कबड्डी र कबड्डी–कबड्डी मा छन्त्याल बनेका बुद्धि तामाङ र विके बनेका विजय बराल, रेशम फिलिलि का हरिया कामेश्वर चौरसिया तथा पशुपतिप्रसाद का भष्मे विपिन कार्कीको उम्दा अभिनयको प्रशंसा हुन थालेको धेरै भएको छैन। 'हिरो'सँगै यी कलाकारका तस्वीरसमेत चलचित्रको 'पोष्टर'मा अटाउन थालेका छन्।

पछिल्ला दिनमा चर्चाको सन्तुष्टिले चित्त बुझाएका यी कलाकारको हिजो भने कमैलाई थाहा छ। रंगमञ्च पृष्ठभूमिबाट सिल्भर स्क्रीनमा प्रवेश गर्न उनीहरुले गरेको संघर्ष चलचित्रका कथा भन्दा कम रोचक छैनन्।


'होटलमा भाँडा माझों'

तिमाल, काभ्रेबाट कलेज पढ्न डेढ दशकअघि काठमाडौं छिरेका बुद्धि तामाङ (३३) को संघर्षको कथा ज्यालादारी मजदूरीबाट शुरु हुन्छ। बाँच्ने उपक्रममा उनले होटलमा भाँडा माझो, इँटा उद्योगमा काम गरे। सडकमा चटपटे बेचे।

दश वर्षअघिको एक दिन उनी पुष्कर गुरुङको डबली थिएटरमा पुगे। एकपटक ट्रेकिङमा भारी बोक्ने काम गरेर काठमाडौं फर्केका बुद्धिलाई साथी प्रभातले 'नाटक खेल्छस्, पैसा पनि आउँछ' भनेपछि 'जीन्दगीले बाँच्नका लागि जेजे गराउँछ गर्छु' भन्दै सडक नाटक गर्न थाले। नाटकमा पैसा थोरै तर सन्तुष्टि धेरै थियो। साथीहरुको सल्लाहमा उनी रङ्गकर्मी अनुप बरालको एक्टर्स स्टुडियोमा भर्ना भए। र, बरालकै नाटक मलामीमा अभिनय गरे। त्यसयता राजन खतिवडा र दयाहाङ राईको संगतले उनलाई मण्डला थिएटरसम्म ल्यायो। मण्डला स्थापनामा पाएको दुःख उनले मण्डलाकै नाटक चरणदाश चोर, डिग्री माइँला, सुनकेशरी, मीतज्यू, सर्जमीन खेल्दा बिर्सिए। मण्डलामा अहिले चलिरहेको र...माइलो नाटकमा पनि उनलाई देख्न पाइन्छ।

नाटकसँगै बुद्धि रेड मनसुन, वधशालाजस्ता समीक्षकले रुचाएका फिल्ममा पनि काम गरे। तर, कबड्डी को छन्त्यालले उनी दर्शकको 'नोटिस'मा परे। फिल्ममा उनको थेगो 'हैट' लोकप्रिय भयो। त्यसयता मह जोडीको टेलीशृखला धूवाँ र टलकजंग भर्सेस टुल्के, वडा नं ६ फिल्ममा समेत देखिएका उनी अभिनित तान्द्रो, धूलो, बिजुली मेशीन प्रदर्शनको तयारीमा छन्।

बुद्धिलाई लाग्छ, दुःखका दिन सकिंदैछ। उनी भन्छन्, “जिन्दगीमा मेरो अनुहार फिल्मको पोष्टरमा आउँछ भनेर कल्पना पनि गरेको थिइनँ।” तर, उनलाई अझ धेरै संघर्ष बाँकी छ भन्ने थाहा छ। “हैट, अझै धेरै राम्रो काम गर्न बाँकी नै छ नि”, जवाफको उनको आफ्नै शैली छ।


'भोकभोकै हिंडियो'

कबड्डी सिक्वेलका विके विजय बराल (२७)ले पेट पाल्न बुद्धिकै जस्तो दुःख गर्नुपरेन। तर, कलाकार बन्न उनले खाएको हण्डर कम छैन। लालबन्दी, सर्लाहीका विजय गाउँमै कलाकार र नेताहरुका क्यारिकेचर गर्थे। साथीहरुले हौस्याएकै भरमा उनी हाँस्यकलाकार बन्ने सपना बोकेर एक दशकअघि राजधानी पसे। काठमाडौंमा उनले केही समय विद्यार्थी राजनीति पनि गरे। तर, उनको गन्तव्य कलाकर्म थियो। उनी नाट्य प्रशिक्षणका लागि आरोहण गुरुकूल पुगे। सुनील पोखरेल आदर्श बने।

गुरुकूलको अध्याय सकिएपछि राजन र दयाहाङकै लहलहैमा लागेर विजय मण्डला थिएटर स्थापनामा कस्सिए। “ठूलै कलाकार बन्ने सपना देखेका हामी ३०/४० रुपैयाँमा भरपेट भात खाने ठाउँ खोज्दै गल्लीहरु चहार्थ्यो”, उनी सम्झन्छन्, “तर, भोको पेटमा राजन र दयादाइको सफलताले आशा जगाउँथ्यो।”

कबड्डी अघि विजयले पनि मण्डलाका सबैजसो नाटकमा अभिनय गरे। छडके, साँघुरो, कर्कस, मौन फिल्ममा पनि देखिए। तर, उनलाई पनि दर्शकसामु परिचय गराएको कबड्डीले नै हो।

विजय लालबन्दीमै रिक्सा चालकको अभिनय गरिरहेका थिए। कसैले घरमा छोराले रिक्सा चलाउन थालेको खबर सुनाइदिएछ। “आमाले फोन गरेर बाबु तेरो यस्तो पनि दिन आयो भन्नुभयो”, उनी भन्छन्। तर, छोराले पढेर गतिलो जागिर खाओस् भन्ने बुबाले हालैका दिनमा 'तेरो अरु कुनकुन फिल्म छ भन् है, म गाउँलेलाई पनि देखाउँछु' भन्दा विजय खुशीले भावुक बनेका थिए। “हिजोभन्दा आज राम्रो भइरहेको छ”, उनी भन्छन्, “अभिनयबाटै बाँच्ने दिन कसो नआउला।”


'सफल छु, सन्तुष्ट छैन'

कमल रिमाल

बाहुनी, मोरङका विपिन कार्की (३२) अर्का पात्र हुन्, जसले चलचित्रमा आफ्नो आवश्यकता पुष्टि गरेका छन्। प्रदर्शन भइरहेको पशुपतिप्रसाद को 'भष्मे', छड्के मा 'विन्दु', सुन्तली मा 'चोर' र ताण्डव मा 'जड्याहा'को चरित्रमा उनी जमेका छन्। लूट, आचार्य र खग्रास मा पनि उनी झल्याक–झुलुक देखिएका थिए।

२०५५ सालमा एसएलसी दिएर काठमाडौं आएका उनी रंगकर्मी साथी कमलमणि नेपालको संगतले २०६३ तिरै गुरुकूलको सडकनाटक टोलीमा सहभागी भएका थिए। यसले उनलाई गुरुकूलकै नाटक ताराबाजी लै लै मा छानिन मद्दत गर्‍यो। यसले उनलाई गुरुकूलमै बसेर नाटक सिक्ने अवसर प्रदान गर्‍यो। अटलबहादुरको आतंक, बुख्याचा जस्ता नाटकमा काम गरेपछि भने गुरुकूल नै बन्द भयो।

चलचित्र क्षेत्रमै सक्रिय दाइ अर्जुन कार्कीले 'कला क्षेत्रमा बाँच्न गाह्रो हुन्छ' भने पनि रंगमञ्चको चस्काले उनलाई छाडेन। गुरुकूलका सौगात मल्लको लोकप्रियताले उनमा हौसला थप्यो।

छड्केमा 'बिन्दु' पात्रमाथिको उनको अभिनयको चर्चा हुन थाल्यो। पशुपतिप्रसाद ले त्यसलाई थप न्याय गर्‍यो। “म दर्शकको मनमा बस्न चाहन्थं”, उनी भन्छन् “त्यसमा सफल भएँ तर पूर्ण सन्तुष्ट भने होइन।” अभिनयबाटै भविष्य बनाउनेमा उनी आशावादी छन्।


'कार धुँदै नाटक सिकें'

छड्के र रेशम फिलिलि चलचित्रमार्फत कुशल अभिनेताको छनक देखाइसकेका कामेश्वर चौरासिया (३६) भने प्रदर्शन हुन बाँकी एक चलचित्रले आफ्नो खास अभिनय क्षमता प्रस्तुत गर्ने दावी गर्छन्। त्यो चलचित्र हो, प्रणय लिम्बू निर्देशित द स्पोन्सर।

बारा, जीतपुरबाट ७ वर्षअघि फिल्म खेल्न भनेरै काठमाडौं आएका कामेश्वर लूट मा गोफ्ले (दयाहाङ राई) सँग लूँडो खेल्दै गफिने पात्र बने। हाईवे र उमा फिल्ममा पनि यस्तै छोटो भूमिकामा देखिए। तर, यी छोटा तर प्रभावशाली अभिनयले भन्छ, उनी लामो दूरीका धावक हुन्।

गाउँघरमै नाँच्ने, अभिनय सीप सिकेका कामेश्वर साथीहरुको उक्साहटमा एकपटक हिजो आजका कुरा मा खेल्न पाइएला भनेर काठमाडौंमा सन्तोष पन्तलाई समेत भेटे। २०६५ सालमा गुरुकूलमा भइरहेको नाटक महोत्सवमा स्वयंसेवी बनेपछि उनलाई लाग्यो, सपनाको बाटो यही हो। तर गुरुकूलमा उनले काम पाएनन्।

अभिनयको भोकले रन्थनिएका उनी भारतको पुनास्थित नेशनल स्कूल अफ ड्रामा पुगे, जहाँ नेपाली रंगकर्मका हस्ती सुनील पोखरेल र अनुप बरालले पढेका थिए। तर, त्यहाँ पनि उनले पढ्न पाएनन्। तर, रंगकर्मी फरिद अहमदको सहयोगमा नयाँदिल्लीमा काम गर्दै नाटकबारे अध्ययन गर्न थाले। “बिहान, दिउँसो कार धुने र बेलुकी नाटक सिक्ने गर्थें”, उनी भन्छन्।

डेढ वर्षपछि दिल्लीबाट फर्र्किएपछि आफू स्वयंलाई 'असफल मान्छे' ठहर गरे र राजधानीमा भुजिया बेच्न थाले। भुजिया बेचिरहेकै बेला एक दिन कामेश्वरले बाटोमा अनुप बराललाई भेटे र बरालले एक्टर्स स्टुडियोमा बोलाए। लगत्तै उनले टेलीफिल्म हाम्रो टीम मा सानो भूमिका पाए। बरालकै मलामी र मण्डलाको नाटक चरणदाश चोर मा अभिनय गरे।

प्रशंसा कमाए पनि कामेश्वरले अभिनयबाटै राजधानीमा टिक्ने हैसियत बनाएका छैनन्। अभिनयबाहेक जीविकोपार्जनका लागि पनि अरु केही काम गर्ने सोंच बनाइरहेका उनी भन्छन्, “तर, अभिनय भने कसै गरे पनि छाड्दिन।”

comments powered by Disqus

रमझम