२८ माघ - १ फागुन २०७२ | 7-13 February 2016

रहेनन् नृत्यका वसन्त

Share:
  

२०५६ सालमा चलचित्र सिमानाको मुहूर्तमा निर्देशक प्रकाश सायमी र अभिनेता शिव श्रेष्ठका साथमा नृत्य निर्देशक वसन्तजंग रायमाझी (बायाँ)।
समूहमा नाचिरहेकी युवतीको नाँच धेरैबेर नियालेपछि वसन्तजंग रायमाझीले भने, “ल, यो केटी हिरोइन हुन सक्छे!” नभन्दै सुनिता नामकी ती युवती मेलिना मानन्धरको अवतारमा प्रेयसी चलचित्रकी नायिका बनिन्।

आँखाको दोषका कारण भाग्यरेखा बाट निकालिएका राजेश हमाललाई नायक बनाउन पनि रायमाझीले चलचित्रकर्मी चेतन कार्कीसम्मको ढोका ढक्ढक्याए। अन्ततः युगदेखि युगसम्म मा हमाल नायक बनेरै छाडे। नाताले मामा पर्ने रायमाझी हरेकचोटी मुम्बईबाट फर्कंदा घरमा आउने गरेकै कारण आफूलाई अभिनेता बन्ने प्रेरणा मिलेको हमालले पंक्तिकारलाई सुनाएका थिए।

रायमाझी नेपाली चलचित्रमा नृत्यको सूत्र पहिल्याउने एक व्यक्तिमात्र होइन, संस्था थिए। नेपाली रजतपटको एउटा युग उनकै कोरियोग्राफीमा नाचेको थियो। माला सिन्हादेखि शर्मीला शाही, कृष्टि मैनाली, करिश्मा मानन्धर, जल शाह र झरना बज्राचार्यसम्मलाई पर्दामा सफल नर्तकी बनाउने श्रेय कलाकारभन्दा बढी रायमाझीलाई नै जान्छ। आजका चर्चित नृत्य निर्देशकहरु उनकै शिष्य हुन्।

निजी क्षेत्रबाट निर्मित पहिलो नेपाली चलचित्र माइतीघर मा काम गर्न बीएस थापासँग नेपाल आउनुअघि नै रायमाझी मास्टरजी नामले बलिउडमा चर्चा कमाउन थालिसकेका थिए। सन् १९५६ मा भारतीयविद्या भवनबाट नृत्यमा विशारद् हासिल गरेका रायमाझीले ऊबेलै शारजाँह, राजतिलक, कारवा जस्ता बलिउड चलचित्रमा नृत्य गरेका थिए। उनी केही चलचित्रमा सहायक नृत्य निर्देशकको भूमिकामा पनि देखिए। तर, नेपाली चलचित्रका खातिर उनी स्वदेश फर्र्र्किए।

स्व. वसन्तजंग रायमाझी।

(१६ असार १९९१ – २० माघ २०७२)

बीएस थापाको कान्छी, प्रकाश थापाको सन्तान पछि रायमाझीले सिनेमाको पोष्टरमै नृत्यनिर्देशक नाम राख्ने हैसियत बनाए। नृत्य निर्देशक पनि निर्देशकजत्तिकै जिम्मेवार हो भन्ने उनको तर्क सधैं रहन्थ्यो।

नृत्य निर्देशनकका रुपमा ग्रेस, ग्याग र थ्रील भित्र्याउने सूत्रधार पनि उनै हुन्। नृत्यको सुटिङ शुरु गर्दा बिटिङ र ब्रेक डाउनको शृंखलाको प्रथम प्रयोक्ताको श्रेय पनि उनैलाई जान्छ। कसम को वनमा फूल्यो फूल, कान्छी को कान्छी हे कान्छी होस् वा पृथ्वी को लौ न हजूर कसो गरांैजस्ता गीतको नृत्यमा सांस्कृतिक मनोविज्ञानको प्रभाव आजपर्यन्त सम्झिरहने देन पनि उनैको हो।

मैले निर्देशन गरेका पृथ्वी, सिमाना, अवतार, जमीन, रानीखोला, हतियार सबैमा रायमाझी नै नृत्य निर्देशक रहे। उनी अनुशासनमा कडा तर मृदृभाषी थिए।

पक्षघातका बिरामी रायमाझीले ८२ वर्षको उमेरमा २० माघमा हामीसँग विदा लिए। उनी छायांकनस्थलमा उभिंदा जुन उत्साह र जाँगर देख्न पाइन्थ्यो, त्यो उनीसँगै अन्तै गएको छ।

प्रकाश सायमी

comments powered by Disqus

रमझम