२८ माघ - १ फागुन २०७२ | 7-13 February 2016

फुटबलका बालगोपाल

Share:
  
प्रशिक्षक बालगोपाल महर्जन पर्याप्त 'कोचिङ एजुकेशन' भए नेपालमा विदेशी प्रशिक्षक नचाहिने बताउँछन्।

विक्रम राई
८ पुसमा श्रीलंकासँग १–० गोल अन्तरले पराजित भएपछि ११औं सुजुकी साफ च्याम्पियनसीपको समूह चरणबाट बाहिरिएको नेपालले २९ पुसमा बाङ्लादेशमा श्रीलंकामाथि ०–१ गोलको बदला लिंदा बंगबन्धु गोल्डकपको सेमिफाइनल यात्रा सुनिश्चित भयो। त्यो तीन हप्तामा टीम नेपालमा भएको सबभन्दा ठूलो हेरफेर थियो– प्रशिक्षक परिवर्तन। बेल्जियमका प्याटि्रक ओसेम्सले सम्हालेको मुख्य प्रशिक्षकको जिम्मेवारी बंगबन्धु कपमा सहायक प्रशिक्षक बालगोपाल महर्जनले पाएका थिए। महर्जन त्यो जिम्मेवारीमा आएलगत्तै दुई दशकबाट उपाधिविहीन नेपालले बंगबन्धु कप जित्यो, जीतविहीन १३ म्याचमा पूर्णविराम लगाएर।

महर्जनको ल्याकत

सन् १९९३ मा साफ च्याम्पियन बन्दा टीम नेपालको महत्वपूर्ण सदस्य रहेका महर्जन एकाएक राष्ट्रिय टीमको प्रशिक्षक नियुक्त भएर चर्चित बनेका होइनन्। सक्रिय खेल जीवनबाट सन्यास लिएको दुई वर्षपछि २००७ मा थ्रीस्टार क्लबबाट 'कोचिङ करिअर' थालेका उनले मनाङ मर्स्याङ्दीदेखि भारतको सेकेण्ड डिभिजन क्लब डेन्जोङ भ्वाईस क्लबसम्मको प्रशिक्षण अनुभव बटुलिसकेका छन्। उनले नै गत भदौमा यू–१९ नेपाली टीमलाई साफ च्याम्पियन बनाएका थिए, दक्षिण एशियाली फुटबल महारथि भारतलाई पराजित गरेर।

एशियाली फुटबल महासंघ (एएफसी)बाट बी क्लास कोचको लाइसेन्सप्राप्त महर्जन जर्मनी, कोरिया, मलेशियालगायतका देशमा प्रशिक्षणप्राप्त प्रशिक्षक हुन्। बंगबन्धु कप जित्ने क्रममा टीम नेपालले माल्दिभ्स (सेमिफाइनल) र बहराइन (फाइनल) लाई शानदार अन्तरले पाखा लगायो। नेपाली टीमका चारबाहेक सबै खेलाडी २३ वर्षभन्दा कम उमेरका छन्, जसमध्ये अधिकांशलाई महर्जनले यू–१४ देखि नै प्रशिक्षण दिंदैआएका छन् र टीमका सबै खेलाडीको कमजोर र बलियो पक्ष केलाउने ल्याकत पनि छ, उनीसँग। त्यो बुझेर सही भूमिका दिन सक्दा नै नेपालले नतिजा निकालेकोमा द्विविधा छैन। “त्यसअघि पनि हाम्रो प्रदर्शन खराब थिएन”, महर्जन भन्छन्, “तर, स्कोरिङको अभावमा पराजयमात्रै हात लाग्ने गरेको थियो।”

महर्जनले यसपटक गोलको खडेरी चिरेर नतिजा निकाले, टीम नेपालले समूह चरणदेखि फाइनलसम्ममा एक गोलमात्रै खाएर उपाधि हासिल गर्‍यो। यसमा गोलकिपिङ कोच उपेन्द्रमान सिंहको भूमिका पनि महत्वपूर्ण रहेको महर्जन बताउँछन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले १७ पुस २०६८ मा महर्जनलाई यू–१४ को जिम्मेवारी दिएपछि एएफसी यू–१४ फुटबल फेस्टिबलमा नेपालको प्रदर्शनमा 'हुने बिरुवाको चिल्लो पात' देखिएको थियो। त्यसपछि, एएफसी यू–१६ क्वालिफायरमा पनि टीम नेपालको प्रशिक्षणको जिम्मेवारी महर्जनले नै पाए अनि त्यही टोलीका सदस्य सम्मिलित टीम यू–१९ साफ च्याम्पियन बन्यो। बंगबन्धुको सफलता त्यसैको निरन्तरता थियो।

अनुशासनलाई प्रशिक्षणको मूल मन्त्र बनाएका महर्जन बंगबन्धुको सेमिफाइनलमा पुगेपछि आफूले थप दबाब महसूस गरेको बताउँछन्।

टीम नेपाललाई सशक्त बनाइराख्न ग्रासरुट फुटबलमा जोड दिने महर्जन खेलाडीलाई नियमित प्रशिक्षणसँगै पूर्वाधार विकास, घरेलु लिगको संरचनामा परिवर्तन र निरन्तर मोटिभेशनको योजना बनाउनुपर्ने बताउँछन्। “बलियो प्रतिद्वन्द्वीलाई पराजित गर्ने पहिलो रणनीति भने प्रशिक्षककै दिमागमा बन्नुपर्छ”, उनी भन्छन्। यसका लागि प्रशिक्षकलाई पनि नियमित तालीम र एक्स्पोजर आवश्यक पर्छ। “प्रशिक्षक आफैं निपूर्ण नभए खेलाडीलाई खरो बनाउन सक्तैन”, महर्जन भन्छन्, “नेपाली फुटबलमा कोचिङ एजुकेशनको पनि अभाव खट्किएको छ।”

सन्त गाहा मगर

comments powered by Disqus

रमझम