तीन वर्षअघि गुरागाईंले भोगेजस्तै अवस्थाबाट पटकपटक पार पाएका अर्का पण्डित हुन्, मेचीनगर– ६ का गुणराज खतिवडा (४५)। उनी पनि एचआईभी र एड्स रोकथाममा यौनकर्म र सिरिञ्ज प्रयोगका तरीकालाई कथा बनाएर वाचन गर्छन्। “कस्तो चरित्र खस्किएको पण्डित रहेछ भनी धेरैपटक अपमानित भएको छु”, उनी भन्छन्।
त्यसो त यी दुई पण्डितलाई पनि तीन वर्षअघिसम्म एचआइभी र सुरक्षित यौनका कुरा गर्नु र सुन्नु पनि 'पाप' झै लाग्थ्यो। उनीहरु एचआईभी संक्रमित व्यक्तिलाई अधर्मी र खराब ठान्थे। प्राचीन हिन्दू वेद र चण्डीका ऋचा घोकेका पण्डितद्वयको यस्तो धारणा तव बदलियो जव सामाजिक चेतना विकास समूहले एचआईभी संक्रमणबारे जानकारी दिन उनीहरुलाई दमक निम्ता गर्यो। धर्मगुरुलाई अगुवा बनाएमात्रै पुस्तौंदेखिको अन्धविश्वास हटाउन सकिन्छ भन्दै छलफलमा हिन्दू, बौद्ध, खि्रष्टियन र मुस्लिम समुदायका पुरोहित, लामा, पादरी र मौलानालाई कुरा बुझाइएको थियो।
उनीहरु आफूले जानेका कुरा बाँड्न पुराणको अन्तिम दिन कुर्छन्। “धेरै भक्तजन जम्मा हुने भएकाले पाती चढाउने समय उपयुक्त मानिन्छ”, मेचीनगर– ६ का गुरागाईं भन्छन्। पुराणको एचआईभी अध्यायमा पस्नुअघि उनी शरीरलाई मन्दिरको रुपमा व्याख्या गर्छन्। शरीरलाई शुद्ध र वशमा राख्न नसक्नेले प्रभूको एकचित्तले भक्ति गर्न सक्दैन भन्छन्। शरीरलाई वशमा राख्न काम, क्रोध, आशक्तिबाट अलग रहनुपर्ने र मनले कल्पियो भन्दैमा जथाभावी नगर्न सुझाउँछन्। “शुरुमा त संयमित बन्न भन्छु”, गुरागार्इं भन्छन्, “अन्यथा कण्डम प्रयोग गर्न सल्लाह दिन्छु।” खतिवडा धर्म र भगवान्को व्याख्यामात्र होइन, स्रोताको चरित्र सुधार्नु पुराणको ध्येय भएको बताउँछन्। भन्छन्, “एकैजनाको आचरण सुधि्रएछ भने पनि म पुराण फलिफाप भएको ठान्छु।”
गोपाल गडतौला, झापा