२-८ फागुन २०७२ | 14-20 February 2016

हिच्की माहात्म्य

Share:
  
- महेश थापा
यो पटक स्वस्थानीको सिजनमा हिच्की माहात्म्य सुन्नु/सुनाउनुपर्ने अवस्था आइलागेको छ।

भानु भट्टराई
स्वस्थानी कथालाई पाखा लगाएर हिच्की माहात्म्य ओकल्ने बेसुराको डँडाल्नोलाई लावण्य देशको हात्ती चढाएर सोझयाउनुपर्ने सुविचार कतिपय धर्मात्माको मनमा टुसाउने खतरा रहँदारहँदै पनि उपाय नास्ति भए'सि उटपट्याङ्ग चिजबिज पनि नसुमरी धर पाइन्न भन्ने सत्य स्मरण गराउँदै वाचनको अनुमति चाहन्छु।

फोक्सोबाट निःसृत वायु घाँटीमा घ्याच्च–घ्याच्च रोकिएर निस्किने सामान्य शारीरिक प्रक्रियालाई हामी बाडुली वा हिच्की भन्छौं। छुस्स आई विलाउने फगत एक हिक्काको माहात्म्य बन्ने कुरै भएन, तर टिउरे मच्छरले के जाति बनाउन सक्दाहुँदी निःसृत हुने हिच्कीले मुस्तन्डे मनुवालाई वालीको पुच्छरमा लट्किएको रावण माफिक बनाउन बेर लाग्दैन। उसो त, दृश्यभन्दा अदृश्य खोलाले बगाउनु, घोषितभन्दा अघोषित जिनिसले डुबाउनु नयाँ नेपालको नियति भएकाले हिच्कीलाई हियाउन पनि मिल्दैन।

तकरीबन पाँच महीनाबाट अघोषित रूपमा बन्द सीमानाकाहरू फ्याट्ट खुलेर मर्‍यो। फ्याट्ट यस अर्थमा कि घोषित रूपमा खुल्ने भाग्यधरि तिनको खप्परलाई नसीब भएन। 'नाका खोल्ने घोषणा भएको सुनिनस्, बेसोमति' भन्दै स्वयंलाई बोक्रे साबित गर्नु बुद्धिमानी होइन, किनकि नाकाबन्दीको घोषणा गर्न पुतपुताएका पुङमाङहरूले पुतली डान्स देखाएकै थिए। परन्तु, गोली अघिअघि र बाघ पछिपछि दगुर्दै गरेको उदेक देख्नुपर्‍यो। लगन घर्के'सि पोते बोकेर बेहुलीको आँगनमा ठिङ्गिएको बेहुलो माफिक फजिती व्यहोर्नु पर्दा प्यारमा धोका महसूस गरेका यारहरू यतिवेला थाप्लोमा हात राखेर गद्दार खोज्न लागेका देखिन्छन्। पौरखीहरूले चलाएको स्वावलम्बी देशमा ओठ–तालु सुकाएर बस्दाको दुष्करबीच जसरी भए पनि नाका खुल्नु राहतको बात हो। यसमा मन हुँडल्नुपर्ने कुनै दरकार नाइँ, तर नाकाबन्दी खुलेकोमा हर्कबढाइँ गर्न नभ्याउँदै भारतीय विदेशमन्त्री महोदयाले 'नेपाल–भारत सम्बन्धलाई एउटा हिच्कीले असर नपार्ने' बताइदिंदा सारा मजा किरकिरा भइगयो। हाम्ले त यसलाई ऋषिमनमा दुर्वासाको छायाँ पर्दा लागेको नाकाबन्दी भन्ठानी नसैबन्दी हुनलाग्दा पनि जेनतेन झ्ेलेका थियौं। हाम्रो घिग्घी बन्द गराउन खोजेको जब्बरे विपत् महामनाहरूको लागि फगत एउटा हिच्की भए'सि परेन आपत्!

हिक्काले हाम्रो खर्बौं बुत्यायो, इलम–उद्योगधन्दा सब चौपट पार्‍यो। ओखती नपाएर बिरामी चट् भए, विद्यालय जान नपाएर भुराभुरी छटपटाए। एउटा हिच्की यति विध्वंसक हुनसक्छ भने महामनाहरूलाई बाडुली लाग्देर हिक्क–हिक्क पार्दा आइलागेर मर्ने बबन्डरको आयतन कत्रो होला? सम्झ्ँदै सिरिङ्ग हुन्छ। त्यसमाथि, ढ्याउको खतरा छ। हामी जस्ता सुकेटाँटलाई भन्दा ढाडिएकाहरूलाई ढ्याउले सताउने चानस ज्यादा हुुन्छ नै। बडाहरूलाई चिसो लागेर हाच्छिउँ आएमा हामी अदनाको दोजात्रा हुने पनि देखलै छ। मुम्बई, कोलकाता र चेन्नईको तुलनामा दिल्लीमा ठण्डी ज्यादा हुने भएकाले महामनाहरू रुघाको चपेटामा पर्ने सम्भावना उसै पनि बढी छ। दिल्लीको हाच्छिउँले पुग/नपुग 'हरीकेन कट्रीना' हाराहारी रफ्तारको आद्रवाष्पबाट हिमवत् खण्डमा मच्चिन जाने ताण्डवको अनुमान मात्रले पनि आतेस लाउँछ।

जतिसुकै बलवान, धनवान भए'नि मान्छेलाई रोगव्याधीले टेर्दैन। बडाहरूलाई क्षयरोगले समात्दा वा लहरे खोकीले गाँज्दा आइलाग्ने सुनामीबीचबाट हाम्रो नैयाँ कसले पार लगाइदिने? बडाहरूसँगको न दोस्ती अच्छा न त दुश्मनी। भने'सि, बडाको संगत गरेर गुवापान चपाउने दिन गए भन्नुस्। दाँत तिखारेर मात्र क्यार्नू? बडाले पिच्च पार्दा छोटेहरूको लागि भवसागर बन्न बेर नलाग्ने सत्य मान्नुस्।

नाकाबन्दी हो वा होइन भन्ने लफडामा अल्मलिने लाउके र त्यसको कपीराइट हत्याउन तिघ्रा ठोकान् गर्ने ठेउकेहरूको मण्डली लास्टाँ फक्कड साबित भए। दुवैथरीको दन्तबजान फुस्सामा विलायो, किनकि सब कियाधरा रहेछ– एउटा हिच्कीको। र त, दिल्ली दरबारमा फेरी लाउनेदेखि लालु महाराजको घरबारमा झोली फैलाउनेसम्मको धपेडी बेसाउँदा पनि बबुवाहरूको हाताँ आलु सिवाय केही लागेन। सीमापारि सामीयाना खडा गरेर व्यञ्जन कोच्याएका मेजबानहरूले नै लास्टाँ मेहमानहरूलाई भाटो लाएर खदेडेको दुर्दान्त दृश्य हेर्नुपर्‍यो। लडबुङ्गो बनी पराइलाई माथवर बनाउन्जेल यस्ता हिच्कीले पिण्ड छाड्नेवाला छैन पनि।

घामटे हिच्कीले कहिले एक भाइको पिंडुला सुम्ल्याउने त कहिले अर्को भाइको गोलीगाँठो सोठ्याएर कुराउनी जति पोल्ट्याउँछ भन्ने आत्मज्ञान भित्रिया महाजनहरूमा पनि पलाओस्। हाम्रो आफ्नै ज्यान दह्रो नहोउन्जेल बडाहरूलाई रुघा, खोकी, टीबी, दम, दाद, खुजलीलगायत कुनै पनि प्रकारको लुतेरिया एवं एलर्जीले नभेटोस् भनी कामना गरौं, आगे प्रभूको मर्जी!

इतिश्री नेपाल–भारत सम्बन्ध पुराणे नाकाबन्दी खण्डे हिच्की माहात्म्य कथायां...!

comments powered by Disqus

रमझम