२-८ फागुन २०७२ | 14-20 February 2016

शिखरनाथभाष्य

Share:
  
- क.दी.
आजभन्दा ११५ वर्ष अगाडि प्रकाशित 'शिखरनाथभाष्य' लाई नेपाली विश्वकोश पो भन्नुपर्ने देखिन्छ! पहिलो संस्करणका १५४ पृष्ठमा खाँदीखाँदी छापिएका ७७० श्लोकमा ३०२ विषय भरिएका फेला पर्छन्।

'भाष्य' भनेको विशद् व्याख्या हो कुनै गहन वस्तुको। त्यस हिसाबले 'शिखरनाथभाष्य' भाष्य होइन। तर हाम्रो भाषाका लागि त्यो ग्रन्थ एउटा कोसेढुङ्गा नै सिद्ध भयो, र भैदियो एउटा अलग प्रकारको भाष्य नै!

हाम्रो साहित्यलेखनको प्रारम्भिककालमै लेखिएको त्यो ग्रन्थ एक सय वर्ष जति बाँच्यो र अत्यन्त लोकप्रिय पनि रह्यो, दर्जनौं संस्करण गराएर। शुरूमा, त्यसलाई प्रकाशित गर्ने चासो काशीका प्रकाशन घराना, होमनाथ केदारनाथ र विश्वराज हरिहर जस्ताले नदेखाएकाले १९५७ सालमा शिखरनाथ सुवेदीले आफ्नै खर्च लगाई छापेका थिए। शिखरनाथ त्यस वेलासम्म 'अज्ञातकुलशील' नै थिए, कसैले नचिनेका एउटा विद्यार्थी पुरोहित। पछि भने हाताहाती बिक्री हुने देखेर त्यस भाष्यका प्रकाशक धेरै भए, साँच्चैका र चोरीका समेत।

काठमाण्डू मच्छेगाउँमा जन्मेका एक जना ब्राह्मण बटुक कुनै धनाढ्यकहाँ काम गर्दैगर्दै काशी पुगेका थिए, १० वर्षको उमेरमा। उनको उद्देश्य विद्याध्ययन थियो। उनले त्यहाँ के कति पढे थाहा छैन तर, मध्यमासम्म छिचोलेकै हुनुपर्छ। त्यसपछि भने काशीवास गर्न आएका शिरोमणि आचार्यका सम्पर्कमा आए उनी। शिरोमणि रामकटोरामा ठूल्ठूला धार्मिक कार्यहरू गर्ने तयारीमा थिए। शिखरनाथ तिनमा संलग्न हुँदै गए, परिवार जस्तै भए। शिरोमणिकी ब्राह्मणीले त उनलाई एउटा 'कन्यादान' पनि गरिदिएकी थिइन्। शिरोमणिका छोराहरू धीर–सन्ततिका आश्रित थिए। त्यसै नाताले शिखरनाथले पनि वीरशमशेर महाराजलाई रिझाउन उनको प्रशस्तिमा ६० श्लोकको एउटा खण्डकाव्य लेखी प्रकाशित गरे– 'वीरषष्ठिका' भन्ने १९५५ सालमा। त्यसको दुई वर्षपछि उनको यो 'भाष्य' निस्केको हो।

'शिखरनाथभाष्य' लाई भाष्य होइन भनिएको थियो माथि शुरूमै। उसो भए के हो त यो– भन्ने प्रश्न उठ्न सक्छ। त्यस पुस्तकलाई कुनै एउटा विधामा जोडेर न्वारान गर्न सकिंदैन, यति धेरै विषय समेटिएका थिए त्यसभित्र। र त्यहाँ जे जे हुन्थे सबै कामलाग्ने कुराहरू हुन्थे। किन भने समय समयमा फेरिने कुराहरू सबैको हेक्का राखी फेरिन्थे ती अंग्रेजी 'याल्मन्याक' मा जस्तै पछिका संस्करणहरूमा। आजभन्दा ११५ वर्षअगाडि १९५७ मा यो प्रकाशित भएको हो भन्ने हेक्का राख्दा त हामीले 'शिखरनाथभाष्य' लाई नेपाली विश्वकोश पो भन्नुपर्ने देखिन्छ! यही अन्योल परेर होला मदन पुरस्कार पुस्तकालयले त्यसलाई आफ्नो सूचीमा 'सामान्यज्ञान' अन्तर्गत दर्ता गरेको छ। हुन पनि, त्यस किताबको त्यो पहिलो संस्करणका १५४ पृष्ठमा खाँदीखाँदी छापिएका ७७० श्लोकमा ३०२ विषय भरिएका फेला पर्छन्। त्यहाँभित्रका 'प्रस्थान काण्ड', 'रेलकाण्ड', 'कर्मकाण्ड', 'श्राद्धकाण्ड' (गया), 'औषधिकाण्ड', 'ज्ञानकाण्ड' र 'वंशावलीकाण्ड' मात्र होइन ती काण्डभित्रका उपशीर्षकहरू पढ्दा पनि उदेक मान्नुपर्छ। कति कुरा समेटेका यी कविजीले! भनेर।

यात्रामा प्रस्थान गर्दा साइत हेर्नेदेखि साथमा लैजानुपर्ने सामानको फिरिस्त पनि छन् त्यहाँ। 'रेलकाण्ड' मा पुग्दा रेल चढ्दा गर्नुपर्ने यावत् कर्म, टिकट काट्नेदेखि रेलको भाडा समेत विस्तारसाथ बताइएको छ। रेल, टेसन, कुल्ली, इन्जन, गाडी, रिजाप, डाक, मेल, प्यासिन्जर इत्यादि सबैलाई 'यो भनेको के?' भन्दै अर्थ्याइएको छ। पढेलेखेका शहरियालाई समेत काम लाग्ने त्यसले भर्खर पहाडबाट झ्रेका सोझासाझालाई कति मद्दत गरेको हुँदो हो। रक्सौलबाट भारतका विभिन्न शहरहरूमा पुग्न कहाँबाट कसरी जाने भन्ने यसरी बताउँथ्यो त्यो भाष्यले–

“रक्सोल् राम्रुगढवा सुगौलि सिमरा फेर् मोतिहारी भयो...

औंडिहार् बलिया... भईकन त फेर् काशी अनी छाउनी।।”

यात्राकाण्डमा गया, काशी, विन्ध्याचल, प्रयाग, मथुराका 'ताडिप' पढ्न पाइन्छ। गयाको प्रसङ्गमा पण्डाका कर्तुतदेखि ढुङ्गाका भाँडाबर्तन अर्थात् 'पत्थरी' खरीद गर्नेसम्मका काइदा बताएका छन् कविजीले। कवि शिखरनाथको यो किताब सर्वसाधारण नेपालीलाई किन मनपरुर्‍यो भन्ने बुझन गयाश्राद्ध प्रकरणका यी केही श्लोक पढूँ–

“नेपाली पइसा चढाउन हुने मोहोर् गयाजी महाँ....

'पाँच्रुप्प्याँ गउदान गर्नु पहिले हज्जुर् सबै गर्दछन्

कम् गर्नू फल हुन्न' भन्दछ उ ता, भन्नू 'रुपीयाँ नहीं

चाराना पनि राख्न सक्दिन म ता' 'ऐसा नबोल्ना कहीं'

'अच्छा दो रुपियाँ धरो' 'नहि हए', 'एकै रुपीयाँ करो'

'नै हे जी' 'तब आठना' 'नहि नही' 'चौअन्नि अच्छा धरो'।”

कविजीले 'औषधिकाण्ड' को सूचीको शुरूमै 'औषधिकाण्डमा यति थोक् छ नजर् होस् अद्वितीय' भनेर केही 'चूर्ण' हरूको नाम दिंदै पछि 'पखालाको औषधि', 'हैजाको औषधि' देखि क्षयरोग, अतिसार र 'भिरुङ्गीको ओखती' सम्म बताउन भ्याएका छन्। केही ओखती भने रमाइलो पाराका पनि छन्। जस्तै यो–

“हे प्यारी के भनुँ म खै भन हे प्रभू जो, पेट्मा त दर्द भयको कुन औषधि हो? सुन्रुकाग्तिका रसमहाँ अदुवा मिलाई, फेरी सिधेनुन मिसी लिइ चट्ट खाई...”

अचम्म लाग्छ शिखरनाथलाई त्यस बखत यस्तो किताब तयार पार्ने बुद्धि कसरी आयो? नेपाली रैतीको त्यो आवश्यकता उनले कसरी बुझे? नेपाली समाजको मानसिकताको भेउ कसरी पाए उनले काशीमा बस्दाबस्दै कुन्नि! तर, 'शिखरनाथभाष्य' ले उनलाई नाम र दाम दुवै दिलायो। अनि त उनले अरू पुस्तकहरू पनि भटाभट लेख्दै र छाप्दै गर्न थाले। कर्मकाण्ड र पुराण मात्र होइन, 'शृङ्गार दर्पण' जस्ता नेपाली किशोरकिशोरीलाई तान्ने पुस्तक अनि 'रामाश्वमेध राजा' र 'कर्णपर्व' जस्ता पौराणिक काव्यहरू पनि लेखी प्रकाशित गरेका छन् उनले। ती समेत चले र खूब बिके पनि!

शिखरनाथ सुवेदीलाई सम्झाउने पुस्तक भने त्यही हो– उनको 'शिखरनाथभाष्य', नेपाली पुस्तक–सम्पदाको एउटा बिर्सिन नसक्ने कृति।

comments powered by Disqus

रमझम