२-८ फागुन २०७२ | 14-20 February 2016

बौरिंदै बारपाक

Share:
  
- मिलन बगाले
विपत्बाट बौरिएको बारपाकमा स्थानीय निर्माण शैली छाडेर मुण्डा घर उमार्ने होड रोक्नुपर्छ।

मिलन बगाले
७ हजार ७२६ जनसंख्या भएको उत्तरी गोरखाको ग्रामीण पर्यटन केन्द्र बारपाकमा १२ वैशाखको भुईंचालोले १ हजार ३८१ घर ध्वस्त बनायो, ९६ घर आंशिक क्षतिग्रस्त छन्। त्योभन्दा पनि अपूरणीय क्षति– ७२ को निधन र ११५ जना घाइते भए। त्यसको आठ महीनापछि त्यहाँ पुगेर पाँच दिन बस्दा बारपाक विपत्बाट बौरिंदै गएको अनुभूति भयो। ठूलो विपत्बाट बौरिने स्थानीय पहललाई राष्ट्रिय―अन्तर्राष्ट्रिय चासो–चिन्तनको साथ भए बारपाक बलियो भएर उठ्नेमा शंका छैन।

खोइ सरकार?

भूकम्पअघि बारपाक माहुरीको गोलो जस्तै थियो, पश्चिम र पूर्वतिर फर्केको घमाइलो पाटोमा झुरुप्प बसेको। मोटर आइपुगेको गाउँमा ढुंगाको गारो, स्लेटको छानो, चिटिक्कको पिंढीमा गोब्रे सल्लाका थामको लस्कर, काइदाको बुट्टा कुँदिएका झयाल–ढोका, सफा आँगन, ढुंगा छापेर सिलित्त बनाइएका स–साना बाटा। ठाउँ–ठाउँमा सार्वजनिक धारा र स्थानीयस्तरमै उत्पादित बिजुलीले झ्लमल्ल गाउँ। मिहिनेती र इमानदार गाउँले। २१ घरमा होमस्टे, देश–विदेशका घुमन्ते र अध्येताहरूको आउजाउ। के थिएन बारपाकमा?

तर, अचानक भुईंचालोले केन्द्रबिन्दु नै बनाउँदा प्रलय भयो, बारपाकमा। पूरा देशलाई हल्लाएर हायलकायल पारेको विपत्मा बारपाकवासी भग्नावशेषमा पुरिएका आफन्त खोज्न नसकेर प्रकृतिसामु निरीह बने। के मात्रै भोगेनन् बारपाकवासीले? तर, अहिले बारपाकमा विपत्का डोब विस्तारै मेटिंदैछन्। भुईंचालोको वेला धराप सावित भएका साँघुरा बाटाहरूलाई बारपाकवासीले ११ फीट चौडा बनाएका छन्। अब नयाँ घर बनाउँदा निर्माण सामग्री घरघर पुर्‍याउन पनि सजिलो भएको छ।

अलि महीना पालमुनि काटेका गाउँले यतिवेला अन्तरिम आवासको जोहोमा छन्। कतिले भत्केको घरको काठपात र ढुंगा प्रयोग गरेर सहज खालको आवास बनाएका छन्। जस्तापाताको भित्तामा भित्रपट्टि काठका फलेक हालिएका छन्। वडा नं ९ का शेरबहादुर घलेले पूरै बारपाक सरकारी इन्जिनियर, निर्माणकर्मी र भूकम्प सुरक्षात्मक डिजाइनको प्रतीक्षामा रहेको बताए। सरकारले वेलैमा त्यस्तो पहल गरिदिए होमस्टे चलाउन पनि सजिलो हुने उनको भनाइ छ।

भुईंचालोमा अलिकति धस्सिएको गाउँमाथिको ढिस्कोबाट पहरो र्झ्न थालेपछि वडा नं ५ र ६ का ५३ परिवार शिल्पी समुदाय वडा नं ४ स्थित कृषि, भेटेरिनरी र जलाधार परियोजनाको जग्गामा अस्थायी आवास बनाएर बसेका छन्। सरकारले उनीहरूलाई पालुङटारमा सार्न चाहेको बुझाइ टोलमा छ, तर ६० वर्षीया पुर्नी सुनारले आफूहरू गाउँ छोडेर अन्यत्र नजाने बताइन्। अहिलेलाई राहत र ओत दुवै पाएका उनीहरूको स्थायी बासको मेसो कसरी हुन्छ, पत्तो छैन।

निर्माण समस्या

अवस्था आशलाग्दो देखिए पनि बारपाकको बाक्लो बस्तीमा समस्याका चाङ पनि उस्तै छन्। केही परिवार अझै पालमा छन्। मध्य हिउँदमा परेको हिउँले उनीहरूको कष्ट बढाएको छ। हेलिकप्टरबाट बारपाक उत्रिएका प्रधानमन्त्रीले दिएको पुनःनिर्माणको आश्वासन अहिलेसम्म 'गफ' मै सीमित छ। प्रहरी चौकी र हेल्थपोष्टले भने राज्यको उपस्थिति जनाइरहेकै छन्। पावरहाउस भत्केकोले बारपाक अँध्यारोमा छ। बौरिन बल गरिरहेको बारपाकले सरकारबाट दरिलो आडभरोसा पाएको छैन।

ठूलो घडेरी हुनेले पुरानो जग खाली राखेर अस्थायी आवास बनाए पनि सानो घडेरी भएकाले अहिल्यै स्थायी आवास बनाउँदैछन्। उनीहरूका नयाँ घरमा पुरानै गल्ती दोहोरिएका छन्। बारपाकमा धेरैथोक राहत सामग्री पुगे पनि भूकम्पप्रतिरोधी घर बनाउन सिकाइदिनेहरू नपुगेकै भान हुन्छ। १२ वैशाखपछि देशका धेरै गाउँठाउँमा स्थानीय निर्माणकर्मीलाई भूकम्प सुरक्षात्मक उपाय अपनाएर घर बनाउने तालीम दिइएको छ। पुस्तक–पम्प्लेट पुगेका छन्। तर, बारपाकमा यस्तो ज्ञान नपुगेको देखियो।

ढुंगामाटाका घर अधिकांश भत्केको र ढलान घर जोगिएको देखेपछि बारपाक ढलानको रहर गरिरहेछ। तर, ढलान घर बनाउने ढंग मिलेको छैन र इन्जिनियरिङ डिजाइनविनाको ढलान घरको कुनै भर हुँदैन पनि। धमाधम ढलान घर बन्दा डण्डी राख्ने, बाँध्ने, खप्ट्याउने तरीका, मसला र डण्डीको मोटाइ मिल्ने देखिएन। कतिपयले पिलर हालेर सुक्खा मसलाको गारो र फलेकको तला बनाइरहेछन्। बडो अनौठा घर बनिरहेछन्।

बारपाकको पुनःनिर्माणमा सरकार र निर्माणसम्बन्धी गैरसरकारी संस्थाको हातेमालो जरूरी छ। ग्रामीण पर्यटनमा नामी बारपाकमा ढलानका मुण्डा घर उमार्नुभन्दा स्थानीय वास्तुकलाका सुरक्षित र वातावरण सुहाउँदो निर्माण संस्कृतिको जग बलियो बनाउनुपर्छ। बलियो बारपाक बनाउन हातेमालो गर्नेको जय होस्!

comments powered by Disqus

रमझम