सानुको साहस

Share:
  
साहसिक खेल प्याराग्लाइडिङ र कायकिङका कीर्तिमानी सानुको संघर्ष र सफलता लोभलाग्दो छ।

सानो छँदा चरा झै उड्ने लालसाले छाता समातेर बारीको डिलबाट हाम्फाल्दा उनको हातखुट्टामा नराम्रोसँग चोट लाग्यो, छाता भाँचियो, अभिभावकको गाली समेत खानुपर्‍यो। अर्को दिन सिनो खाइरहेको गिद्धको खुट्टा समातेर उड्न खोजे, गिद्ध फ्याट्ट उड्यो, उनी तीनकान्ला तल पुगे। यस्ता बद्मासी उनले कति गरे कति। चरा झै उड्ने रहर पूरा गर्न अनेक उट्पट्याङ गरिरहने सानुबाबु सुनुवार (२९) ले आज त्यो रहर मात्रै पूरा गरेका छैनन्, आकाशमा चरा झै उड्ने प्याराग्लाइडिङमा विश्व कीर्तिमान नै बनाएका छन्।

गएको २४ माघमा उनले अफ्रिकी मुलुक तान्जिनियाको सबैभन्दा अग्लो हिमाल किलिमञ्जरो (५८९५ मिटर) बाट प्याराग्लाइडिङ गर्ने कीर्तिमान बनाए। किलिमञ्जरोबाट एक विदेशीसहित उडेका उनी एक घण्टा ४५ मिनेटमा समुद्र सतहदेखि ४०० मिटर उचाइको मोसीमा अवतरण गरेका थिए। त्यहाँको सरकारले पहिलो पटक उक्त चुचुरोबाट उडान गर्न अनुमति दिएको थियो, जसमा सयौं विदेशी पाइलटलाई पछि पार्दै उनले कीर्तिमान बनाए।

सानुबाबुको नाममा विश्वको सर्वोच्च शिखर सगरमाथाको शिरबाट उडेर समुद्र सतह (समिट टु सी) मा पुगेको कीर्तिमान समेत छ। सगरमाथाबाट उडेको ३३ घण्टापछि मे २०११ मा उनी भारतको कपिलमणि धाममा ओर्लेका थिए, जुन कीर्तिमानकै कारण उनलाई नेशनल जोग्राफी टेलिभिजनले 'एड्भेञ्चर अफ दी इयर २०१२' बाट सम्मान गर्‍यो। तर, सगरमाथाभन्दा किलिमञ्जरोको उडान चुनौतीपूर्ण थियो, हावाको गति र जोखिम दुवै बढी भएकाले। पोखरास्थित प्याराग्लाइडिङ कम्पनी ब्लुस्काईमा आवद्ध सानुबाबु विश्वकै साहसिक मानिने 'रेडबुल एक्स आल्पस्'को सन् २०१३ को स्पर्धाका निम्ति छनोट भइसकेका छन्।

सानुबाबुले आफ्नो जादू आकाशमा मात्रै हैन, अप्ठ्यारा गल्छी, खोल्सा र नदीमा कायकिङ गरेर पनि देखाइसकेका छन्। जमिन भित्रभित्रै बगेको पोखराको सेती नदीको केआईसिंह पुलदेखि रामघाटसम्म कायकिङ गर्ने उनी एक्लो व्यक्ति हुन्। सन् २००४ मा गुमनाम सेती हेर्दै दुई घण्टामा रामघाट पुगेका सानुबाबु भन्छ्न्, “त्यस्तो अनुभव त शायदै हुन्छ।”

संघर्षपछिको सफलता

रामपुर, रामेछापमा जन्मेका सानुबाबुले सुनकोशीमा पर्यटकले र्‍याफि्टङ गरेको देखेका थिए। सुनकोशी किनारमै हुर्केका उनी २०५५ सालमा एसएलसी दिएपछि बाबुले पिकनिक जान दिएको रु.५०० लिएर काठमाडौं भागे। त्यसबेला उनको उमेर १५ वर्ष मात्र थियो। काठमाडौंबाट पनि भागेर उनी पोखरा पुगे। खल्तीमा रु.२० मात्र बाँकी रहँदा रात्रिबस चढेका सानुबाबु बोल्न नसक्ने नाटक गरेर पोखरा पुगेका थिए। पोखराबारे उनलाई 'गोराहरू आउने ठाउँ' भन्नेबाहेक केही थाहा थिएन। पोखराको पहिलो रात लेकसाइडमा पाटीमै सुतेर काट्नुपर्‍यो। संयोगवश, पाटीमा सँगै सुतेका एक अपरिचित मजदूरले टे्रकिङ जाने काम खोजिदिए।

दुई महीना ट्रेकिङमा हिंडेपछि उनले र्‍याफि्टङ कम्पनीमा काम गर्न शुरु गरे। त्यसको १५ दिनमै कायक चलाउन सिके। त्यहीबेला जुनियर कायक प्रतिस्पर्धा भयो र उनी च्याम्पियन बने। सन् २००३ को सेती रिभर कायकिङ प्रतियोगिता पनि जिते। त्यही वर्ष उनले नेपालमा कसैले नसकेका ३२ खोला र छाँगामा कायकिङ गरे।

सन् २००५ मा स्वीट्जरल्याण्डका पाइलट डेबिडसँगको भेटपछि प्याराग्लाइडिङसँग उनको नाता जोडिएको हो। डेबिडले उनलाई शुरुमा प्याराग्लाइडिङमा उडाएका थिए। त्यसपछि उड्न सिकाए। सन् २००८ मा सुनुवारलाई अमेरिकाको युनाइटेड स्टेट प्याराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ एसोसिएसनबाट नेपाली प्याराग्लाइडिङ पाइलटको अनुमतिपत्र दियो। प्याराग्लाइडिङबाट कास्कीको सिक्लेस, लमजुङ, काठमाडौं र मेचीदेखि महाकालीसम्मको यात्रा गरेका उनी संविधानसभा निर्वाचनमा मत खसाल्न पनि काठमाडौंको फुल्चोकीबाट प्याराग्लाइडिङमै रामेछाप पुगेको सुनाउँछन्।

माधव वराल, पोखरा

comments powered by Disqus

रमझम