२-८ फागुन २०७२ | 14-20 February 2016

अस्पतालबाट जेल

Share:
  
- रामु सापकोटा
नियामक निकाय निकम्मा हुँदा चिकित्सा क्षेत्रमा 'क्वाक' को बिगबिगी बढेको छ।

भानु भट्टराई
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २३ र २४ माघमा नक्कली शैक्षिक प्रमाणपत्रधारी १३ जना डाक्टरलाई सार्वजनिक गर्‍यो। नेपाल मेडिकल काउन्सिलले १२ मंसीरमा काठमाडौंको सानोभर्‍याङस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा झापाका सुशीलकुमार मण्डलले सिरहाका नवीनकुमार यादव र कञ्चनपुरका निरज शर्माले रौतहटका सरोज साहको नाममा परीक्षा दिएको फेला परेपछि काउन्सिल, सीआईबी र उच्च माध्यमिक शिक्षा परिषद्ले थालेको अनुसन्धानको परिणाम थियो, यो।

सीआईबी, काउन्सिल र परिषद्का पाँच सदस्यीय अनुसन्धान टोलीले १४ माघमा प्रतिवेदनसँगै १२ जना नक्कली डाक्टर (क्वाक) बुझाएकोमा काउन्सिलले ठगी मुद्दा चलाउन भन्दै २४ माघमा सीआईबीलाई जिम्मा दिएको थियो। सीआईबीका प्रहरी उपरीक्षक दिवेश लोहनीका अनुसार, २४ माघमा जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको उनीहरूमाथि अनुसन्धानका लागि १० दिन म्याद थप भएको छ। उनीहरू सबैले एसएलसी र प्लस टुका नक्कली प्रमाणपत्र बनाई एमबीबीएस अध्ययन गरेका थिए। (हे.तस्वीर)
काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारी यो घटनाले चिकित्सा क्षेत्रमा नक्कली प्रमाणपत्रधारीहरू थुप्रै छन् भन्ने देखाएको बताउँछन्। तर, नक्कली प्रमाणपत्र देखाएर त्यही काउन्सिलबाट नौ जनाले बिरामी जाँच्ने लाइसेन्स लिएका थिए। तीन जना चाहिं काउन्सिल जाँचमा अनुत्तीर्ण भए। “नक्कली शैक्षिक प्रमाणपत्रधारीले बिरामी जाँच्नु डरलाग्दो हो”, उच्च माध्यमिक शिक्षा परिषद् (उमाशिप) का सदस्य सचिव नारायणप्रसाद कोइराला भन्छन्, “यो अनुसन्धानले नेपालका अस्पतालहरूमा 'ज्यानमारा डाक्टर' को समूह नै रहेको संकेत गरेको छ।”

फर्जी गर्ने काइदा

'क्वाक' हरू फेल वा कम नम्बर भएको विषयमा नम्बर थपेर वा पूरै शैक्षिक प्रमाणपत्र फर्जी गरेर एमबीबीएस अध्ययन गरी 'मेडिकल प्राक्टिस' का लागि काउन्सिलमा दर्ता भएका थिए। २३ र २४ माघमा पक्राउ परेकामध्ये झ्ापाको बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका सञ्चालक रामबाबु गिरीसहित चार जनाले बिहार इन्टरमिडिएट बोर्डमा प्लस टु परीक्षा दिएको कुनै अभिलेख छैन भने मोहम्मद कमरुल हकसहित चार जनाले अरूको शैक्षिक प्रमाणपत्र प्रयोग गरेको पाइएको छ।

उच्च माध्यमिक शिक्षा परिषद्मा कुनै शैक्षिक प्रमाणपत्रको अभिलेख नभएका हकले मुकेशकुमारको प्रमाणपत्र प्रयोग गरेका थिए। हकको प्लस टुको सक्कली प्रमाणपत्रमा उनी नेपाली विषयको दोस्रो जाँचमा २५ नम्बर ल्याई फेल भएका छन्। एमबीबीएस पढ्न र काउन्सिलबाट दर्ता नम्बर लिन चाहिं उनले सबै विषयमा उच्च अंक भएको प्रमाणपत्र पेश गरे। पक्राउ परेकामध्ये कल्याण विश्वासको पनि प्लस टुको सक्कली प्रमाणपत्रमा ६५ नम्बर ल्याए पास हुने फिजिक्स विषयको पहिलो जाँचमा १ र दोस्रोमा २३ गरी कुल २४ नम्बर पाएर फेल भएका छन्। प्रथम श्रेणीमा प्लस टु गरेको फर्जी प्रमाणपत्र बनाएर चीनमा एमबीबीएस अध्ययन गरेका उनी जनकपुरमा 'प्राक्टिस' गरिरहेका थिए। काउन्सिलको परीक्षामा भने उनी १६ पटक अनुत्तीर्ण भएका थिए।

इटहरीको पशुपति मोडल अस्पतालमा 'प्राक्टिस' गरिरहेका पशुपति चौधरीले त प्लस टुको प्रमाणपत्र नै रु.८ लाखमा किनेको बयान प्रहरीलाई दिएका छन्। अनुसन्धान टोलीमा रहेका प्रहरी उपरीक्षक (एसपी) दिवेश लोहनीका अनुसार, आठ कक्षा पास गरेका चौधरीले त्यसभन्दामाथि एमबीबीएससम्मकै नक्कली प्रमाणपत्र बनाएको पाइएको छ। उनीलगायत सबै 'डाक्टर' का आफन्तजन फर्जी कागज मिलाउन सम्बन्धित बोर्ड र विश्वविद्यालय धाउन थालेको तर, त्यसो गरेको पाइए ठगी अन्तर्गत थप कारबाही हुने एसपी लोहनीले बताए। पक्राउ परेका 'डाक्टर' हरूबाट उपचार गराउँदा समस्यामा परेका कोही भए जानकारी उपलब्ध गराउन सीबीआईले आग्रह गरेको छ।

निकम्मा काउन्सिल

नेपाल मेडिकल काउन्सिलले आफूकहाँ पेश हुने शैक्षिक प्रमाणपत्रहरूको 'भेरिफिकेसन' नगरी रजिष्टारमार्फत लाइसेन्स दिने गरेको थियो। काउन्सिलले अहिले पक्राउ परेका १३ जनामध्ये रामबाबु गिरीलाई २५ जेठ २०६३, मोहम्मद कमरुल हकलाई २ असोज २०६९, तुलसीकुमार महतोलाई २८ भदौ २०६८, सन्तोषकुमार यादवलाई ६ भदौ २०७२, विनिता यादवलाई १५ वैशाख २०६९, भगवान केवट मल्लाहलाई २२ भदौ २०६८, शैलेन्द्रकुमार महतोलाई २२ असोज २०७०, श्यामबाबु साहलाई ८ वैशाख २०७० र राजेन्द्रप्रसाद दासलाई २ मंसीर २०७१ मा अस्थायी लाइसेन्स दिएको थियो। यीमध्ये गिरी, हक, महतो, साह र यादवले नेपाल मेडिकल काउन्सिल ऐन २०२० अनुसार स्थायी दर्ता प्रमाणपत्र लिइसकेका थिए।

काउन्सिलको अवस्था चाहिं कस्तो छ भने, १२ मंसीरको लाइसेन्स जाँचमा बसेका नक्कली परीक्षार्थी सुशीलकुमार मण्डल र निरज शर्मामाथि कस्तो कारबाही चलाउने भन्ने निर्णय समेत गर्न सकेको छैन। काउन्सिल रजिष्टार डा. दिलीप शर्मा यस विषयमा अदालतको निर्णय पर्खेको बताउँछन्, तर काठमाडौं जिल्ला अदालतले मण्डल र निरज शर्मालाई ९ पुसमै साधारण तारेखमा रिहा गरिसकेको छ।

काउन्सिलको निकम्मापन कस्तो छ भने, दिवंगत डा. सन्दिपमेहर श्रेष्ठको दर्ता नम्बर चोरेका बुटवलका 'डाक्टर' अमिन्द्र मल्ल, पोखराको मणिपाल अस्पतालका बालरोग विशेषज्ञ डा. लक्ष्मी के.सी.को दर्ता नम्बर चोरेर काठमाडौंको ग्राण्डी अस्पतालमा बिरामी जाँच्ने विजयश्याम रञ्जित र पटनाको आयुर्वेदिक मेडिकल कलेजबाट तीनवर्षे रुरल मेडिकल प्राक्टिसनर (आरएमपी) कोर्ष गरेको हस्तलिखित प्रमाणपत्र बनाई बझाङको चैनपुरमा 'प्राक्टिस' गरिरहेका कोलकाताका मनितोषबारे काउन्सिल अझै मौन छ। मनितोषले उपचार गर्दा नेपालगन्जका मेहदी हसन सलमानीको ज्यान गएको थियो। उनीहरूको अवैध 'प्राक्टिस' बारे हिमाल मा रिपोर्ट आएपछि (हे. 'क्वाक' लाई स्वर्ग, ३–९ फागुन २०७१) नेपाल चिकित्सक संघ र जिल्ला प्रशासन कार्यालय काठमाडौंले आवश्यक कारबाहीबारे त्यतिवेलै पत्राचार गरेकोमा काउन्सिलले जवाफै दिएन।

काउन्सिलले झ्ापाको चारआलीस्थित मनकामना अस्पतालका 'डाक्टर' दिलीपकुमार यादवमाथि भने मुद्दा चलाउने निर्णय गर्दै २८ माघमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र पठाएको छ। यादवले आधुनिक औषधि सम्बन्धी चिकित्सकीय काम गर्ने डिग्री, डिप्लोमा, सर्र्टिफिकेट, लाइसेन्स वा उपाधि नलिई त्यस्तो काम गरेको काउन्सिलको ठहर छ। काउन्सिलको परीक्षामा दुई पटक अनुत्तीर्ण भएका यादवले १९ जेठ २०७१ मा झ्ापाको बुधबारे–९ की कविता लुहागन (१७) लाई मनकामना अस्पतालमा सुत्केरी गराउँदा शिशुको मृत्यु भएको थियो।

comments powered by Disqus

रमझम