२-८ फागुन २०७२ | 14-20 February 2016

समय–रेखामा सुशील

Share:
  

२०२७ सालमा बीपी कोइराला र गणेशमान सिंहलाई भेट्न दाङबाट बलदेव शर्मा मजगैयाँ, खुमबहादुर खड्कालगायतका साथीहरू भारतको बनारस पुगे। मजगैयाँलाई राम्रोसँग याद छ, नेताद्वयसँगको छलफलमा कुनामा बसेर एक युवाले टिपोट गरिरहेका थिए। फर्कने वेला गेटसम्म आएपछि भने उनको ती युवासँग चिनापर्ची भयो। उनी थिए– सुशील कोइराला। २०३३ सालमा फेरि बनारस गएका मजगैयाँले कोइरालाकै नेतृत्वमा चक्रप्रसाद बाँस्तोला, वीरेन्द्र दाहाललगायतसँग मिलेर कांग्रेसका विचार–साहित्य प्रकाशनमा काम गरे। “त्यहींबाट सुशील कोइरालाको सरलपनले म प्रभावित भएँ”, मजगैयाँ भन्छन्।

नेपाल फर्किएपछि कोइराला जनमत संग्रह (२०३६), सत्याग्रह (२०४२) र जनआन्दोलन (२०४६) मा सहभागी भए। प्रजातन्त्र पुनर्स्थापनापश्चात् २०४८ को निर्वाचनमा बाँके–२ (हाल क्षेत्र नं. ३) बाट सांसद् बनेपछि पनि कोइराला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै सहयोगी बने। उनी भन्छन्, “बालुवाटार पसेपछि कोही चोखो निस्कँदैन भन्ने लाग्थ्यो तर सुशील दाइको निष्ठामा कुनै आँच आएन।”

२०४७ मै नेपाली कांग्रेसको केन्द्रीय सदस्य र अन्तर्राष्ट्रिय विभाग प्रमुख भइसकेका कोइरालाले पार्टीमै काम गर्ने भन्दै २०४८ सालमा गिरिजाप्रसादको मन्त्री बन्न मानेनन्। त्यसपछि कांग्रेसको महामन्त्री, कार्यवाहक सभापतिहुँदै सभापति र प्रधानमन्त्रीसम्म बनेका कोइरालाले कहिल्यै पनि कांग्रेसको दर्शन र सिद्धान्तको व्याख्या गरेनन्। तर, कांग्रेस नेता मनमोहन भट्टराईका शब्दमा उनी सधैं व्यावहारिक रूपमा 'सोसल डेमोक्र्याट' रहिरहे।

हठ नभएका नेता १२ वैशाखको महाभूकम्प अघिसम्म तेस्रो ठूलो दल एनेकपा (माओवादी) सँग मात्र होइन, सरकारमै रहेको नेकपा (एमाले) सँग पनि कांग्रेसको ध्रुवीकरण बढिरहेको थियो। महाभूकम्पपछि संविधान जारी गर्न कांग्रेस, एमाले, एमाओवादी र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) ले सुझ्बुझ् देखाए। ३ असोजमा संविधान जारी हुनु यसैको उत्कर्ष थियो। जसको सबैभन्दा बढी जश प्रधानमन्त्रीका रूपमा सुशील कोइरालालाई नै जान्छ।
दलहरूलाई सहमतिमा ल्याउन अद्भुत नेतृत्व क्षमता नभएका कोइरालाको उदार र हठहीन चरित्र नै संविधान जारी गर्न अचूक अस्त्र बन्यो। राजनीतिक विश्लेषक हरि शर्मा कोइराला अहम् नभएका नेता भएकैले सहमतिको वातावरण बनेको बताउँछन्।

सधैं 'लो प्रोफाइल' मा रहन रुचाउने कोइरालाको क्षमतामाथि कांग्रेसमै पनि कमैलाई विश्वास थियो। तर, उनै कोइरालाको प्रधानमन्त्रीत्वकालमा संविधान जारी हुने ऐतिहासिक र दुर्लभ घटना सम्भव भयो। “संविधान जारी हुनुपूर्वको ध्रुवीकरण कम गर्न कम बोल्ने, क्रिया–प्रतिक्रिया सहन सक्ने, अहम् नदेखाउने र सबैलाई समेट्ने धैर्य जस्ता स्वभावले धेरै सहयोग गर्‍यो”, कांग्रेस नेता दिलबहादुर घर्ती भन्छन्।

१२औं महाधिवेशन (२०६७) मा कांग्रेस सभापति बनेका कोइरालाले पार्टी सञ्चालनमा भने नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेनन्। १३औं महाधिवेशनसम्म आउँदा पनि पार्टीका आन्तरिक विभागहरू गठन हुन सकेनन्, भ्रातृ संगठनको चुनाव हुन सकेन। तर मजगैयाँ भने सुशीलसँग गिरिजाप्रसादको जस्तो नेतृत्व अपेक्षा गरिनु नै गल्ती भएको बताउँछन्। “हिजो गिरिजाबाबुसँग बीपीको अपेक्षा गरियो, आज सुशीलसँग गिरिजाको अपेक्षा गरियो, जुन गलत हो”, उनी भन्छन्।

सुशीलले २०७० को संविधानसभा निर्वाचनपछि आफू एक वर्षका लागि मात्रै प्रधानमन्त्री बन्ने र संविधान जारी गरेलगत्तै सत्ता छाड्ने बताएका थिए। एमालेसँगको यो 'भद्र सहमति' स्वयं कोइरालाले नै तोडे। संविधान जारी भएलगत्तै राजीनामा गरेका कोइराला पुनः प्रधानमन्त्रीको प्रत्यासी बने। प्रधानमन्त्री निर्वाचनमा उम्मेद्वार नबनेको भए उनको राजनीतिक कद अझ् अग्लो हुने विश्लेषण गरिन्छ। तर, कतिपय कांग्रेस नेताहरू भने कोइरालाको त्यही उम्मेद्वारीले नै मधेशकेन्द्रित दल संसद्मा फर्किएको दाबी गर्छन्।

२३ माघको भेटमा कोइरालाले 'खाना खान अप्ठ्यारो भएको र निद्रा पर्न छाडेको' घर्ती बताउँछन्। “जिल्लाको अधिवेशन सकेर फर्केपछि कुरा गरौंला भन्दै म लमजुङतिर लागें, फर्कंदा उहाँ नफर्कने गरी गइसक्नुभएछ”, उनी सम्झ्न्छन्।

तुफान न्यौपाने

comments powered by Disqus

रमझम