२-८ फागुन २०७२ | 14-20 February 2016

एक थिए 'सुशील दा'

Share:
  
- केदार शर्मा
'भारतमुखी' हुनुको कालकूट घाँटीमा राखेर अरूलाई राष्ट्रवादको नौरङ्गी जामामा इस्त्री लगाउन दिएका सुशीलदाले अप्ठ्यारो अवस्थामा संविधान जारी गराएको यश भने कसैले खोस्न सक्ने छैन।

कोइराला परिवारका बालबालिकाले लगाउने नाताबाट शुरू भएको 'दा' को सम्बोधन उनको नामकै एउटा अङ्ग बन्यो। कतिले स्नेह र सम्मानले, कतिले आफूलाई उनको निकट ठानेर वा देखाउने उद्देश्यले र कतिले कांग्रेसपनको चमक बढाउने उद्देश्यले उनलाई यो सम्बोधन गरे। तर, सान्दाजु (बीपी), गिरिजा दाजु वा सानोबुवा (गिरिजा) आमा (नोना कोइराला) जस्ता पारिवारिक सम्बोधनबाट उनलाई पनि पुकार्दै 'परिवारवाद' को विरोध गर्ने मान्छे कांग्रेसभित्र पनि थुप्रै भए।

सुशील कोइरालाको निधनपछि फेरि एकपटक हाम्रो मृत्युपूजक चरित्र छर्लङ्ग भयो। बाँचुन्जेल मान्छेलाई अति निर्लज्जतापूर्वक लाञ्छना लगाउने र मृत्युपछि त्यति नै नलजाई तिनको तारीफ गर्ने प्रवृत्तिको सामाजिक मनोविज्ञानको कारण खोतल्नु समाजवैज्ञानिकहरूका लागि चाखको विषय हुनुपर्ने हो। यसमा चाख हुनेहरूका लागि स्रोत सामग्रीका रूपमा सुशील कोइरालाको जीवनका पछिल्लो समयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनका लागि लेखिएका शब्द उपलब्ध छन्।

अष्टावक्रका बगरेहरू

राजा जनकका दरबारी पण्डितहरूले शास्त्रार्थमा कुटिलतापूर्वक हराएर आफ्ना बाबुलाई पानीमा चोबेर मारेको थाहा पाएपछि अष्टावक्र जनकपुर हान्निए। यसै पनि ऋषि कहोडको छोरो, त्यसमाथि आठ वटा अङ्ग विकल भएको किशोर आफूसित शास्त्रार्थ गर्न आएको थाहा पाएर दरबारीहरू अपमानप्रकट हुने किसिमले मुसुमुसु हाँस्न थाले। त्यो देखेर अष्टावक्र मरीमरी हाँसिदिए। त्यसरी हाँस्नुको कारण राजाले सोध्दा अष्टावक्रले जवाफ दिए, “यतिका बगरेहरू साथमा लिएर राज्य चलाउने तपाईंको आँट देखेर हाँसेको हुँ।”

दरबारीहरू जर्‍याकजुरूक उठे। कतिको हात पौराणिक हिन्दी सिरियलहरूमा देखाउने पाराले तरबारको बींडमा पनि पुग्यो होला। त्यही वेला राजाले अष्टावक्रलाई ती सबै दरबारी सबै कुलीन ब्राह्मण र क्षत्रीयहरू भएको बताउँदै 'बगरे' भनेकोमा स्पष्टीकरण मागे। यही प्रश्न सोधियोस् भन्ने चाहिरहेका उनले भने, “राजन, मैले कुनै पनि जातको कुरा गरेको होइन। बगरे वृत्ति र प्रवृत्ति पनि हो। यो जुन जातले पनि अपनाउन सक्छ। कुनै पनि प्राणीको दैहिक सौष्ठवसित मात्र सरोकार राख्ने नजर त बगरेहरूमा मात्र हुन्छ। उनीहरूमा शरीरको कुन सुडौल भागबाट कसरी खुर्केर कति मासु निकाल्न सकिन्छ भन्ने चासो र जानकारी धेरै हुन्छ। मेरो शरीरलाई हेर्ने र त्यसप्रति प्रतिक्रिया जनाउने उहाँहरूको तरीका देखेर मात्र मैले यसो भनेको हुँ।”

हामी पनि राजा जनकका दरबारी जत्तिकै छौं र सचेत प्रयत्न नगर्ने हो भने हाम्रा आँखा शरीरभन्दा अरू कुरा देख्रुन सक्ने हुँदैनन् पनि। हामी मूलतः मान्छेको शरीर, चालढाल वा बोलीको अनौठोपन, अमिल्दोपन, कमजोरीहरूमा आधारित हास्यसिरियलहरू हेरेर रमाउने मान्छे हौं। हामीले सुशील कोइरालाका गाला हेर्‍यौं। दाह्री त अरूले पनि पाल्छन्, तर हामीले उनलाई चाहिं झ्ुशील भन्यौं र आफ्नो विद्रुप हास्यचेतप्रति आफैं दङ्ग पर्‍यौं। क्यान्सरसित संघर्ष गरिरहेका आफन्त हिजोआज सबैका हुन्छन्, तर हामीले उनको क्यान्सरग्रस्त जिब्रोलाई पनि बाँकी राखेनौं र उनको अस्पष्ट बोलीको अनुकरण गरेर हाँसिरह्यौं। उनको विचारको स्पष्टता, व्यवहारको सरलता र आफैंलाई जोखिममा राख्न सक्ने जुझ्ारूपना हामीमध्ये धेरैका आँखामा परेनन्।

गत असोजमा प्रधानमन्त्री पदमा उम्मेदवार हुँदा उनलाई हार्छु भन्ने राम्रोसँग थाहा थियो, तर उनी चुनावमा भिडे। त्यो उम्मेदवारीका स्पष्ट राजनीतिक कारण थिए, तर उनले अस्पष्ट स्वरमा कसैलाई स्पष्टीकरण दिएनन्। उनलाई सकेसम्म धेरै मधेशी सांसद्हरूलाई संवैधानिक प्रक्रियामा ल्याउनु थियो, शेरबहादुर देउवालाई संसदीय दलको नेताका रूपमा उदाउनबाट रोक्नु थियो र आफू आजित भइसकेको भागबण्डाको राजनीतिबाट बहुदलीय व्यवस्थालाई मुक्त गर्नु थियो।

उनलाई थाहा थियो, पार्टीको नेतृत्वमा पुग्न आतुर समकक्षीहरूले नै त्यसबापत आफूलाई लाञ्छित गर्छन् भन्ने कुरा। संयुक्त सरकारमा मन्त्री खान र्‍याल चुहाइरहेका नेताहरूले आफूलाई सत्तोसराप गर्छन् भन्ने पनि उनले बुझेका थिए। तर, उनले स्पष्टीकरण दिएनन्। 'मधेशी नेताहरूलाई मूलधारमा ल्याउन मात्र उम्मेदवारी दिएको हुँ' भनेर उनीहरूको राजनीतिक हैसियतलाई अपमानित गरेर भए पनि आफूलाई चोख्याउने काम अरू जसले भए पनि गर्थ्यो, तर उनले गरेनन्। भारतको आँखामा सधैं अर्घेला रहेका, प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा पनि नगएका र भारतसित कुनै पनि सम्झौता नगरेका सम्भवतः एक्ला व्यक्तिले 'भारतमुखी' हुनुको कालकूट घाँटीमा राखेर अरूलाई राष्ट्रवादको नौरङ्गी जामामा इस्त्री लगाउने अवसर दिए।

सुशीलदा गए। सहजै गए। मेरो दृष्टिमा नेपाली कांग्रेसको मूलधारको परम्पराका अन्तिम नेता गए। धेरै अपजसहरू सहे। तर कसैले कहिल्यै खोस्न नसक्ने कुरा– अत्यन्त अप्ठ्यारो अवस्थामा संविधान जारी गराएको यश पनि बोकेरै गए।

comments powered by Disqus

रमझम