२-८ फागुन २०७२ | 14-20 February 2016

राजनीतिक कीर्तिमानको जीवन

Share:
  
- शंकर तिवारी
नित्य गीता पाठ नगर्ने सुशील कोइराला गीतासार अनुरूपको सादगीपूर्ण कर्मबाटै राजनीतिक कीर्ति कायम गरेर गए।

भानु भट्टराई
सुशील कोइरालाले महाप्रस्थान गरेको एकसातामा उनको व्यक्तित्वको अनेक पहलु–पाटामाथि विमर्शको लहर चलेको छ। यद्यपि, यो वेला उनीबारे लेख्नु निकै कष्टकर कुरा हो, किनकि अहिले नै उनको जीवनको सम्यक् मूल्यांकन गर्न सम्भव हुँदैन। एक राजनीतिज्ञको रूपमा नेपालको इतिहासमै निर्णायक हस्तक्षेप गरेकाले सामान्य समवेदनाभन्दा माथि उक्लेर उनका अवदानबारे चर्चा गर्नु श्रेयस्कर हुन्छ।

शाह र राणापछि नेपाली राजनीतिको वंश परम्परामा कोइराला परिवार अग्रणी स्थानमा आउँछ। सुशीलले त्यही परिवारका दुई महारथी बीपी र गिरिजाप्रसाद कोइरालाको विरादरी सम्हालिरहेका थिए। 'लो प्रोफाइल' मा बसेर एकलव्य निष्ठाका साथ कर्मयोगमा लीन रहनु उनको विशेषता थियो। सात दशक लामो नेपाली लोकतन्त्रको लडाइँमा एक इमानदार सिपाही भएर लाग्नुसिवाय उनको जीवनमा अर्को कुनै अभ्यर्थना देखिंदैन।

नेपाली राजनीतिक वृत्तको 'फादर फेमिली' को अनेक आरोह–अवरोहमा सुशीलले अनेकौं भूमिका पूरा गरे। उनलाई आफ्ना संरक्षकहरूको सेवाभन्दा अर्को कुरामा ध्यान थिएन। सुशीलले घरजम गर्न बिर्सेका होइनन्, तर आधुनिकताबाट पोषित कोइराला परिवारमा घरजम नगर्ने कीर्तिमान उनैले कायम गरे। विशेषतः गिरिजाप्रसाद कोइरालाले चालेका अनेकन् उचित–अनुचित राजनीतिक हत्कण्डाहरूमा सुशील प्रमुख हिस्सेदार बने। ती कार्यहरू आफ्नो विवेकले भन्दा राजाज्ञा वा संरक्षकको आदर्श शिरोपर गरेका थिए।

हनुमानबाट कृष्ण

सुशील लामो समय आज्ञापालक रहे। गिरिजाप्रसादको निधनपछि कार्यवाहक सभापतिको रूपमा नेपाली कांग्रेस पार्टीको बागडोर सम्हालेपछि मात्र उनको असली काम शुरू भयो। त्यो वेला कांग्रेस संविधानसभामा दोस्रो दलमा खुम्चिएको थियो। बाह्रौं महाधिवेशनबाट निर्वाचित भएर पार्टी सभापति भएपछि सुशीलले २४० निर्वाचन क्षेत्रमध्ये ३७ सीटमा खुम्चेको कांग्रेसलाई दोस्रो संविधानसभा निर्वाचनमा पहिलो दल बनाउने श्रेय लिए। सँगसँगै कांग्रेस संसदीय दलको नेता निर्वाचित भएपछि उनी प्रधानमन्त्री र संविधानसभाका प्रमुख नेता बने।
'शान्ति, सहमति र सहकार्य' का कुरा गर्ने सुशीलले प्रधानमन्त्रीको रूपमा जम्माजम्मी एउटा वाचा गरेका थिए– संविधानसभाबाट संविधान जारी गरेर पद त्याग्छु। त्यसमा उनी अविचलित रूपमा लागे अनि संविधान जारी गराएरै छाडे। संविधान जारी हुनु आफैंमा अभूतपूर्व घटना नभए पनि नेपालको संविधानसभामा संविधान बन्नु एउटा काल विभाजन र आधुनिकीकरणतर्फको नेपाली यात्राको शुरूआत पनि हो।

१२बुँदे समझ्दारीले तय गरेको २०६२/६३ सालको जनआन्दोलनपछिको करीब एकदशकमा नेपाली राजनीतिले अनेक बल्ड्याङ खायो, स्वप्न नायकहरूको पीडादायी पतन पनि भयो। प्रत्येक पात्रको पतनले संविधानरूपी मृगमरीचिकालाई पर धकेल्यो, संक्रमणकाल बढाउँदै लग्यो र जनतामा निराशा थप्दै गयो। पहिलो संविधानसभाले बनाएका दुई दलका चार प्रधानमन्त्रीले एकअर्कालाई निस्तेज पार्न तिनै खेल खेले, जुन सुशीलले 'आज्ञापालक हनुमान' को भूमिकामा हुँदा खेलेका थिए। पहिलो संविधानसभाको अवधिमा एउटा निरीह साक्षी बनेका सुशीलले दोस्रो संविधानसभामा पहिलेका शैली चटक्कै छाडे। उनका लागि त्यो नूतन परिवेश थियो, जहाँ लिएको साधुभावले उनलाई एउटा अपूर्व मौका दियो। त्यो मौकामा उनी अत्तालिएनन् र मात्तिएनन् पनि। धीर पुरुषले जस्तै स्थिर तर गतिवान् हुँदै संविधान निर्माण प्रक्रियाको नेतृत्व गरे।

सुशीलका अडान

सुशील कोइराला प्रचारात्मक शैलीमा थिएनन्, त्यसैले संविधान निर्माण प्रक्रियामा झ्ट्ट हेर्दा कतै देखिइरहेका थिएनन्। यदाकदा बोल्दा उनी संविधान निर्माण भनेको सर्वपक्षीय 'गिभ एण्ड टेक' हो भन्थे। संविधानका अन्तर्वस्तुसँग गाँसिएका कुनै कुरामा सुशीलका निजी अडान थिएनन्। संविधानलाई पूर्णतामा हेरेका उनको एउटै अडान थियो– संविधानले लोकतन्त्रको मूल्य, मान्यता र मर्मको सम्मान गर्नुपर्छ। जबकि, संविधानका अन्तर्वस्तुमा उनका सबै पूर्ववर्ती प्रधानमन्त्रीहरूको निजी अडान थिए, संविधानलाई खण्डमा हेरेकाले।

अर्को कुरा, कोइरालाको 'लो प्रोफाइल' व्यक्तित्व वरिपरि केपी ओली र पुष्पकमल दाहालले पनि सहजता महसूस गरे। उनको व्यक्तित्व 'ड्यासिङ' र उत्ताउलो दुवै थिएन। लामो राजनीतिक अनुभवबाट उनलाई यो गुण प्राप्त भएको थियो। बीपी र गिरिजाप्रसादसँग सुशीलको तत्काल तुलना हुन सक्दैन, तर संविधानको सफलतासँगै उनी त्यो तराजुमा पनि राखिन सक्छन्। संविधानसभाबाट अब अर्को संविधान जारी हुँदैन। भविष्यका समस्यालाई यही संविधानको संशोधन गरेर समाधान खोज्नुबाहेक अरू वैधानिक विकल्प पनि रहने छैन। संविधान संशोधन हुनु संविधानको असफलताको द्योतक नभएर संविधानको गतिशीलताको प्रमाण र परिचायक दुवै हो। सुशीलका राजनीतिक भोगाइहरू जति जटिल थिए, त्यति नै सरल उनका राजनीतिक बुझ्ाइ थिए। सुशील बीपीजस्तो विचारक वा गिरिजाप्रसादजस्तो संगठक दुवै नभएर पनि सफल राजनेता बने।

सुशील कोइराला पार्टी सभापति र देशको प्रधानमन्त्री बन्दा उनलाई आशीर्वाद वा आदेश दिने संरक्षकहरू कोही थिएनन्। थियो त केवल, उनीहरूले मनमा गढाइदिएको लोकतन्त्रको ओजस्वी निशानी। सुशीलले त्यसैको खातिर सिंगो जीवन समर्पण गरे, सौम्य–सम्यक् अडानका साथ।

२००३ सालको नेपाली राष्ट्रिय कांग्रेसको संकल्प र २००७ को राजाको बाचा थियो– जननिर्वाचित संविधानसभाबाट संविधान निर्माण। पछि बीपीले राजासँग कार्यनीतिक सम्झौता गरे भने गिरिजाप्रसादले माओवादी विद्रोह साम्य पार्न संविधानसभा स्वीकार गरे। बीपीले नेपाली जनतालाई लोकतन्त्रको महत्ता सिकाए भने गिरिजाप्रसाद हिंसात्मक विद्रोहलाई शान्तिपूर्ण आन्दोलनमा मिलान गरेर गए। संविधानसभाबाट शान्त अडान र सुझ्बुझ्का साथ संविधान जारी गरेर लोकतन्त्रको त्यो गोरेटोलाई राजमार्गको स्वरुप दिने काम भने सुशीलबाट सम्भव भयो। यो नै उनको राजनीतिक जीवनको कीर्तिमान हो।

सुशीलको सम्झ्ना

बीपी र गिरिजाप्रसादको दुई अलग रेखामा सुशील तेस्रो रेखा भएर मिसिंदा बनेको त्रिभुजभित्र जनताको संविधान तयार भएको छ, जसमा आवधिक संशोधनले इन्द्रेणीका सातै रङ देखाउन सक्छन्। हो, सुशीलले मधेशलाई न्याय नगरी संविधान जारी गरे। देशको प्रश्नका सामु सुशीललाई मधेश गौण लाग्यो, तर उनले देश बचाएर मधेशलाई न्यायको बाटो खोलिएको विस्तारै प्रष्टिंदै जानेछ। उनको राष्ट्रवादी छविमा केपी ओली र पुष्पकमल दाहालले समेत लाहाछाप लगाइसकेका छन्, त्यो जरूरी नभए पनि।

सुशील किन राष्ट्रपति बन्न इन्कार गरेर प्रधानमन्त्रीको उम्मेदवार भए भन्ने कुरा पूर्णरूपमा खुलिसकेको छैन। उनले पार्टीमा चाहेको पारिवारिक विरासत हस्तान्तरण गर्न पनि पाएनन्। बीपीले गणेशमानजी र किसुनजीसँगै गिरिजाप्रसादलाई पनि नेतात्रयमा समाविष्ट गराएका थिए। गिरिजाप्रसादले सुशीललाई कार्यवाहक सभापति नै बनाएर गए, तर सुशीलले शशांक, शेखर वा सुजातालाई त्यसै छाडेका छन्। यो भनेको कोइराला परिवारका उत्तराधिकारको दावा गर्नेहरूले आफ्नो ल्याकत साबित गरेर बागडोर सम्हाल्ने अवसर पनि हो, जुन सुशीलले दिएका छन्। पार्टीको

आन्तरिक लोकतन्त्र मजबूत हुँदा र संवैधानिक व्यवस्थाले लोकतन्त्रलाई संस्थागत गरेको अवस्थामा वंश परम्परा वा उत्तराधिकार त्यसै पनि गौण कुरा हो।

भावी पुस्ताले सुशील कोइरालालाई संविधानको आलोकमा नै स्मरण गर्नेछ। उनको 'पहेली' जस्तो लाग्ने सादा व्यक्तित्वको प्रशंसा चिरकालसम्म भइराख्नेछ। उनको त्यो सादगीपूर्ण व्यक्तित्व र लोकतन्त्रप्रतिको निष्ठा नै नेपालीले संविधान पाउने माध्यम बन्यो। अहिले अतिशयोक्तिपूर्ण लागे पनि सुशील कोइराला 'संविधानका पिता' का रूपमा सम्झिइने छन्।

comments powered by Disqus

रमझम