२-८ फागुन २०७२ | 14-20 February 2016

अधुरो इच्छा

Share:
  
- शीतल कोइराला
सम्पूर्ण रुपमा नेपाली कांग्रेसको चिन्ता लिएर १३औं महाधिवेशनको तयारीमा जुटेका सुशील कोइरालाले बीच बाटोमै जीवनयात्रा टुंग्याइदिए।

रासस
मैले सुशील कोइरालाको सहयोगीका रूपमा काम गरिनँ, तर कोइराला परिवारका सदस्यहरू डा. शशांक, डा. शेखर र सुजातासँग कैयौं पटक सुशील'दाकहाँ पुगें। पछिल्ला दिनहरूमा उनको सहयोगी रहेकी दिदी मृदुला कोइरालाले पनि मलाई बोलाइरहन्थिन्। जाँदा सुशील'दासँग पनि जमेरै कुराकानी हुन्थ्यो।

संविधान त बनाउँछु, बनाउँछु

२०७१ साल पुसको अन्त्यतिर म डा. शशांकको टोखास्थित निवास पुगेको थिएँ। राजनीतिक सन्दर्भकै कुराहरू हुँदा उनले 'तिमीले यो कुरा सुशील'दालाई भन्नुपर्छ' भन्दै प्रधानमन्त्री निवास बालुवाटार लिएर गए। हामी पुग्दा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीसँग भेटघाटमा रहेछन्। उनी निस्केपछि हामी बैठकमा पस्यौं। हाम्रो सोधनी अनुसार दाहालसँगको छलफलबारे सामान्य बताएपछि सुशील'दाले मलाई सोधे– “बाहिरतिर के छ? पत्रकारहरू के भन्छन्?”

अनि मैले अघि डा. शशांकसँग भनेकै कुरा दोहोर्‍याएँ–“संविधानबारे मानिसहरूलाई ठूलो चासो छ– बन्छ कि बन्दैन भन्ने। बनेन भने मुलुक कता जान्छ? संविधान नबनाई पहिलो संविधानसभाको अवसान भयो। माघ ८ आउन लागेको र आशा, आशंका बढेको छ। तपाईंको अर्जुनदृष्टि संविधान जारी गर्ने र लोकतन्त्रलाई संस्थागत गर्नेमा केन्द्रित छ भन्नेमा शंका छैन। अब तपाईंले राजनेताको भूमिका खेल्नुपर्‍यो। तपाईंको नेतृत्वमा संविधान जारी भयो भने त्यसले सिंगो मुलुक र लोकतन्त्रलाई लाभ गर्छ, सँगसँगै कांग्रेस र कोइराला परिवारलाई पनि ठूलो फाइदा पुग्छ। संविधानसभा २००७ सालको जनक्रान्तिको 'अजेण्डा' हो। पिताजी (कृष्णप्रसाद कोइराला) ले शुरू गरेको राणाविरोधी अभियान २००७ सालमा आइपुग्दा क्रान्तिको नेतृत्व उहाँकै छोरा बीपी कोइरालाले गर्नुभयो। राणाशासन ढल्यो, तर क्रान्तिको लक्ष्य संविधानसभामा जनप्रतिनिधिले संविधान बनाउने सार्वभौम जनताको चाहना पूरा भएन।”

मैले अगाडि भनें– “राजाले २०५९ मा संविधान च्यातेपछि २०६२/६३ मा भएको जनआन्दोलनको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गर्नुभयो र देशमा संविधानसभा गठन भयो। राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भयो, तर गिरिजाबाबुले परिवर्तनलाई संस्थागत गर्न भ्याउनुभएन। समयले तपाईंलाई त्यो जिम्मेवारी दिएको छ। त्यो तपाईंको नेतृत्वमा सम्भव भयो भने नेपालको संवैधानिक इतिहासबारे सोधिने हर प्रश्नको उत्तरमा बीपी र गिरिजाप्रसाद पछि सुशील कोइरालाको नेतृत्वमा संविधान निर्माण भएको लेखिनेछ।” त्यसपछि सुशील'दाले भन्नुभयो– “कम्युनिष्टहरूसँग काम गर्न ज्यादै असजिलो छ। प्रचण्ड, केपी ओली..., ओ हो सजिलै कहाँ दिन्छन् र काम गर्न! सुशीललाई क्यान्सर भयो, अब मर्छ भनेर प्रचार गरेका छन्। तर, तिमीहरूले के बुझिराख भने संविधान नबनाइकन म मर्दा पनि मर्दिनँ, प्रधानमन्त्रीको पद पनि छोड्दिनँ। संविधान बनेपछि चाहिं प्रधानमन्त्रीको कुर्सीमा एक मिनेट पनि बस्दिनँ।”

त्यही सिलसिलामा उनले संविधान निर्माणको सन्दर्भमा प्रदेशहरूको नामकरण, सीमांकन र समानुपातिक समावेशी प्रतिनिधित्वको विषय जटिल भएको बताए। मैले नामांकनको विषय प्रान्तीय सभाले टंुग्याउने, सीमांकनमा कुरा मिले संख्या ६, ७, ८, ९ जति बनाए पनि हुने, चल्न नसके गाभिन्छन् र समानुपातिक समावेशी सिद्धान्तको कुरा चाहिं अन्तरिम संविधानमै उल्लेख भइसकेको बताउँदा उनले भने, “ओली समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा गठन हुनै सक्दैन भन्छन्, दाहाल र मधेशवादीहरू समानुपातिक निर्वाचन प्रणाली नभई मान्दैनौं भनिरहेका छन्, गाह्रो छ मिलाउन। तर, तिमीहरू ढुक्क भए हुन्छ– संविधान त बनाउँछु, बनाउँछु।”

सफलता र चिन्ता

अहिले लाग्छ, सुशील'दामा त्यो दृढ अठोट नभएको भए संविधान बन्ने थिएन। संविधानसभाभित्रको सबभन्दा ठूलो पार्टीको प्रमुख र प्रधानमन्त्रीको हैसियतमा उनले अग्रसरता नलिएको भए संविधानको अन्तरवस्तुलाई लिएर कांग्रेस, एमाले र एमाओवादीबीच मतैक्य हुनसक्ने थिएन। खास गरेर, त्यतिवेला सडक आन्दोलनमा रहेको एमाओवादी तीन दलीय समझ्दारीमा आउने वातावरण उनकै सुझ्बुझ्बाट बनेको थियो। त्यसरी जननिर्वाचित संविधानसभाबाट नयाँ संविधानको घोषणा सुशील'दाको राजनीतिक जीवनको सबभन्दा ठूलो उपलब्धि बन्न पुग्यो, यो कुरा इतिहासमा अंकित हुनेछ।

मैले गएको ५ माघमा डा. शशांक निवासमा भेट्दा राष्ट्रिय राजनीतिका प्रति आफूले पूरा गरेको कर्तव्यबाट सुशील'दा प्रफुल्ल थिए। त्यो दिन कांग्रेस नेता दिलबहादुर घर्ती पनि सुशील'दासँगै थिए। सुशील'दाले हामीलाई 'संविधान संशोधनपछि तराईको अवस्था सहज हुने, हिन्दुस्तानसँगको सम्बन्धमा पनि सुधार भएर नाकाका अवरोधहरू हट्ने र कांग्रेसले पार्टीको महाधिवेशनसँगै अलग्गै मधेशनीति बनाउने बताए।

त्यसपछि उनले महाधिवेशनलाई लिएर पत्रकारवृत्तमा चलेको टिप्पणीबारे जिज्ञासा राख्दा मैले भनेको थिएँ– “तपाईं फेरि सभापतिमा उठ्ने तयारीमा जुट्नुभएको चर्चा छ, हो कि होइन? त्यागको छवि छ तपाईंको। त्यागकै कारण हिजोका दिनमा मन्त्री बन्नुभएन। मुलुक र लोकतन्त्रप्रतिको कर्तव्य पूरा गर्न एउटा कालखण्डमा आएर प्रधानमन्त्री बन्नुभयो, चार/चार जना कम्युनिष्ट प्रधानमन्त्रीले गर्न नसकेको काम तपाईंको नेतृत्वमा भयो। लोभ नभएको, परिवार नभएको तपाईं राष्ट्रिय दायित्व पूरा गरेर सिंगो देशको निधि हुनुभएको छ। तपाईंले अब कांग्रेसका लागि गरिदिनुपर्ने काम भनेको पार्टीमा ६०/४० को भागबण्डे राजनीतिको अन्त्य हो। कोइराला परिवारप्रति तपाईंको जे दायित्व छ, त्यो पनि भावी सभापतिलाई भन्दा भइगयो। तपाईंका पछाडि जिन्दगी नै लगाएकाहरूको राजनीतिक संरक्षणको ग्यारेन्टी पनि तिनै सभापतिले गर्छन्। तपाईं राजनेता बनिसक्नुभयो, अब कांग्रेसको सभापति होइन, मुलुककै सर्वमान्य अभिभावक बन्ने हो।”

अनि सुशील'दाले भने, “मलाई मेरो होइन, कांग्रेसको चिन्ता छ, ओछ्यान परिसकेको पनि होइन। कतिले त मलाई सलाइन दिएर राखेको छ भन्छन् रे, होइन?”

सुशील'दाको चिन्ता प्रष्टै थियो– राष्ट्रिय राजनीतिमा आफ्नो दायित्व पूरा गरे पनि कांग्रेसमा भर गर्न लायकको एउटा नेतृत्व भेटिएको छैन। उनको लागि कांग्रेस सबैथोक थियो। मूल्य, मान्यता र विधिसम्मत ढंगबाट पार्टी चल्नुपर्छ भन्नेमा उनी दृढ थिए। रामचन्द्रप्रति उनको भरोसा बलियो थिएन, शेरबहादुर देउवाप्रति पूरै 'रिजर्भेसन' थियो। कोइराला परिवारका डा. शशांकप्रति अगाध माया र सुजाताप्रतिको दायित्वले उनी पिरोलिएको अनुमान लगाउन गाह्रो थिएन। यी कुराले सुशील'दा तनावमा थिए।

महाराजगञ्जमा भएको त्यो भेटमा उनले नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास जोगिए कांग्रेसको इतिहास जोगिने, कांग्रेस बाँचे मुलुककै भविष्य बाँच्ने र कोइरालाहरूको पनि इतिहास, वर्तमान र भविष्य बाँच्ने बताए। उनी भोलिको कांग्रेस र भोलिको नेतृत्वप्रति अत्यन्तै चिन्तित थिए, तर भर पर्नसक्ने पात्र नभेटिंदा पिरोलिएर आफैं सभापति बन्ने कुरा गरिरहेका थिए।

रमझम