कोइराला परिवारबाट उत्तराधिकारी तयार नहुन्जेल सभापति भएर अर्को महाधिवेशनमा नयाँ कोइरालालाई पार्टी सुम्पेर जाने सुशीलको रणनीति मृत्युसँगै समाप्त भएको छ। उनी नरहेपछि कांग्रेसको तेह्रौं महाधिवेशनको समीकरण पनि प्रभावित हुनेछ। अब कोइराला परिवार र समर्थकहरूले रामचन्द्र पौडेल वा शेरबहादुर देउवामध्ये कसलाई समर्थन गर्लान् वा नयाँ उम्मेदवार अघि सार्लान्? भन्ने प्रश्न कांग्रेसभित्र उठिसकेको छ।
स्वच्छ छवि
सुशीलको राजनीतिक जीवन कोइराला वंशको वरिपरि घुम्यो। आफ्नै संघर्ष र दुःखका कथा भए पनि उनले बाँचुन्जेल मूलतः बीपी कोइराला र पछि गिरिजाप्रसाद कोइरालाको छत्रछायाँमा रहेर राजनीतिक सेवामा जीवन सुम्पे। उनको राजनीतिक जीवनको प्रगतिमा गिरिजाप्रसादको निर्णायक भूमिका रह्यो। गिरिजाप्रसादले आफ्नो गुट र शक्तिको उत्तराधिकार सुम्पेर गएकाले सुशीलले नेपाली कांग्रेसको नेतृत्व तुलनात्मक रूपमा सहज ढंगले लिन सके।
कांग्रेसजस्तो 'मास बेस्ड पार्टी' को बागडोर लोकप्रिय छवि नभएको र जनतामा त्यति घुलमिल हुन नचाहने सुशील कोइरालाको हातमा पुग्नुमा कोइराला परिवारको उत्तराधिकार परम्पराले काम गरेको थियो। गिरिजाप्रसादले आफ्नै जीवनकालमा उपसभापति र आफ्नो घोषित उत्तराधिकारी जस्तै बनाइदिएको हुनाले सुशील कांग्रेस सभापति भए, त्यसमा कोइराला पक्षधर पंक्तिको समर्थन लिन अप्ठ्यारो परेन।
सुशील कोइराला बाँचुन्जेल गिरिजाप्रसादको छायाँ जस्तै रहे। आफ्नो फरक छवि, विचार, शैली निर्माणमा उनले ध्यान दिएनन्। उनले गिरिजाप्रसादको राजनीति र गुट व्यवस्थापनका लागि आफ्ना अधिकांश वर्षहरू खर्चे। प्रधानमन्त्री बन्नुभन्दा अघि मन्त्री बनेर सत्तामा जाने रहर उनले देखाएनन्। मन्त्री बनेर सरकारमा जान मरिहत्ते गर्ने आम कांग्रेसी प्रवृत्ति उनमा देखिएन। उनले कोठे गुट चलाएर कांग्रेसमा गुटबन्दी बढाएको आरोप खेपे पनि भ्रष्टाचार र आर्थिक अनियमितताको आरोप कहिल्यै भोग्नुपरेन। प्रधानमन्त्री रहँदा पनि उनले त्यो छवि जोगाए।
सुशीलविनाको कोइराला परिवार
पिता गिरिजाप्रसादले आफ्नै आडमा राजनीतिक भूमिका दिलाए पनि छोरी सुजाताले राजनीतिक छवि उजिल्याउन सकिनन्। उनी कांग्रेस वृत्त र बाहिर पनि आलोचित छिन्– आफ्नै बानी–बेहोराका कारण। शेखरले सांसद् हुने अवसर पाए पनि गिरिजाप्रसाद र सुशील कोइरालाको नेतृत्वकालमा राजनीतिक महत्वको भूमिका पाएनन्। सुशील कोइराला पार्टी सभापति र प्रधानमन्त्री रहँदा समेत शेखरले महत्वपूर्ण भूमिका पाएनन्। बरु, शेखरले आफैं बोलेर, लेखेर एक हदसम्म राजनीतिक प्रभाव निर्माण गरेका छन्।
सुशीलले शेखर र सुजातालाई अघि नबढाएबाट उनी शशांक कोइरालालाई कोइराला परिवारको राजनीतिक उत्तराधिकारी बनाउन चाहन्थे भन्ने अनुमान गर्न सकिन्छ। भावनात्मक र व्यक्तिगत रूपमा मन पराएर उनले अघि बढाउन चाहे पनि स्वयं शशांक आफ्नै जीवनशैली र अन्य विविध कारणले अघि बढ्न नसकेको चर्चा कांग्रेसभित्र चल्ने गरेको छ। सांसद्को रूपमा पनि शशांकको सक्रियता प्रभावकारी देखिएको छैन। तथापि, उनैलाई राजनीतिक रूपमा अघि बढाउने सुशीलको इच्छा थियो भन्ने देखिन्छ। सुशील नै नरहेको अबको अवस्थामा तीन दाजुभाइका यी तीन छोराछोरी मिलेर अघि बढ्लान् वा आ–आफ्नै ढंगले राजनीति गर्लान्?
बीपी कोइरालाका छोरा भएकाले हुनसक्छ, कांग्रेसजनमा शशांकप्रतिको आकर्षण बढी देखिन्छ, कांग्रेस केन्द्रीय सदस्यको रूपमा उनले आफ्नो राजनीतिक छवि निर्माण गर्न जाँगर नचलाए पनि। उनले सक्ने अवस्थामा पनि जाँगर देखाएको पाइएन। शेखरको लागि पनि क्षमता देखाउने अवसर अझै छ भने सुजातासँग लोकप्रियता, जनाधार र संगठन केही छैन।
शेखर वा शशांकमध्ये एकले अर्कोलाई अघि बढ्ने संकेत गरे उसैलाई समर्थन गर्न बाध्य हुने अवस्थामा छिन्, सुजाता। विगतमा शशांक र शेखरले एकले अर्कोलाई अघि बढ्न सहयोग गरेको भने देखिएको छैन। त्यसैले, सुशील कांग्रेसलाई कोइराला परिवारको प्रभाव वृत्तबाट बाहिर जान नदिन फेरि एकपटक सभापति हुन चाहन्थे, तर मृत्युले उनलाई त्यो मौका दिएन।
महाधिवेशनपछिको कांग्रेस
सुशील कोइरालाको अवसानपछिको कांग्रेस कोइराला वंशको नेतृत्वबाट मुक्त कांग्रेस त बन्नेछ, तर अहिलेको भन्दा गतिलो कांग्रेस बन्ने सम्भावना छैन। पार्टीको नेतृत्व गर्ने चाहना राख्ने शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवैमा कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने इच्छाशक्ति, सक्रियता, भिजन केही छैन। दुवैको नेतृत्वमा कांग्रेस यथास्थितिवादी हुनेछ। अझ्, नेतृत्व देउवामै गयो भने त कांग्रेसले झ्न् दक्षिणपन्थी बाटो लिने र सत्ताको लागि मरिमेट्ने व्यवहार देखाउनेछ। कांग्रेसमा राष्ट्रियताप्रतिको प्रतिबद्धता अझ् कमजोर हुनेछ।
सुशील कोइरालामा पदप्रतिको मोह कम थियो। उनी झ्नक्क रिसाउँथे, तर राजनीतिक छलकपट कम गर्थे। यद्यपि, आफ्नै वचनबद्धता विरुद्ध भद्र सहमति तोड्दै किन फेरि प्रधानमन्त्री पदमा उम्मेदवारी दिए भन्ने प्रश्नको प्रष्ट जवाफ भने पाइएको छैन। कोइराला परिवारको राजनीतिक भविष्य सुरक्षाको लागि उनले प्रधानमन्त्री पद दोहोर्याउनुपर्ने अवस्था थिएन। त्यसैले, कुन बाध्यताका कारण उनले राष्ट्रपति पद अस्वीकार गरेर प्रधानमन्त्री पदका लागि चुनाव लडे भन्ने प्रश्नको जवाफ अनुमानकै गर्भमा छ। 'परिबन्दमा परेर उठियो' भनेका उनले त्यो परिबन्द के थियो भन्ने नबताई संसारबाटै विदा लिए।
सुशीलले आफ्नो राजनीतिक जीवनको लामो कालखण्डमा बीपी कोइरालाको राष्ट्रियताप्रतिको नीतिलाई अँगाल्न खोजेको देखिन्छ। पार्टी सभापति र प्रधानमन्त्री हुँदा उनले भारत र भारतीय दूतावासका कतिपय हेपाहा व्यवहार विरुद्ध आफूलाई उभ्याए। संविधान निर्माणको लागि प्रधानमन्त्रीका रूपमा उनको भूमिका समन्वयकारी नै रह्यो।
सुशीलको मृत्युपछि अब कांग्रेस कस्तो र त्यहाँ कोइराला वंशको स्थान के हुनेछ भन्ने विषय उठे पनि कांग्रेसको नीति कस्तो हुनेछ भन्ने प्रश्न उठेको छैन। किनभने, सुशील कोइराला नीतिनिर्माण गर्ने योग्यता राख्दैनथे। उनी भिजिनरी नेता नभएकोले अब कांग्रेसलाई नयाँ नीति, ढंग र शैलीका साथ अघि बढ्ने अवसर उपलब्ध भएको छ। यो अवसरलाई उपयोग गर्ने योग्यता भएका नेता पार्टीमा नहुनु चाहिं कांग्रेसको दुर्भाग्य हो।