२-८ फागुन २०७२ | 14-20 February 2016

हार्ने मधेशवादी जित्ने मधेश

Share:
  
- मनिष झा
मधेश, मधेशी र मधेशवादीलाई छुट्याएर हेर्ने हो भने यसपालिको आन्दोलनमा मधेशले जितेको देखिनेछ।

सुरेश बिडारी
मधेश आन्दोलनको क्रममा १४ असोज २०७२ मा पूर्व–पश्चिम हुलाकी लोकमार्गमा बनाइएको मानवसाङ्लो।
आम मधेशीले स्वाभिमान वा आफ्नो परिचयमा अझ् स्पष्टता खोज्दै शुरू गरेको आन्दोलनमा मधेशवादीहरूले राजनीतिक रङ लगाउन खोजे भने राज्यले पनि आतंकवाद विरुद्धको कारबाही बिर्साउने गरिको व्यवहार गर्‍यो। मधेशवादीको हुँकार, नाकाबन्द, भारत यात्रा, बिहारमा प्रस्तुत निरीहता आदिलाई लिएर आन्दोलनमा विभिन्न सम्भावना जोडियो र अनेक चर्चा गरियो। तर, कुनै विवाद, अभियान, आन्दोलन वा युद्ध योजनाकारले आफ्नो तरीकाले शुरू गरे पनि अन्त्य पूर्वयोजना अनुसार नहुन सक्छ भनेझैं भयो– १७६ दिन लामो मधेश आन्दोलन र १३५ दिने नाकाबन्दीको नियति पनि।

धेरैजसो कथामा सम्झ्नलायक परिघटना शुरूआत र अन्त्यमै हुने गर्छ। मधेश आन्दोलनको उद्देश्य सामाजिक रूपमा स्पष्ट रहे पनि मधेशवादीहरूले यति नराम्रो रंग लगाए कि कथा नै सम्झ्नलायक नरहने डर पैदा भयो। जनस्तरबाट संविधानको मस्यौदाप्रति असन्तुष्टि व्यक्त हुँदै र आन्दोलन उठ्दै गर्दा १७औं दिनमा भएको टीकापुर घटनाले उब्जाएका प्रश्न अझै अनुत्तरित छन्। मध्य तराई आज पनि टीकापुरप्रति दुःखी छ र जीवनबाट त्यो दिन हटाउन चाहन्छ। यद्यपि, त्यहीं सकिनु त्यो घटनाको सकारात्मक पक्ष रह्यो। टीकापुरमा सल्काइएको आगो त्यसका योजनाकारहरूले चाहेझैं मुलुकका अन्य भागमा सल्केको भए इतिहासले स्वीकार्नै नसक्ने चित्कारहरू सुन्नुपर्ने बाध्यता आउन सक्थ्यो। धन्न, समाज र समुदायले कहिलेकाहीं राजनीतिभन्दा माथि उठेर सोच्ने क्षमता प्रदर्शन गर्न सक्दोरहेछ। राजनीतिक इन्धनले त्यो आगो त्यहीं निभेबाट मधेशवादीको हार र मधेशीको जीत भयो।

मधेश आन्दोलनभित्र बौद्धिक–सांस्कृतिक पक्षको कुनै कमी थिएन। आन्दोलनलाई मानवसाङ्लो र सडक कवितादेखि जागरण नाटकसम्मका मधेशी सभ्यता–शालीनता झ्ल्काउने कार्यक्रमले उठाउँदै थियो। हो, मधेशमा अलि बढी गर्मी छ। सामाजिक रहनसहन पनि मध्यपहाडमा जति चम्किलो नहुन सक्छ, तर सरलता र शालीनताको कमी छैन मधेशमा। भारतसँगको भौगोलिक सामीप्यता मधेशको ठेगाना भए पनि देशको सीमा रक्षामा मधेश कोही भन्दा थोरै कटिबद्ध र कम इमानदार छैन। राष्ट्रियतामा मधेशले कहिल्यै बेइमानी गरेको छैन, खोजिहेरे हुन्छ।

मनोज पण्डितको डकुमेन्ट्री फिल्म 'ग्रेटर नेपाल' मा भारतीय प्रशासनले हाम्रो देशको परिचय बोक्यौ भने यो सुविधा र त्यो सुविधा पाउँछौ भन्दा मधेशीहरूले त्यसलाई तिरस्कार गरेर नेपाली परिचयमा गर्व गरेको दृश्य धेरैले हेरेको हुनुपर्छ। यो मधेशीपन हो र मधेशीको जीत पनि हो, तर दुःखको कुरा मधेशवादीहरू भारतीय दूतावास र दिल्लीले नपुगेर लालु यादवहरू गुहार्न पुगे। यसबाट उनीहरू आम मधेशीको नजरमा पतीत भएका छन्। यो नजरमा पनि मधेशले जितेको छ। १७६ दिन लामो आन्दोलनको क्रममा एउटा पनि साम्प्रदायिक घटना नहुनु मधेशीको अर्को जीत हो। अघिल्ला आन्दोलनहरूमा गैरमधेशी समुदायका व्यक्ति/परिवार मधेशको आफ्नो थातथलोबाट पलायन भएको घटनाले मधेशलाई अझ्ै पोलिरहेको छ। यो आन्दोलनमा त्यस्तो घाउ नथपियोस् भन्नेमा मधेश सचेत रह्यो र सफल पनि भयो।

भारतसँग सीमा जोडिएका २० जिल्ला मधेश हो। मुलुकको केवल १४ प्रतिशत भूभाग ओगटेर ५०.२७ प्रतिशत जनसंख्यालाई आश्रय दिएको मधेशले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदानको बखान गरिरहनुपर्दैन। मधेशी, थारू, मुश्लिम र पहाडी मधेशका मुख्य संस्कृति हुन्। मधेशमा यो बहुसंस्कृतिले जहिल्यै जित्दै आएको छ र कहिल्यै हार्ने छैन।

हामीले गत सात दशकमा ७ वटा संविधान पायौं, ६ वटा राजनीतिक व्यवस्था हेर्‍यौं। यसक्रमका असन्तुष्टिहरू अझै बाँकी छन् र मधेश आन्दोलनले स्थायी अवतरण खोजेको छ। सबभन्दा राम्रो पक्ष चाहिं के भने, आन्दोलनले सामुदायिक सद्भाव कमजोर पार्न सकेको छैन। त्यसलाई कायम राख्नु आन्दोलनकारीको जिम्मेवारी हो। राजनीतिक लडाईंमा हार वा जीत होला, तर सामाजिकताले जित्नैपर्छ। यसपालिको मधेश राजनीतिमा कसले हार्‍यो, अझै स्पष्ट छैन, तर सामाजिकताले जितेको छ। पहाड र हिमाललाई मधेशको आग्रह छ– यो भूगोललाई जित्न सघाइयोस्। जनतालाई बेवास्ता गर्दै भारतीय दूतावास र दिल्ली धाउने मधेश–पहाड–हिमाल सबैतिरका नेताका बारेमा पनि अब गम्भीर रूपले सोच्नुपर्छ।

comments powered by Disqus

रमझम