२-८ फागुन २०७२ | 14-20 February 2016

पानीको कमाल

Share:
  
- जीवनप्रसाद राई
हाम्रा नीतिनिर्माताले धनकुटाको कुरुलेतेनुपा क्षेत्रको पानी समस्यामाथि आँखा पुर्‍याउनु जति जरूरी छ, स्थानीय तहबाटै सम्भव भएको नाम्जेको सफलता जान्नु पनि त्यति नै आवश्यक छ।

हराभरा नाम्जे।
राणाकालबाटै पूर्वाञ्चलको केन्द्रको रूपमा रहेको धनकुटामा स्थापना भएका उत्तरपानी प्राविधिक शिक्षालय, पाखि्रबास कृषि अनुसन्धान केन्द्र, सुन्तला विकास केन्द्र, रेसम विकास केन्द्र आदिका कारण जिल्लाको उत्तरी भेगको कृषिलाई अगाडि ल्यायो। धनकुटा बजारभन्दा उत्तरका क्षेत्रहरूमा व्यावसायिक तरकारी खेती, चिया बगानसँगै पछिल्लो समय फस्टाएको मासु, फलफूल र दुग्ध उद्यम रहरलाग्दो छ। दक्षिणी धनकुटामा भने यसको ठीक उल्टो स्थिति छ।

महाभारत पर्वत श्रृंखलामा रहेको बुधबारे, सौरे, शुक्रबारे, कुरुलेतेनुपा क्षेत्रका कतिपय गाउँलाई पानीको अभावले मानवविहीन बनाइसकेको छ। पहिला मुरीका मुरी धान फल्ने खेतहरू सिरुवारी (बाँझो) मा परिणत भएका छन्। कुरुलेतेनुपाको वडा नं. १, ४ र ८ मा कुवा, धारालगायत पानीका सबै स्रोत सुकेका छन्। कुरुलेतेनुपा उच्च माविका प्राचार्य भक्त सुब्बाले यो क्षेत्रका ३०० परिवार बसाइँ सरेर गइसकेको बताए। कतैबाट बजेट जुटेर खोलाको पानीको समस्या समाधान नभए बाँकी ६४० परिवार पनि अन्यत्रै जान बाध्य हुने अवस्था छ।

गर्दा भएको उदाहरण

आज कुरुलेतेनुपाको जुन अवस्था छ, २०६० सालताका नाम्जे गाविसमा यही अवस्था थियो। खानेपानीको अभाव भएर बसाइँ सर्ने क्रम बढेको थियो। ग्रामीण जनता मावि (अहिले उमावि) का करीब ३०० विद्यार्थीको पढाइ पानीकै अभावमा प्रभावित हुन थालेको थियो। पानीका लागि पहिल्यैबाट पहल गरिरहेका तात्कालीन प्रधानाध्यापक हर्क लामाले अंग्रेजी शिक्षकका लागि 'पीस कर्प्स' स्वयंसेवक केन्द्रमा निवेदन दिएका थिए। त्यसरी आएका भारतीय मूलको अमेरिकी स्वयंसेवी राजीवकुमार गोयल नाम्जेवासीका वरदान साबित भए। एक किलोमीटर तल खोंचको पानी तानेर ल्याउने प्रअ लामाको योजना सफल पार्न गोयलले अमेरिकाबाट रु.३६ लाख उठाएर ल्याए। गाउँलेले रु.६ लाख बराबरको श्रमदान गरेपछि विद्यालय–समुदाय खानेपानी परियोजना सम्पन्न भयो। प्रतिघण्टा १२ हजार लीटर क्षमताका दुइटा मोटर चल्न थालेपछि नाम्जेमा हरियाली फर्केको खानेपानी परियोजनाका अहिलेका अध्यक्ष गुन्जमान मगर बताउँछन्।

उजाड कुरुलेतेनुपा ।
हुन पनि, बसाइँ सरेर गइसकेकाहरू पनि गाउँमा पानी आएपछि फर्केर आए, कोही व्यावसायिक तरकारी खेती त कोही होमस्टे संचालनमा लागे। अहिले नाम्जेमा अतिथिलाई फूलमाला लगाएर स्वागत गर्ने चलन बसेको छ। यहाँको रायोसाग भारतीय बजारमा नामी भएको छ। तरकारी उत्पादनले प्रत्येक घरमा बाह्रैमास नगद भित्रिरहेको छ। गाउँमा ठूल्ठूला पक्की घरहरू बन्दैछन्। पानीको सदुपयोगले गाउँमा कति फरक पार्छ भन्ने नमूना भएको छ, नाम्जे।

नाम्जेमा उत्पादित साग, मूला, गोलभेंडा, गाजर, केराउ, बन्दा, काउलीलगायतका तरकारीको स्थानीय बजार भेडेटार हो भने ठूलो बजार धरान। खास सिजनका तरकारीहरू धरानबाट इटहरी, विराटनगरहुँदै भारतसम्म पुग्छन्। भेडेटार होटल व्यवसायी संघका सल्लाहकार विष्णुराज श्रेष्ठ नाम्जेले कृषि र पर्यटनलाई सँगसँगै अगाडि बढाएको बताउँछन्। चिसो हावापानी भएको नाम्जेले यसरी वार्षिक रु.८–१० करोडको कारोबारको अवसर सिर्जना गरेको छ।

नाम्जेमा खोलाबाट तानेर ल्याएको पानीलाई थोपा–थोपा उपयोग गरिएको छ भने नजिकको बजारले त्यसलाई सफल बनाएको छ। स्थानीय स्रोतसाधनको उपयोगमा बजार र पर्यटनसँग तालमेल मिलाउने काम स्थानीय अगुवाहरूले गरेका छन्। यो देख्नमा सानो छ, तर व्यवस्थापनको हिसाबले धेरै गहन छ।

comments powered by Disqus

रमझम