२-८ फागुन २०७२ | 14-20 February 2016

मनकारीको भर

Share:
  
- सविता श्रेष्ठ
सरकारी सहयोगले होइन, मनकारीको सहयोगभावले देशभरका अधिकांश बालगृह र आश्रम चलिरहेका छन्।

बिक्रम राई
आफ्नो जन्मदिनमा पशुपति वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई खाना खुवाउँदैधापासी, काठमाडौंकी दीपमा गुरुङ।
धापासी, काठमाडौंकी दीपमा गुरुङले १२ माघमा पशुपति वृद्धाश्रमका ज्येष्ठ नागरिकहरूसँग आफ्नो ८औं जन्मदिन मनाइन्। उनले तीन वर्षदेखि यसैगरी जन्मदिनलाई विशेष बनाउँदै आइरहेकी छन्। छोरीमा सेवाभाव जागोस् भनेर यस किसिमको जन्मदिन मनाइदिने गरेको बुबा दीपक बताउँछन्। उनी भन्छन्, “घर वा रेस्टुरेन्टमा पार्टी गर्ने रकमले आश्रमलाई सहयोग पनि भएको छ।”

एअरहोस्टेज सरिता चन्दले अमेरिकामा रहेकी भदैनी कृषा साउद (२) को जन्मदिनका अवसरमा पहिलो वर्ष जस्तै धुम्बाराहीस्थित 'बाल संरक्षण हाम्रो धरोहर' का बालबालिकालाई शैक्षिक सामग्री र खाजा बाँडिन्। उपहार पाउँदा बालबालिकाको मुहारमा देखिने खुशीले आफूलाई विभोर बनाएको उनी बताउँछिन्। हुन पनि, नेपालमा सरकारी स्वामित्वका सीमित संस्थाबाहेक समाजसेवीहरूले निजीस्तरमा खोलेका अधिकांश अनाथालय/आश्रमहरूलाई मनकारी नागरिकहरूको यस्तो सहयोगले ठूलो भरथेग गरेको छ।

सानो सहयोग, ठूलो काम

पुष्पा बस्नेतले ११ वर्षदेखि बूढानीलकण्ठमा खोलेको बटरफ्लाई होम (अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर) लाई द ग्लासवाटर फाउण्डेशन, शिक्षा फाउण्डेशन, सुन्दर संसार जस्ता संस्थाले सहयोग गरिरहेका छन्। तर, त्यसैको भरमा मात्र संस्थाका ४३ बालबालिकाको गुजारा चल्दैन। “दातृसंस्थाबाहेक चिनजानका साथीहरूको सहयोगले नै भरथेग गरेको छ”, सन् २०१२ की सीएनएन हिरो पुष्पा भन्छिन्, “यस्तो सहयोग धेरै बच्चाको पढाइमा खर्च हुन्छ।”

तीन वर्षअघि हेटौंडामा खोलिएको मानवसेवा आश्रमले सडकबाट उद्धार गरिएका ११७ जनालाई चितवन र काठमाडौंमा आश्रय दिइरहेको छ। आश्रमका सञ्चालक रामजी अधिकारी पनि व्यक्तिगत रूपमा प्राप्त सहयोगले नै आश्रम धानिएको बताउँछन्। “आश्रमलाई नियमित मासिक सहयोग गर्ने ६० जना छन्”, रामजी भन्छन्, “यसबाहेक जन्मदिन, आफन्तको सम्झ्नामा आश्रममा खाना खुवाउनेको सहयोगले महीनाको १५ छाक टर्छ।” उनी 'एक व्यक्ति एक बोरा सिमेन्ट अभियान' मार्फत सहयोग जुटाएर हेटौंडा ९ को लामसुरे धाप र हेटौंडा २९ को नेवारपानीमा रु.५ करोडको लागतमा आश्रम भवन निर्माणको तयारी भइरहेको पनि बताउँछन्।

आफ्नो जन्मदिनमा हेटौंडास्थित मानव सेवा आश्रममा खाना खुवाउँदै गणेश भेटवाल।
केन्द्रीय बालकल्याण समितिका अनुसार, देशभर ५७७ बालगृह छन्। समितिकी कार्यक्रम व्यवस्थापक नमूना भुषाल पनि व्यक्तिगत सहयोग विना बालगृह सञ्चालन गर्नै गाह्रो हुने स्वीकार गर्छिन्। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको ज्येष्ठ नागरिक संरक्षण शाखाका अनुसार चालू आर्थिक वर्षमा ७८ वृद्धाश्रमले अनुदान पाएका छन्। अनुदान पाएका बाहेक अन्य वृद्धाश्रम कसरी चलिरहेका छन् भन्ने जानकारी मन्त्रालयलाई छैन।

समाज कल्याण केन्द्रद्वारा सञ्चालित पशुपति वृद्धाश्रममा आव २०७१/७२ मा ३११ छाक खाना दाताले खुवाएका थिए भने यो आवको माघ दोस्रो सातासम्म १७० छाक खानाका लागि सहयोग आएको वृद्धाश्रमका कार्यालय प्रमुख मनोजकुमार बस्नेत बताउँछन्। आश्रममा हाल २१० वृद्धवृद्धा छन्। खानाबाहेक दाताले कपडा पनि सहयोग गरिरहेका छन्।

खुशी बाँडे दोब्बर

उपचारका लागि मंसीरमा काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर दर्शनका लागि पुगेका दमक, झापाका केदारसिंह (७६) र सुभा कार्की (६७) दम्पतीलाई आडैमा रहेको वृद्धाश्रम हेर्ने मन लाग्यो। त्यहाँबाट फर्केपछि यो दम्पतीले बुद्धवृद्धालाई कम्तीमा एक दिनको खाना खुवाउने निर्णय गरे। २ पुसमा कार्की दम्पतीले बिहानको खाना आश्रमका वृद्धवृद्धासँगै खाए। केदार भन्छन्, “हामी पनि बूढाबूढी भइसक्यौं, कोही नभएकालाई एक छाक खुवाए पनि आनन्द लाग्ने रहेछ।”

तपेश्वरी–१ उदयपुरका अरुण राई (२८) पोर्चुगलको लिस्वनमा अरुण हेयर शैलून चलाउँछन्। तीन वर्षअघि त्यहाँ पुगेका उनी आफूले पाएको 'टिप्स' लाई छुट्टै राख्छन्। पहिलो वर्ष संकलन भएको रु.७० हजार टिप्स उनले बराहक्षेत्र, सुनसरीको रामशान्ति कुञ्ज अनाथ महिला सेवा आश्रमलाई दिए। दोस्रो वर्षको टिप्स धरानस्थित बाल स्याहार गृहलाई रु.७५ हजार पठाए। “यो वर्ष अनाथ बालबालिकालाई सहयोग गर्छु”, उनी भन्छन्, “यसो गर्न सक्दा मलाई भित्रभित्रै आनन्द हुन्छ।”

हेटौंडा–२९ बस्तीपुरका गणेश भेटवाल (४१) ले ५ माघको आफ्नो जन्मदिन हेटौंडास्थित मानव सेवा आश्रममा खाना खुवाएर र इलेक्ट्रिक फिल्टर सहयोग गरेर मनाए। आम्दानीको केही हिस्सा सहयोग गर्नु दायित्व ठान्ने उनी पाँच वर्षदेखि जन्मदिनमा अनाथालय, आश्रम तथा अस्पतालका बिरामीलाई सहयोग गर्दै आएका छन्।

“पहिलो वर्ष उठेको रु.७० हजार टिप्स सुनसरीको रामशान्ति कुञ्ज अनाथ महिला सेवा आश्रमलाई दिएँ। दोस्रो वर्षको रु.७५ हजार धरानस्थित बाल स्याहार गृहलाई पठाएँ, यो वर्ष अनाथ बालबालिकालाई सहयोग गर्छु।”

अरुण राई

उदयपुर

समाजशास्त्री गणेश गुरुङ यसखाले समाजसेवामा युवाको सक्रियता जबर्जस्त देखिएको बताउँछन्। “देशप्रतिको चिन्ताले युवालाई सिर्जनात्मक बन्ने प्रेरणा दिएको छ”, उनी भन्छन्, “सेवा गरे आत्मसन्तुष्टि हुन्छ।” सहयोगको चलन परम्परागत नै भए पनि आफ्नो खुशीमा उत्सव मनाउन सहयोग हस्तान्तरण कार्यले फजुल खर्च घटाउने गुरुङको भनाइ छ।

comments powered by Disqus

रमझम