२-८ फागुन २०७२ | 14-20 February 2016

ढोका बनाउनुअघि

Share:
  
घरको सुरक्षा र सौन्दर्यमा महत्वपूर्ण ढोकाको निर्माणमा हेलचेक्र्याईं गर्नुहुन्न।

कुपन्डोल, ललितपुरका प्रशान्त श्रेष्ठले ८ वर्षअघि घर बनाउँदा बार्दलीमा काठका ढोका राखेका थिए। घाम–पानीले ती ढोका बिगारेपछि अहिले काठकै फ्रेममा आल्मुनियमका पाता जडान गरेका छन्। “पहिले कहाँ, कस्तो ढोका राख्नुपर्छ भन्ने जानिएन”, उनी भन्छन्, “घरबाहिर काठको सट्टा स्टील वा आल्मुनियमका ढोका राखे राम्रो हुनेरहेछ।”

प्रशान्तले झ्ौं घरको इन्टेरियर (भित्री भाग) र एक्स्टेरियर (बाहिरी भाग) मा बेग्लाबेग्लै थरीका ढोका राख्नुपर्छ भन्ने कुरामा कमैले हेक्का राख्ने गरेका छन्। दुर्गाश्री फर्निचर, धापासीका उत्तम पनेरुका अनुसार कतिले त शौचालयमा समेत काठकै ढोका राख्ने गरेका छन्। “पानी पर्ने ठाउँमा काठका ढोका भन्दा आल्मुनियम वा फाइबरका ढोका ठीक हुन्छन्।”

हामीकहाँ प्रायः काठका झ्याल–ढोका प्रचलनमा छन्। काठमा अनेक बुट्टा कुँदेर आकर्षण थप्ने पनि गरिन्छ। “धेरैले घरको मूल ढोकामा मयुरको बुट्टा बनाउन रुचाउँछन्”, बसन्तपुर दरबार स्क्वायरस्थित काष्ठकला कम्पनीका सेतुराम महर्जन भन्छन्, “यस्ता ढोका निकै गह्रौं, दह्रो र सुन्दर हुन्छन्।”

आकार/प्रकार

ढोका राख्दा स्थानअनुसारको वस्तु छनोट गर्नुपर्छ। त्यसका विशेषता र आयुमा पनि होश पुर्‍याउनुपर्छ। ढोका उघार्दा र बन्द गर्दा कतापट्टि घुम्छ याद गर्नुपर्छ। “दायाँपट्टि ह्यान्डल राखेका ढोका खोल्न आफूतिर तान्नुपर्छ भने बायाँतर्फ ह्यान्डल भएकामा भित्र धकेल्नुपर्छ”, दुर्गाश्री फर्निचरका पनेरु भन्छन्।

नयाँ ढोका बनाउँदा होस् वा पुराना मर्मत गर्दा, फ्रेमिङलाई बेवास्ता गर्नुहुन्न। सस्तो वा कमसल फ्रेम प्रयोग गरे ढोका चाँडै बिग्रन्छ। सडक, अस्पताल, विमानस्थल, पार्टी प्यालेस आदिको छेउमा घर भएमा ध्वनि प्रतिरोधात्मक ढोका राख्नुपर्छ। यसका लागि साउन्ड टेस्टिङ क्लास (एसटीसी) स्केलमा नापिएका ढोका लगाउनुपर्छ।

फ्लस डोर

प्लाइउड वा मेडियम डेन्सिटी फाइबर बोर्ड (एमडीएफ) बाट बनाइने यस्ता ढोका घरभित्रका कोठाहरूमा राख्नु उपयुक्त हुन्छ।

फोल्डिङ डोर

प्रायः दराज र लाउन्ड्री रुमका लागि बनाइने ढोकालाई बाइफोल्ड डोर पनि भनिन्छ। यस्ता ढोकाको प्रयोगले एउटै कोठालाई पनि पार्टेसन गर्न सकिन्छ।

प्यानल डोर

घरबाहिर बढी प्रयोग भइरहेको यो ढोका विभिन्न डिजाइन र आकारमा बनाउन सकिन्छ। निर्माण र जडानमा सजिलो भए पनि प्यानल महँगो हुन्छ। ढोका दिनहँु सफा गर्नुपर्छ।

पकेट डोर

सानो ठाउँमा पनि जडान गर्न सकिने भएकाले यस्ता ढोकालाई 'स्पेस सेभर डोर' पनि भनिन्छ। कोठालाई आधुनिक देखाउन सघाए पनि खोल्दा र बन्द गर्दा आवाज आउने भएकाले कतिपयले यो ढोका रुचाउँदैनन्।

comments powered by Disqus

रमझम