२-८ फागुन २०७२ | 14-20 February 2016

भ्यालेन्टाइन किस

Share:
  
- डा. सुमनराज ताम्राकार
मानिसहरुबीच भौतिक वा भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउने चुम्बन रोग सार्ने माध्यम पनि हो।

आज १४ फेब्रुअरी, अर्थात् सेन्ट भ्यालेन्टाइन्स डे। सेन्ट भ्यालेन्टाइन वात्सल्य, श्रद्धा, आदर, सद्भाव र प्रेमका प्रतीक हुन्। वात्सल्य, श्रद्धा, आदर, सद्भाव र प्रेमदेखि कामवासनासम्म प्रकट गर्न चुम्बनको सहयोग लिइन्छ। सद्भाव व्यक्त गर्ने भौतिक प्रस्तुतिका क्रममा दुई व्यक्तिबीच स्पर्श, गन्ध, स्वादको सहभागिता हुन्छ। स्पर्शजन्य भौतिक प्रस्तुतिको सर्वाधिक प्रचलित माध्यम चाहिं चुम्बन नै हो। यस क्रममा एक जनाको ओंठले अर्को व्यक्तिको ओंठ वा शरीरका अन्य भागमा हल्का वा गहिरो स्पर्श हुन्छ।

प्राचीन कामशास्त्रले चुम्बनलाई यौन अपीलको आधारमा १५ किसिममा वर्गीकरण गरेको छ। आधुनिक समयमा फ्रेन्च किस, बटरफ्लाई किस, आइस किस, फ्रुटी किस, एअर किस, फ्लाइङ किस आदि प्रचलनमा छन्। फ्रेन्च किसमा ओंठ चुस्ने अनि मुखभित्र जिब्रो घुसारी चलाउने गरिन्छ। अभिवादन वा बिदाइ गर्दा ओंठ वा गालामा छोटो र छिटो चुम्बन गरिन्छ। कतिपय देशमा अभिवादन वा बिदाइमा दुवै गालामा पालैपालो तीन–चार पटक चुम्बन गर्ने चलन छ। यौन कार्य अगाडि बढाउन चाहिं ओठका साथै शरीरका अन्य संवेदनशील भागहरूमा गहिरो किसिमको चुम्बन हुन्छ। पशुपक्षीदेखि कीटपतङ्गसम्मका यौन गतिविधिमा प्रकृतिले चुम्बनको महत्वपूर्ण अभ्यास गराएको हुन्छ। यो सम्बन्धमा 'परेवा चुम्बन' प्रसिद्ध छ। परेवाले चुम्बनसहितको पाकक्रीडा पछि मात्र यौनसम्बन्ध कायम राख्छ। चुम्बनको विषयमा 'गिनिज बूक अफ वर्ल्ड रेकड्स' मा थरीथरीका रेकर्ड स्थापित छन्। यी सबको प्रभावले हुनसक्छ, हिजोआज नेपालका पनि शहरी क्षेत्रका कतिपय स्पटहरूमा जोडीहरूले प्रेमालाप र अधरपान गरिरहेका दृश्यहरू सामान्य बन्न थालेका छन्।

पन्ध्रौं शताब्दीको फ्रान्समा युद्धमा जान लागेका र सकुशल फर्केका योद्धाहरूलाई युवतीहरूले चुम्बन गरेर बिदाइ वा स्वागत गर्थे। एकताकाको इटालीमा चुम्बनलाई यौन सम्पर्क बराबर मानिन्थ्यो। चुम्बन गरेको थाहा पाए त्यस्ता जोडीलाई विवाह गर्न बाध्य पारिन्थ्यो। अहिले कतिपय मुस्लिम राष्ट्रहरूमा त्योभन्दा खराब स्थिति छ। चुम्बनको आशय यौन मात्र हुँदैन। अनुहार, हात वा जीउ सुम्सुम्याएर वा चुम्बन गरेर भौतिक तथा विभिन्न किसिमको भावनात्मक सान्निध्य अनुभूत गरिन्छ। विश्वका कतिपय समाजमा फोहोर र अन्धविश्वासका कारण चुम्बन गरिंदैन।

यौन आशयका चुम्बन स्वभावैले 'डिप' किसिमको हुन्छ। यस्तो चुम्बनले एड्रिनालिन हर्मोन पैदा गरेर दुवैको शारीरिक ताप, रक्तचाप, मुटुको धड्कन वृद्धि गरिदिन्छ। यस्तो शारीरिक अवस्था स्वास्थ्यको लागि पनि राम्रो हुन्छ। चुम्बनका क्रममा अनुहारका ३४ मांसपेशी प्रयोगमा आउँछन् भने एक मिनेट चुम्बन गर्दा २६ क्यालोरी खर्च हुन्छ। चुम्बनले रक्तसंचार एवं मांसपेशीको कसरत बढाएर छालामा चमक ल्याउँछ। चुम्बनले दुवै जनालाई आनन्दित बनाउने र तनाव कम पार्ने त छँदैछ, रक्तचाप नियन्त्रणमा पनि भूमिका खेल्ने मानिन्छ।

चुम्बनको एउटै खराब पक्ष भनेको कतिपय संक्रामक रोगको माध्यम हुनु हो। चुम्बनमा र्‍यालको माध्यमबाट इन्फेक्सियस मोनोन्यूक्लियोसिस, हर्पिसलगायत एचआईभी पनि सर्न सक्छ। एकको मुखमा घाउ वा अल्सर छ भने संक्रमण सर्ने डर बढी हुन्छ। दाँत, गिजा वा घाँटीको संक्रमणको कारणले सास गन्हाउने समस्या छ भने उपचार गराउनुपर्छ। यौनाङ्गमा, खुट्टाको औंलामा चुम्बन गर्ने/गराउने मनसाय हुँदा ती अङ्गको सरसफाइमा ध्यान पुर्‍याउनुपर्छ।

चुम्बन बलजफ्ती गर्ने कार्य होइन। पार्टनरको स्वीकृतिमा मात्र चुम्बन गर्नुपर्छ। चुम्बनका पारखीहरूले मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। आफ्नो पार्टनरको चाहना वा गुनासो अनुसार चुरोट, पान, सुपारी, पानपराग, गुट्खा, खैनी र मद्यपानबाट अलग रहनुपर्छ।

comments powered by Disqus

रमझम