२-८ फागुन २०७२ | 14-20 February 2016

प्रेममय पर्दा

Share:
  
प्रेम प्रस्ताव, उपहार र पार्टी जस्ता उत्सव हुँदै विस्तारै समाजमा घुसेको भ्यालेन्टाइन डे चलचित्रको पर्दासम्म आइपुगेको छ।

दशकयता नेपाली समाजमा चढ्दो भ्यालेन्टाइन डेको ज्वरो विभिन्न आयाममा प्रकट हुन थालेको छ। युवाका प्रेमिल मनसँगै सञ्चालित उपहार बजार त छँदैछ, चलचित्र समेत १४ फेब्रुअरीकै दिनलाई लक्ष्य बनाई प्रदर्शन गर्न थालिएको छ।

क्लासिक र प्रेम गीत ले सेन्ट भ्यालेन्टाइनको प्रेमगाथाका नयाँ भर्सन प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्। दिनेश राउत निर्देशित क्लासिक मा आर्यन सिग्देल र नम्रता श्रेष्ठ दृष्टिविहीन जोडी बनेका छन्। सुदर्शन थापाको निर्देशनमा तयार प्रेम गीत मा नयाँ कलाकार प्रदीप खड्का र पूजा शर्माको रोमान्स देखिन्छ।

फिल्म क्लासिक मा आर्यन सिग्देल र नम्रता श्रेष्ठ।

प्रेम गीत मा प्रदीप खड्का र पूजा शर्मा
क्लासिक को कथाकै कारण एक वर्षअघि नै चलचित्र भ्यालेन्टाइन डेमा प्रदर्शनको घोषणा गरिएको राउत बताउँछन्। भन्छन्, “चलचित्र सबैका लागि भए पनि यो दिन धेरै जोडी हलसम्म तानिने विश्वास छ।” राउतले यसअघि निर्देशन गरेका आई एम सरी र नोभेम्बर रेन पनि प्रेमकथामै आधारित थिए। थापा पनि भ्यालेन्टाइन डेलाई नै ध्यान दिएर चलचित्रको नाम नै प्रेम गीत राखेको बताउँछन्। “रोमान्टिक नयाँ जोडीको कथा भएकोले प्रेम दिवसमा चलचित्रले थप लाभ पाउने विश्वास छ”, थापा भन्छन्।

क्लासिक की नायिका नम्रता श्रेष्ठ अहिलेका चलचित्र दर्शकको मनोविज्ञान बुझेर बनिरहेको बताउँछिन्। फिल्म निर्माणको समय, मौसमदेखि सामाजिक परिवेश समेत ध्यानमा राखी बनाइएकाले क्लासिक ले भ्यालेन्टाइन डे 'सेलिबे्रट' गर्ने उनको धारणा छ। यसअघि मौन मा श्रवणशक्ति गुमाएकी युवतीको भूमिकामा देखिएकी उनले यस चलचित्रमा दृष्टिविहीनसँग संगत बढाएकी थिइन्।

भ्यालेन्टाइन डेसँगै जाडोलाई विचार गरी चलचित्र बनेको बताउँदै क्लासिक नायक आर्यन भन्छन्, “प्रेममा आधारित भएकाले यो समय छानिएको हो तर जुनसुकै वेला पनि चल्ने चलचित्र हो, यो।”

एक वर्षअघि स्केप फिल्मबाट अभिनय शुरु गरेका प्रदीप खड्का र अझै पनि, चंखे शंखे पंखे, मधुमास जस्ता फिल्ममा काम गरिसकेकी पूजा शर्मा पनि यसपटकको भ्यालेन्टाइन डेबाट आशावादी छन्। प्रेम दिवसमा जोडीसँग अढाइ घण्टा बिताउन र प्रेमको संसारमा हराउन प्रेम गीत राम्रो विकल्प भएको नायक प्रदीपको भनाइ छ।

अनुशील श्रेष्ठ

comments powered by Disqus

रमझम