२-८ फागुन २०७२ | 14-20 February 2016

बिर्सनलायक प्रतियोगिता

Share:
  
कमजोर व्यवस्थापनले नेपालका लागि १२औं दक्षिण एशियाली खेलकुद दुई दशकयताकै खराब बनेको छ।

गोपेन राई
१२औं सागमा प्रतिस्पर्धा गरेर फर्केका खेलाडी २९ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा।
१२औं दक्षिण एशियाली खेलकुद (साग) मा उसुमा स्वर्ण पदक जितेर फर्केकी निमा घर्ती मगरसहितका खेलाडीको स्वागतमा २९ माघ बिहान १० बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका शुभचिन्तक, आफन्त तथा खेलप्रेमीहरूले पाँच घण्टा कुर्नुपर्‍यो। पर्खाइमा अर्को समूह पनि थियो जो स्वागत होइन, विरोधमै उत्रेको थियो। प्रशिक्षक र म्यानेजरको लापरबाहीले उसुका ९ खेलाडी भारतमै छुटेका भन्दै उनीहरू आक्रोशित देखिन्थे।

२२ माघबाट गुवाहाटी र सिलोङमा शुरु भएको १२औं सागमा देखिएको नेपालको प्रदर्शन दुई दशकयताकै कमजोर हो। २९ माघसम्ममा नेपालले एक स्वर्णसहित जम्मा ३३ पदक मात्र हात पारेको छ। सन् १९९५ मा भारतको मद्रासमा भएको सातौं सागमा चार स्वर्ण जितेको नेपालले त्यसको चार वर्षपछि काठमाडौंमा सम्पन्न आठौं सागमा ३२ स्वर्णसहित ६५ पदक जितेर दोस्रो स्थान हासिल गरेको थियो।

आठौं सागमा कराँतेमा स्वर्ण पदक जितेका दीपक श्रेष्ठ त्यो वेला प्रतियोगिताको नौ महीना पहिलेदेखि नै तयारी थालिएको बताउँछन्। तर, यसपटक प्रतियोगिताको एक महीनाअघिदेखि मात्रै तयारी गरिनु, सरकारले वेलैमा आवश्यक रकम निकासा नगर्नुले प्रदर्शन खस्किएको उनको भनाइ छ। त्यसबाहेक प्रशिक्षक र चिकित्सक छनोटमा भएको हेलचेक्र्याईंको सोझो असर पदक तालिकामा देखियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको महासचिव समेत रहेका श्रेष्ठ आवश्यक प्रशिक्षण र 'एक्स्पोजर' को अभावमा उसुको सान्सौ र थाउलोमा ६ खेलाडी फाइनलमा पुगेर पनि स्वर्ण पदकविहीन हुनु परेको बताउँछन्।

पौडीमा १३ वर्षीया गौरिका सिंहको कीर्तिमानी प्रदर्शन, पुरुष–महिला फूटबल, उसु, स्वीमिङ, हक्की, टेबलटेनिसलगायतमा मात्रै नेपालको सम्झनलायक प्रदर्शन रह्यो। सन् १९८४ मा सागको ऐतिहासिक पहिलो संस्करणको आयोजक नेपालले तत्काल व्यवस्थापनमा आमूल परिवर्तन नगर्ने हो भने काठमाडौंमै हुने १३औं सागमा अर्को लज्जास्पद नतीजाको सामना गर्ने पक्का छ। अबको सागमा आठौं सागको अनुभव सदुपयोग गर्नुपर्ने बताउँदै श्रेष्ठ भन्छन्, “भोलिदेखि नै तयारी नथाल्ने हो भने आउँदो साग निराशाको निरन्तरता मात्र हुनेछ।”

सन्त गाहा मगर


गर्विली गौरिका

आमाबाबुसँग बेलायत बस्दै आएकी गौरिका सिंह २०७१ मा विदा मनाउन आएकै वेला काठमाडौंमा १९औं राष्ट्रिय युवा खुला पौडी प्रतियोगिता हुँदैथियो। बाबु पारस सिंह र आमा गरिमा राणाले छोरीलाई प्रतियोगितामा सहभागी गराए। बेलायतमा दुई वर्ष पौडी प्रशिक्षण लिएकी गौरिकाले ५० मिटर ब्याकस्ट्रोकदेखि २०० मिटर फ्रिस्टाइलमा समेत गरी सात राष्ट्रिय कीर्तिमान राखिन्।

एक वर्ष पहिला मात्रै कीर्तिमानधारी पौडीवाजको चिनारी बनाएकी १३ वर्षीया गौरिकाले २७ माघमा गुवाहाटीस्थित डा. जाकिर हुसेन अक्वाटिक्स कम्प्लेक्समा अर्को कीर्तिमान राखिन्। ४०० मिटर फ्रिस्टाइल, १०० र २०० मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमानसहित कास्य पदक जित्न सफल गौरिकाले २०० मिटर इन्डिभिजुअल मिड्लेमा रजत पदक नै हात पारिन्। पौडीको यो विधामा नेपालले अहिलेसम्म रजत पदक जितेको थिएन।

comments powered by Disqus

रमझम