चार वर्षअघि छोरी निमाले बुबालाई उसु सिक्छु भन्न थालिन्। आत्मरक्षा र स्वास्थ्य पनि राम्रो हुने भएकाले उनले छोरीलाई रोकेनन्। प्रशिक्षण क्लबमा छोरीलाई पुर्याउन र लिन उनी आफैं जान्थे।
२६ माघमा दक्षिण एशियाली खेलकुद (साग) मा १६ वर्षीया उनै निमाले उसुअन्तर्गत थाउलोको नानक्वानमा स्वर्ण पदक जितिन्। त्यसयता मन्सुरले फोनमा दिनको २०० जति कल 'रिसिभ' गरिरहेका छन्। अधिकांश कलमा 'छोरीको सफलताका लागि बधाई' थापिरहेका छन्। “खेलकुदमा लाग्दा स्वास्थ्य राम्रो हुन्छ भन्ने थाहा थियो तर यत्रो सम्मान पाइन्छ भन्ने सोचेकै थिइनँ”, २९ माघमा छोरीको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका मन्सुर भन्छन्।
ललितपुरको सिद्धिपुरस्थित नेपाल डनबोस्को स्कूलमा कक्षा १० मा पढिरहेकी निमा चाहिं अरुले खेलेको देखेपछि रहर लागेर क्लबमा भर्ना भएको बताउँछिन्। प्रशिक्षकले प्रोत्साहित गरेपछि थप मिहिनेत गरेर खेल्न थालेकी उनलाई पदक जित्ने सपना धेरै पछि मात्र पलाएको हो। जवाहरलाल नेहरु स्पोर्टस् कम्प्लेक्सको इन्डोर हलमा ८.४६ अंक ल्याएर स्वर्ण जितेपछि निमाले सबैभन्दा पहिले उनै प्रशिक्षक निरञ्जन आलेलाई सम्झिन्।
देश–विदेशमा हण्डर खाएका बुबाले पदक जितेको दिन फोनमा बधाई दिंदै सफलतामा 'घमण्ड नगर्नु' भनेको पनि उनलाई थाहा छ। २०१४ मा दक्षिण कोरियामा सम्पन्न एशियाडमा छनोट भएर पनि समयमै राहदानी प्रक्रिया पूरा नगरेका कारण जान नपाएर रोएकी उनलाई बाबुआमाले 'अर्को अवसर आउँछ' भनी सम्झाएका थिए।
सागको सफलताले आफूमा थप जिम्मेवारीबोध भएको निमा बताउँछिन्। उनी भन्छिन्, “हिजो रहरले खेलेकी थिएँ, अब देशका लागि खेल्नुपर्ने दायित्व छ। अहिले जस्तै पदक जितेर देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन चाहन्छु।”
*सन्त गाहा मगर *