९-१५ फागुन २०७२ | 21-27 February 2016

साग विलौना

Share:
  
- महेश थापा
भकुन्डेहरूले सागको स्वर्ण भिर्‍याउँदा र सिंगो देश रमरमिंदा आफू भने नुन हसुरेको कुखुरो भइयो!

भानु भट्टराई
कर्मै खोटो, खप्परलाई के दोष दिनू! संसारीहरूले जस्तो देखे, त्यस्तै बके। मनको दुखडा कसलाई कहूँ? बैरीहरूका मुखिन्जी छाती पिटीपिटी रुनु झ्न् कसरी? भू्रणहत्तेमा फसियो। 'नाच् भकुन्डे नाच्' भन्दै जगसँगै कम्मर मट्काउन यो मन नछट्पटाएको होइन, तर 'लोकले के भन्ला, बेशरम्' भन्दै भेजाले सातो टिप्छ। तर, यो मन त आखिर एउटा भकुन्डेकै हो नि!

जे नहोला भन्थें, त्यही भएर मर्‍यो। बोन्धु भूमिमा बंगबन्धु कप जित्दा भवितव्य पर्‍यो भन्ठानी जेनतेन चित्त बुझाइएको थियो। जित्न बिर्साइएका बौवाहरूले घरीघरी ढुकुर नमार्लान् भन्ने थियो, तर झारपातहरू त तरबार भएर पो निस्किएका रहेछन्। बेनामी फुच्चाले युरोपियन खेलाडीलाई जिल्याउने गरी 'कर्ली' गोल दागे। निर्णायक घडीमा फट्याङ्ग्रो स्टाइलमा गोल ठोके। टिउरे मोराहरूले छिप्पट अर्नालाई बैठी गराएर साग मुठ्याउँदा आफ्नो भाउ झयास बराबर हुन गयो। गरे सकिंदोरहेछ, खेले जितिने रहेछ, नारन!

ओरालोमार्गी भएको जर्खरो साँढलाई सागधरिले ख्यार्दो रै'छ। अहिले साँढे भनुन् कि स्याल, यो वनमा मेरै रजगज चल्थ्यो। ट्याम–ट्यामको बात हो भन्थे, अहिले यो दिन देख्नुपर्‍यो। आफ्ना त अन्नदाताहरूकै बिल्लीबाठ भयो। सत्यानाशीहरूले यही वेला 'एक नम्बरी लोदर यही हो' भन्दै ठुँङेर जात्रा गरे। अब त भकुन्डेभूत सावित गर्न झ्न् ढ्याङ्ग्रो ठटाउने होलान्, ठटाइसके भन्नुस्। उता भर्चुअल संसारमा पड्केहरू कामेका छन्, यता आफूलाई मोबाइलमा वाई–फाईको 'सिंग्नल' देख्दैमा रिंगटा लाग्छ। सठियाएको वकीलले यहीबीचमा 'प्रत्यक्षम् किं प्रमाणम्, श्रीमान्' भन्दै अदालतमा दलील पेशेमा उरन्ठेउलो न्यायाधीशले झ्ट्ट फैसला सुनाएर जरो–किलो उडाइदिने पिरलोले निंद हराम गरेको छ।

नभएको जिनिसको फिराकमा अरूको घराँ सेंध मार्न मिल्दैन, आफूसँग भएकै माल बेच्ने हो। खेलाडीहरूले कम खराब विकल्प छनोट गरे भन्छु। खेलमा झेलको प्रसङ्गमा छेदीलालहरू नोटमा भोट साटेको विषय सरहको छेडखानीमा ओर्लन्छन्। खेल मिलेमतोबारे मेरो 'सच्ची' को जवाफमा उनीहरूले 'मुच्ची' भन्दै उडाउँछन्। तर, खेलाडीहरूलाई सामूहिक किरिया खुवाएकै हुम्, कारबाही नै नगरेको फत्तुर कस्नु सरासर अन्याय हो। जता मुन्डी घुमाए'नि खेलाडीहरूको व्यवसायीकरण हुन नसकेको भाउँटो तेर्स्याएर हत्तु पारे। तिर्ताले खेलाडीहरूले अग्रगामी टाइपको बुर्कुसी मारेर नेपाली फूटबललाई एकै झ्मटमा व्यापारिक कित्तामा पुर्‍याए। क्रमभङ्गगता र छलाङमार्फत बजारु सफलता दिलाएका कर्मठहरूप्रति थोडा फर्ज बन्थ्यो, बिकाउ स्किलधारीहरूको खिदमत गर्ने मनसुवाका साथ उनीहरूलाई घर–कार टक्र्याउँदा मैले के बिराएँ? विपक्षी पोष्टमा आसपास खेलेको, गोल नठोकेको भन्दै नकेल कस्दा खेलाडीको वैयक्तिक स्वतन्त्रताको हक धरापमा पर्थ्यो।

फेरि, हारेर जित्नेलाई नै बाजीगर भन्ने हो। जिन्दगी च्याँखे थापेर पसिनाको खोलो बगाउँदै मेडल भित्र्यायो, सरकार भनाउँदाले दोसल्लामै निप्टाइदिन्छ। त्यस्तो इजेतको अचारसँग कुन गाँस निल्नु? बरु अमि्रकाने डलरवृष्टि हुने 'गौरवपथ' का अनुगामी नै असली खेलाडी हुन्। गोल गर्‍यो, गोलकै दुःख। खेलप्रेमीको चिन्ता, चासो र अपेक्षा बढ्दा खेलाडीको माथा गरम र जेब हलुको हुन्छ। त्योभन्दा त हाताहाती नगद दिलाउने हार ज्यादा पोसाउँछ। ज्यानलाई धपेडी पनि भएन, परिणामको चिन्ता पनि रहेन!

यस्तो विराट मनोभाव बोकेर दशकौंसम्म भकुन्डो जगतलाई नचाइयो, तर लास्टाँ आफैं फक्कड भइयो। अगस्ति बन्ने चक्करमा न हाताँ भकुन्डोको कमान रह्यो न भकुन्डेका रूपमा आर्जेको नामै बाँकी रह्यो। नकटो बनी स्वर्ग देख्नुलाई घाटाको बेपार भन्थे, यहाँ आफूले जिम्दैमा नर्क समान सन्ताप बेहोर्नु परेको छ। साग जितेर चेलवाहरू बाघमा दरिंदा आफू सुक्या साग भइयो। आफ्नो जिरायत चलाउनेतिर मात्र नभई ठेट्नाहरूलाई भकुन्डो भुक्याउन सिका'भे ठाँटसँग खेल जितेरै पनि जितुवा बनाउने रहेछन्।

खेलसँग खेलबाड भइरहँदा साग जित्नेहरूले अनुकूल वातावरण भेट्टाए एशिया कपमै दमखम देखाउँदा हुन्। हामी जस्ता भत्कोसेहरूको छायाँले पनि आइन्दा भकुन्डोलाई नछोओस्, फूटबलमा आएको नयाँ युगले फर्केर हेर्नु नपरोस्। जय भकुन्डो, अलबिदा!

comments powered by Disqus

रमझम