९-१५ फागुन २०७२ | 21-27 February 2016

ब्रिटिशद्वारा भोट दोहन

Share:
  
- ज्ञानमणि नेपाल
ब्रिटिशले ल्हासामा आफ्नो हात माथि पारेपछि सैन्य अभियानभरको दैनिक रु.५० हजारका दरले बुझाउनुपर्ने लगायत सन्धिका १६ दफा प्रस्तुत गर्‍यो।

विदेशीबाट परै बस्न चाहने भोट सरकार वार्ताद्वारा बेपार सन्धि गर्न सहमत नभएपछि ल्हासा दक्खल गर्न ग्यान्चीबाट अघि बढेको अंग्रेज सैन्यदल बीचबीचमा लड्दै भिड्दै ल्हासा दाखिल भयो। त्यहाँ पनि अंग्रेजी बललाई रोक्ने प्रयास भयो, तर आधुनिक शस्त्रसज्जित पल्टनका सामु तिनको केही लागेन।

पहिले ब्रिटिशको तागवात बल भोटेहरूले बुझेकै छैनन् भनेर रेजिडेन्ट भन्ने गर्थे। नेपालतर्फबाट महाराजले पनि ल्हासास्थित वकीलमार्फत भरसक सम्झाएका थिए। मध्यस्थताको प्रयत्न पनि बारम्बार गरेकै हो, तर भोट सरकार वार्ताद्वारा अंग्रेजसँग बेपार सन्धि गर्न सहमत नभएपछि युद्ध अभियानै चल्यो। युद्धले गर्दा स्वयं दलाई लामा भाग्नु पर्‍यो। भोटभरि विशेषतः ल्हासामा हाहाकार मच्चियो। आवत–जावत रोकियो, नाकाबन्दी नै भयो अनि भोटका चार काजीले अंग्रेजसँग सुलहवार्ता गर्न बाध्य हुनुपर्‍यो।

ब्रिटिशको हात माथि परिसकेकै थियो। उसले सन्धिका १६ दफा प्रस्तुत गर्‍यो। त्यसको बोधार्थ नेपाली वकीललाई दिइयो र वकिलले त्यसको जानकारी तुरुन्तै महाराजलाई पठाए। त्यसवेलाका ल्हासास्थित नेपाली वकील जितबहादुर खत्री छेत्री काविल मानिन्छन्। ब्रिटिश तर्फबाट प्रस्तुत सन्धिको एक दफामा भोटसँगको सैनिक अभियानमा जतिदिन लाग्यो, त्यति दिनको रु.५० हजारका दरले बुझाउनुपर्ने शर्त थियो। भोटले यो शर्त कुनै हालतमा स्वीकार गर्न सक्तैन भन्ने नेपाली वकीलको राय थियो। महाराजले पनि यही कुरा रेजिडेन्टसँग गरेका थिए।

ब्रिटिश भोटलाई दबाउने पक्षमै गएको हुँदा यो खर्च बुझाउन नसकुन्जेल चुम्बी उपत्यका नछाड्ने उसको विचार थियो। रेजिडेन्टले त्यसको आम्दानी कति हुन्छ भनेर महाराजबाट पनि जान्न चाहेका थिए। चुम्बी उपत्यकाको नगद–जिन्सी आयस्तादेखि घाँसपात दाउरा धरी भोटेलाई लैजान नदिने, लगे जिन्सीको महसुल तिरेर मात्र दिने र जमीन कब्जा गरिराख्ने रेजिडेन्टको आशय थियो।

अंग्रेजले भोटलाई दबाब दिने कार्य थालिसकेको थियो। हिउँ परेपछि ल्हासाको बाटो बन्द हुन्छ भनेर हतारिएको ब्रिटिश सरकार जतिसक्यो चाडो सन्धि गरेर आफ्ना दलबललाई फिर्ता गर्न चाहन्थ्यो। महाराजले रेजिडेन्टलाई बाटो बाह्रैमास खुलिरहन्छ, हिउँ परे पनि बालुवा–धुलो छरेर पनि बाटो चालु राखिन्छ भनेर आश्वस्त पारेका थिए।

ब्रिटिशले राखेका शर्त भोटले पालना गर्न सक्तैन भन्ने भाव महाराजले आफ्नै देशको अनुभवको आधारमा पनि राखेका थिए। अघि नायव बहादुर शाह, काजी दामोदर पाँडेले पनि खोटाटक विषयक मुद्दामा भोटसँग युद्ध गरी दिगर्चासम्म जितेका थिए। चिनियाँ अम्बाको रोहवरमा मिलापत्र हुँदा जितेको जमीन छाडेबापत भोटले नेपाललाई वार्षिक रु.५० हजार बुझाउनुपर्ने भयो। तर, एक वर्ष बुझायो, अर्को वर्षबाट सकेन। नेपाल–भोट दोस्रो युद्धमा चीनले भोटको पक्ष लिएकोले यो शर्त नेपालले छोड्यो।

भोटको यही अवस्था थियो। ब्रिटिश सैन्य अभियानको शुरू कहाँबाट कति दिनको हिसाब गर्ने? ग्यान्चीदेखि मात्र हिसाब गर्ने हो भने पनि ल्हासा पुग्न ५२ कोस पर्छ। सरासर हिंड्दा ८–९ दिन लाग्छ। भारी बोक्ने चौंरीको बथान र कुल्लीको डफ्फा समेत लिएर हिंडेका अंग्रेजले बीचबीचमा रोक्न आउने भोटे सैनिकहरूसँग भिड्नु परेको थियो। त्यस कारण १५/२० दिन निश्चय लाग्यो होला। यसरी हिसाब गर्दा ब्रिटिशले ८ देखि १० लाख खर्च दाबी गर्न सक्थ्यो। त्यसैले, चन्द्रशमशेरले यो कुरा पत्याइनसक्नु छ भनेका थिए।
जे भए पनि बाहिरी संसारबाट अलग्गिएर, नेपालको आश्रय र चीनको भरमा रहेको भोट ब्रिटिश सरकारको दोहनमा पर्‍यो।

ब्रिटिश अभियानमा नेपालका महाराजले तन–मन–धनले सहायता गरेका थिए। हजारौं कुल्ली र चौंरी पठाएका थिए। नगद पनि दिएका थिए। त्यसबापतको कर्जा फर्स्याउन ब्रिटिश सरकारले चाहेको थियो। महाराजको भित्री अशय भने सहायताको बदलामा जंगबहादुरले जस्तै जमीन पाए हुन्थ्यो भन्ने थियो। रेजिडेन्टले घुमाउरो पाराले कप्तान अष्टमानमार्फत केरुङ्गको लोभ देखाएका थिए। तर, ब्रिटिश सरकार अब नेपाललाई जमीन दिने मनस्थितिमा नरहेको पछिका घटनाले देखाउँछ।


श्री ३ महाराज–रेजिडेन्ट कर्णेल र्‍याभिंसा संवाद

महाराज– करोलावासमा हिउंदो (जाडामा हिउले) बिलकुल बन्द हुन्छ भन्ने (अखवारमा) लेखेको रहेछ. महावीर कर्णेलसंग सोध्दा हिउंदोमा बाटो खुलेको हुन्छ. हिउदमा बाटोमा बालुवा अलि छरि दिये बाटो खुला रहन्छ. हिउदोमा झ्न् चल्ती ज्यादा हुन्छ भनि निजले मसंग कुरा गरेथे. साहेबले कुरा सोध्नु चाहनुहुन्छ भने पठाइदिनेछु.

रेजीडेन्ट– हिउदोमा करोलावास (करोलायास जाडामा बाटो हिउले) बन्द हुदैन भनि महावीर कर्णेलले कुरा भयेका भनेका (मसंग कुरा गरेको हो. सोही माफिक) हुनाले इन्डिया गभर्मेंन्टमा लेखि पठायेको पनि हो. (सुनी दियेनन्, पास बन्द) हिउदोमा बन्द हुन्छ भनी कसले भनेछ. र फौज ल्हासाबाट दौडादवड ल्याउनाको तजविज गरेका छन्. घा बन्दोबस्त भयेको छैन. सेप्टेम्बरको १५ तारिखतिर उसो ल्हासा छोडछ कुन्नी? (छोड्न सक्लान्) म.– ल्हासाका वकीलले घाको आर्टिकल (सन्धिको धारा) हरू फलानो फलाना हो भनी लेखीपठाएको छ। लडाइको खर्च मागेकोमा भोटेहरूको चित्त बुझेको रहेनछ.

रे.– फलाना फलाना कुरामा घा हुन्छ भनी मलाई अस्ति तार आयेको छ. (यो दफा तलतिर सरेको छ) खर्चमा कम हुन सक्तैन. ग्याट्सीबाट बढेको रोजदेखि ५० हजार हिसाबले दिनुपर्छ. खर्च अदा नहुन्ज्याल चुंबी भ्याली रोक्नुपर्छ. तेस्को आम्दानी कती छ. महाराजलाई थाहा छ की?

म.– चुंबी भ्यालीको आम्दानी येति छ भन्ने थाहा छैन. रोजको ५० हजार दिन भोटेहरू सक्दैनन् भने तेस्को आधा भोटेहरूले दिनु आधा ग्यान्सीमा बेपार गर्ने महाजनबाट उठाउने भन्ने कुरा वकीलले (यो राम्रो बुझियेन) लेखेका छन्. पत्याइसक्नु छैन. चुवी भ्याली रोक्ने (दख्खल गर्ने हिसाबको) कुरा वकीलले लेखेका छैनन. त्यहांबाट दाउरा (घासपातमा महसुल लाउने कुरा छ भनी लेखेको छ) इत्यादि भोटेहरूले लगेमा महसुल तिरी लैजानुपर्ने कुरा छ भनी लेखेको छ.

रे.– महाराजबाट चवरीहरू आयाको छ. धेरै दिन भयो. हिसाब गर्नु (फछर्याउनु) हुनुपर्छ। इण्डिया गभर्मेंटले तेस्को खर्च भर्नु चाहन्छन्.

म.– साहेबसंग खर्चको हिसाब के गरु यस्मा इण्डिया गभर्मेन्टले जसो गर्छन्. साहेबले जसो गर्नुहुन्छ साहेबको हातमा छाड्छु.

comments powered by Disqus

रमझम