९-१५ फागुन २०७२ | 21-27 February 2016

खानै नहुने गरी प्रदूषित

Share:
  
- रामु सापकोटा
महाभूकम्पपछि उपत्यकाको खानेपानीमा कोलिफर्म र इकोली जीवाणुको मात्रा अत्यधिकबढेको छ।

ललितपुर, ठैबस्थित गोदामचौर खोलाको पानी पाइप लगाएर सीधै ट्यांकर मा भरिंदै।
१२ वैशाखको भूकम्प र त्यसका विनाशकारी परकम्पनहरूपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को तीन सदस्यीय वैज्ञानिक टोलीले काठमाडौं, ललितपुर र भक्तपुरका १४ ठाउँको पानीमा गरेको परीक्षणमा हानिकारक जीवाणु कोलिफर्म र इकोलीको मात्रा कल्पनै गर्न नसकिने गरी बढेको भेटिएको छ। अध्ययन गरिएकामध्ये गोङ्गबु (मित्रनगर) को एउटा इनारको पानीमा ३०० कोलोनी (पानीमा रहेको जीवाणु मापनको इकाइ) भन्दा बढी इकोली पाइएको छ।

बालाजु (रानीबारी) को ढुंगेधारा र ठैब (गोदामचौर) को खोलाको पानीमा पनि १०० कोलोनी फर्मेसन युनिटभन्दा बढी इकोली भेटिएको छ। इकोली दिसाबाट फैलने घातक जीवाणु हो। यस्तै, गोदावरीको थौखेल, ठैबको गोदामचौर र चापागाउँको तहखेलको पानीमा ३०० भन्दा बढी कोलिफर्म भेटिएको छ भने बालाजुको रानीबारी, गोङ्गबुको मित्रनगर र मनमैजु, नयाँ ठिमी तथा भक्तपुर झौखेलको पानीमा १०० भन्दा बढी कोलिफर्म भेटिएको छ। (हे.इन्फोग्राफ) कोलिफर्म दूषित फोहोरबाट फैलने घातक जीवाणु हो।

भूकम्प प्रभावित क्षेत्रमा वितरण भइरहेको पानीका मुहानहरूबाट लिइएको सय मिलिलीटर पानीको नमूना परीक्षण गर्दा यति धेरै कोलिफर्म र इकोली भेटिएको हो। अध्ययन टोलीले यसको मूल कारण जथाभावी फालिने फोहोरलाई मानेको छ। टोली संयोजक डा. भोजराज पन्त यत्रतत्र फालिएका फोहोरमा रहेका कोलिफर्म र इकोली जीवाणु महाभूकम्पले खुकुलो बनाएको जमीनबाट पानीका स्रोतसम्म पुगेको बताउँछन्। इनार, ढुंगेधारा र पाइप लाइनदेखि ट्यांकरले बेच्ने पानीसम्मको नमूना परीक्षण गर्दा १३ वटा नमूनामा इकोली र कोलिफर्म भेटिएको डा. पन्तले बताए।

नेपालको 'राष्ट्रिय खानेपानी स्तर मापदण्ड २०६२' र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार, इकोली र कोलिफर्मरहित खानेपानी हुनुपर्छ। तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पाइप लाइनमार्फत वितरण गर्ने खानेपानीमा समेत अत्यधिक मात्रामा इकोली र कोलिफर्म जीवाणु भेटिएको छ। नास्टको वैज्ञानिक टोलीले उपत्यकाको १४ ठाउँबाट लिएको खानेपानीको नमूनालाई दुई दिनसम्म इन्कुवेटरको ३७ डिग्री तापक्रममा राखेर परीक्षण गर्दा सुडाल बाहेक सबै ठाउँका पानीमा घातक जीवाणु भेटिएको थियो। डा. पन्तका अनुसार, ट्यांकरले ल्याउने पानीमा त झ्न् ३०० कोलोनीभन्दा बढी कोलिफर्म भेटिएको छ।

खोलाबाट ट्यांकरमा

तस्वीरः नास्ट
उपत्यकामा खानेपानी भन्दै ट्यांकरहरूले खोलाको पानी सीधै भरेर ल्याई वितरण गर्ने गरेका छन्। ट्यांकरबाट वितरण गरिने खानेपानीले उपत्यकाको जनस्वास्थ्यलाई बढी जोखिममा पारेको अध्ययन टोलीमा रहेका कञ्चन थापाले बताए। हुन त, काठमाडौंको खानेपानीमा इकोली र कोलिफर्मको समस्या नयाँ होइन। अमेरिकाको 'इन्भारोन मोनिट एक्सेस' जर्नलमा सन् २०११ मा प्रकाशित अध्ययन प्रतिवेदनले उपत्यकाको इनार, ट्यूबेल र डीप ट्यूबेलको पानीमा कोलिफर्मको मात्रा औसत ३०० कोलोनी भएको देखाएको थियो।

१०० मिलिलीटर पानीमा ३८३.४ क्लोराइड, ५५० अल्कालिनिटी र ०.०२५ आर्सेनिक भेटेको अध्ययन प्रतिवेदनमा उपत्यकाको खेतीबारीमा उत्पादन बढाउन प्रयोग गरिने विषादीका कारण पनि पानीको गुणस्तर बिग्रेको हुनसक्ने उल्लेख छ। अध्ययनमा पानीको अम्लीयपनको मात्रा, धमिलोपनका साथै क्लोराइड, आइरन, फ्लोराइड, अल्कालिनिटी जस्ता रसायनहरूको मात्रा पनि हेरिएको थियो। यी दुई अध्ययनलाई तुलना गर्दा उपत्यकाको खानेपानीका मुहानमा जीवाणु र रसायनको मात्रा बढ्दो देखिन्छ। पाँच वर्षअघिको अध्ययनमा औसत ३०० कोलोनी देखिएको कोलिफर्म यसपटक ३०० भन्दा बढी छ।
नेपाल रिभर कन्जर्भेसन ट्रष्ट, बायोस्फेयर एसोसिएसन र हिमालय बायोडाइभर्सिटी एण्ड क्लाइमेट चेन्ज सेन्टरले गत वर्ष गरेको अध्ययनबाट पनि उपत्यकाको पानी सिंचाइका लागि समेत योग्य नभएको निष्कर्ष निकालेको थियो। वागमतीको पानीमा इकोली र कोलिफर्मको मात्रा बढी देखाएको थियो। सम्बन्धित निकायले भने पानी सुरक्षित पार्ने विधिमा ध्यान दिएको छैन।

मन्त्रालयको बेवास्ता

पछिल्लो अध्ययन प्रतिवेदनलाई दूषित पानीले निम्त्याउन सक्ने खतराबारे आवश्यक सूचना प्रवाह गर्न सुझाव दिंदै नास्टका सचिव बुद्धिरत्न खड्गेले २२ वैशाखमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयलाई बुझाए। त्यसको सात महीनामा गत ५ मंसीरमा मन्त्रालयको निर्देशनमा नास्टले बोलाएको बैठकमा निम्त्याइएका १३ मध्ये स्वास्थ्य मन्त्रालयलगायत अधिकांश निकायका प्रतिनिधि आएनन्। उक्त बैठकले गरेको पानीको गुणस्तर अनुगमन गर्नेलगायतका चारबुँदे निर्णय पनि कार्यान्वयनमा आउन सकेको छैन।

उपत्यकामा स्वच्छ खानेपानीको वितरणको जिम्मेवारी पाएको शहरी विकास मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल निकास विभाग र अनुगमनमा जिम्मेवार स्वास्थ्य मन्त्रालय, खानेपानी विभाग, वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जस्ता निकायहरूले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा खानेपानीमा प्रदूषण बढेको बढ्यै छ। विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले पनि मापदण्ड पूरा नगरी खानेपानी बिक्रीवितरण गर्नेहरूलाई कारबाही गर्न सकेको छैन।

“महाभूकम्पले खुकुलो बनाएको जमीनमार्फत फोहोरमा रहेका कोलिफर्म र इकोली जीवाणु पानीको स्रोतसम्म सहजै पुगिरहेका छन्।”

डा. भोजराज पन्त

वरिष्ठ वैज्ञानिक, नास्ट

सरकारी निकायहरूको अक्षमताका कारण आम जनता दूषित पानी पिउन बाध्य छन्। अनुसन्धानकर्ता थापा अब शुरू हुनै लागेको गर्मीयाममा कोलिफर्म र इकोली जस्ता जीवाणु स्वभावैले वृद्धि हुने बताउँछन्। त्यसले झाडापखाला र हैजाको महामारी निम्त्याउन सक्छ। ११ वैशाख २०७१ मा विराटनगरमा कोलिफर्मयुक्त खानेपानीका कारण पाँच जनाको ज्यान गएको थियो। खानेपानी संस्थानद्वारा वितरित दूषित खानेपानीका कारण 'हेपाटाइटिस ई' हुँदा बिरामीको ज्यान गएको थियो।


पत्ता लाग्यो नयाँ विधि

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले काम नलाग्ने भनेर फालिने वस्तुहरू (वायोमास) बाट पानी शुद्ध पार्ने विधि पत्ता लगाएको छ। पानीमा आर्सेनिकको मात्रा घटाउन केन्द्रित नास्टको टोलीले १० प्रकारका वस्तुहरूमाथि अनुसन्धान गरिरहेकोमा जलकुम्भी, उखुको खोस्टा, सल्लाको पात, सुन्तलाको बोक्रा र सिस्नोबाट पानी शुद्ध बनाउने सस्तो–सरल विधिको विकास गरेको छ। (हे. तस्वीर)

अनुसन्धान टोली संयोजक डा. भोजराज पन्त उखुको खोस्टालाई सुकाएर बनाइएको धूलोमा आइरनअक्साइड मिलाएर राख्दा पानीलाई आर्सेनिकमुक्त बनाउने विधि पत्ता लागेको बताउँछन्। “यो विधिबाट आर्सेनिकयुक्त पानी शुद्ध भयो”, डा. पन्त भन्छन्, “यसलाई व्यवहारिक प्रयोगमा ल्याउन चाहिं निजी क्षेत्रको सहयोग आवश्यक छ।” नेपालमा आर्सेनिकयुक्त पानी शुद्ध पार्न क्लोरिन र फिल्टरको प्रयोग हुँदै आएको छ।

comments powered by Disqus

रमझम