९-१५ फागुन २०७२ | 21-27 February 2016

कफिनमा फिर्ती

Share:
  
- ओमआस्था राई, काठमाडौं, सोनिया अवाले, क्वालालम्पुर
वैदेशिक रोजगारीबाट देश धान्ने रेमिट्यान्स पठाइरहेका नेपाली श्रमिकमध्ये दैनिक तीन जना कफिनभित्र प्लाष्टिकले बेरिएर फर्किरहेका छन्।

बिक्रम राई
साढे तीन महीनाअघि साउदी अरबमा निधन भएका हेमन्त शाहीको शवसहितको बाकस पशुपति आर्यघाटमा।
साउदी अरबमा मृत्यु भएको तीन महीनापछि गत ५ माघमा हेमन्त शाहीको शव काठमाडौं आइपुगेको थियो। रमिता शाही आफ्ना पतिको शव बाकसबाट निकालेको एकोहोरो हेरिरहेकी थिइन्। तीन महीनासम्म रुँदारुँदा उनका आँखा आँशुविहीन भइसकेका थिए। पैसा कमाउन ९ महीनाअघि सल्यानबाट साउदी अरब गएका बाबुको शवलाई ६ वर्षीय छोराले पशुपति आर्यघाटमा दागबत्ती दिए।

सन् २०१५ मा वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका करीब ८७ हजार नेपालीमध्ये मृत्यु भएका २७३ मा एक थिए, हेमन्त। करीब २० लाख नेपाली रोजगारीका लागि साउदीलगायतका खाडी मुलुक र मलेशिया पुगेका छन्। जुलाई २०१४–जुलाई २०१५ बीचमा तीमध्ये १००२ जनाको मृत्यु भयो, जसमा अधिकांश मलेशियामा थिए। तीमध्ये आधाभन्दा धेरै राति सुतेर फेरि उठेनन्। यसलाई 'सडन अनेक्सपेक्टेड डेथ सिन्ड्रोम– एसयूडीएस' भन्ने गरिएको छ। १८ घण्टे श्रम, शरीरमा पानीको कमी, आवश्यक पोषक तत्वको अभाव र मानसिक तनावका कारण एसयूडीएस हुने स्वास्थ्य विशेषज्ञहरू बताउँछन्।

मलेशिया र कतारमा 'एसयूडीएस' बाट बढी मृत्यु भएको पाइएको छ भने साउदी अरबमा दुर्घटनाबाट। हेमन्तका परिवारलाई साउदीका सुपरभाइजरले सुतेको वेला उनको मृत्यु भएको बताएका थिए। शवको बाकसमा रहेको मृत्युको प्रमाणपत्रमा भने सडक दुर्घटनामा मृत्यु भएको उल्लेख थियो। अब रमिताले पतिले विदेश जाँदा लिएको ऋण निखन्नुपर्नेछ।

बाकसमा फिर्ती

फूलमाला पहिरिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानद्वारभित्र छिरिरहेका दैनिक सरदर १५०० नेपाली युवाको उत्साहले सबैको ध्यान खिच्छ। त्यही विमानस्थलको आगमनद्वारबाट निस्किरहेका शवका बाकसहरूले भने कमैको ध्यान खिचेको छ। दैनिक आउने सरदर तीन वटा बाकस तिनै युवाका हुन्, जो सन्तानको शिक्षा, वृद्ध आमा–बाबुको उपचारलगायत पारिवारिक गर्जो टार्न वैदेशिक रोजगारीमा गएका थिए। तीमध्ये कतिपय वाचा गरिएअनुसारको काम र ज्याला नपाएर ऋण तिर्न पुग्नेसम्मको बचत नहुँदै फर्कन्छन् भने केही बाकसमा।

गत वर्ष करीब पाँच लाख नेपाली खाडीका निर्माण क्षेत्र, मलेशियाका कारखाना र खेतबारीमा काम गर्न पुगे। त्यही अवधिमा एक हजारभन्दा बढी युवा प्लाइउडका बाकसभित्र प्लाष्टिकले बेरिएर फर्किए। कमाउन विदेश गएका नेपाली श्रमिकको यो विघ्न मृत्यु निकै गम्भीर कुरा हो। श्रमिक आप्रवासनका विज्ञ डा. गणेश गुरुङ १८–४५ वर्ष उमेर समूहका स्वस्थ र जवान मानिस किन यसरी मरिरहेका छन् भन्नेबारे अनुसन्धान हुनैपर्ने बताउँछन्। जवान कामदारले विदेश जानुअघि परीक्षण गरेर स्वास्थ्य ठीकठाक रहेको प्रमाणपत्र लिएका हुन्छन्। त्यस्ता स्वस्थ र उमेरदारहरूको मृत्यु कामसँग सम्बन्धित दुर्घटनामा नभई सुतेका वेला अप्रत्यासित हृदयघातका कारण हुनुलाई जनस्वास्थ्य विज्ञहरू उदेकलाग्दो भएको बताउँछन्।

ओमआस्था राई
सुमित्रा राई (बायाँ) सासू र छोराका साथ काठमाडौंमा रहेका आफन्तको घरमा।
गत वर्ष विदेशमा मृत्यु भएका १००२ नेपाली कामदारमध्ये २४५ जनाको मृत्युको कारण 'एसयूडीसी' भनिएको छ। मृत्युका अन्य कारणमा कार्यस्थल र सडक दुर्घटना तथा आत्महत्या छन्। खाडी र मलेशियामा मृत्यु भएका अधिकांश श्रमिकको पोष्टमर्टम गरिंदैन। मृत्यु प्रमाणपत्र नहुँदा एअरलाइन्सहरूले शव नबोक्ने र बीमा कम्पनीहरूले मृत्युको कारण नखुल्दा बीमा रकम नदिने हुनाले रीत पुर्‍याउन मात्रै धेरैजसोलाई हृदयघात वा प्राकृतिक मृत्यु भनेर लेखिन्छ। सम्बन्धित देशको कानूनी दायित्वबाट जोगिन र क्षतिपूर्ति नबेहोर्न रोजगारदाता कम्पनीहरू मृत्युको वास्तविक कारण लुकाउन खोज्छन्।

आप्रवासनका विज्ञ डा. गुरुङ शव पोष्टमर्टम नगरी बनाइएका मृत्यु प्रमाणपत्रमा विश्वास गर्न नसकिने बताउँछन्। सन् २००२ मा कुवेतबाट फर्काइएको श्रीलंकाली घरेलु श्रमिकको शवमा मिर्गौला थिएन। त्यस घटनाले आप्रवासी श्रमिकको जोखिमपूर्ण अवस्था प्रष्ट पारेको डा. गुरुङ बताउँछन्। “शक्तिशाली रोजगारदाताले मानव अङ्गका लागि निमुखा श्रमिकको हत्या गर्नसक्ने सम्भावना नकार्न सकिन्न”, डा. गुरुङ भन्छन्, “त्यसकारण श्रम सम्झौतामै मृत श्रमिकको पोष्टमर्टम अनिवार्य गर्नुपर्ने बुँदा थप्नु जरूरी छ।”
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल नेपाली श्रमिकको मृत्यु भएको देशमै पोष्टमर्टम अनिवार्य गराउन नेपाल सरकार चुकेको बताउँछन्।

नेपाली श्रमिक जाने मुख्य मुलुक मलेशिया, कतार र साउदी अरबमा बढी अस्वाभाविक मृत्यु भइरहेको छ। वैदेशिक रोजगारमा जानेहरूको स्वास्थ्य परीक्षणका लागि तोकिएका ८३ वटा क्लिनिकको संगठन नेपाल मेडिकल व्यवसायी संघका सभापति शम्शेर नेपाली खाडीको ५० डिग्री तातो साइटमा काम गर्नेहरू एअर कन्डिशनले चिसो पारिएको कोठामा सुत्न पुग्दा शरीरले सन्तुलन मिलाउन नसकेर मर्ने गरेको बताउँछन्। उनका अनुसार, विषाक्त रक्सी सेवन मृत्युको अर्को प्रमुख कारण हो।

साउदी अरबमा थुप्रै नेपालीको मृत्यु सडक दुर्घटनामा पनि हुने गरेको देखिन्छ, त्यो पनि धेरैजसो 'हीट एण्ड रन' का घटनामा। धेरैजसो यस्ता घटनालाई ठूल्ठूला सडकको ट्राफिक नियमबारे जानकारी नहुँदाको परिणाम मानिएको छ। यसबाट नेपालको वैदेशिक रोजगार विभागले दिने ट्राफिक नियम, कार्यस्थलको सुरक्षा, अत्यधिक गर्मीबाट बच्ने उपायलगायतका अभिमुखीकरण तालीमको पोल पनि खोलिरहेको यस क्षेत्रका विज्ञहरू बताउँछन्। पैसा दिए अभिमुखीकरण तालीममा सहभागी नभई प्रमाणपत्र पाइने रोजगारीमा गएका श्रमिकहरू नै बताउँछन्। म्यानपावर एजेन्सी, स्वास्थ्य परीक्षण क्लिनिक र तालीम दिने कम्पनीहरूले पैसालाई मात्र महत्व दिंदा वैदेशिक रोजगारीबाट बाकसमा फर्कने नेपालीको संख्या नघटेको यसले देखाउँछ।

मलेशियामा अपहत्ते

कुन्द दीक्षित
मलेशियाको क्वालालम्पुर नजिक प्लाइउड फ्याक्ट्रीमा काम गर्दै नेपाली श्रमिक।
मलेशियाका कारखाना र खेतबारीमा काम गर्ने विदेशी श्रमिकमध्ये सबभन्दा धेरै ७ लाख नेपाली छन्। र, मृत्यु दर्तामा पनि नेपाली नै धेरै छन्। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको आँकडाअनुसार, जुलाई २०१४ पछिको १२ महीनामा मलेशियामा ४२५ नेपाली युवकको मृत्यु भयो भने जुलाई २०१५ देखि नोभेम्बरसम्म हरेक साता ९ जनाको मृत्यु भयो। क्वालालम्पुरस्थित नेपाली राजदूतावासका अनुसार, तीमध्ये अधिकांशको मृत्युको कारण 'सडन अनेक्सपेक्टेड डेथ सिन्ड्रोम– एसयूडीएस' बताइयो।

क्वालालम्पुरसँग जोडिएको दमनसरामा सुरक्षा गार्डको काम गर्ने दिलीप मल्लका अनुसार, केही महीनाअघि एकजना नेपाली युवक काममा जाँदै गर्दा एक्कासि हृदयघात भएर बितेका थिए। मलेशियामा नेपाली श्रमिकको यस्तो आकस्मिक मृत्यु कतार, यूएई र अन्य खाडी मुलुकमा भन्दा बढी भइरहेको छ। अत्यधिक श्रम, एअरकन्डिसन्ड क्वार्टर, कम ज्याला, घरको पीर, सस्तो अवैध रक्सी आदिलाई यस्तो मृत्युको कारण मानिंदै आएको छ, यद्यपि मलेशियामा पनि कामदारको पोष्टमर्टम विरलै हुन्छ। अनुसन्धान त हुँदैहुँदैन भन्दा पनि हुन्छ।

मलेशियाली श्रम अधिकार समूह (टेनागानिटा) कि कार्यकर्ता एजिल फर्नान्डेज विदेशी श्रमिकको मृत्युको समस्या पूरै बेवास्तामा परेको बताउँछिन्। त्यत्तिका अप्रत्याशित मृत्यु र आत्महत्याबारे सरकार उदासीन रहँदा अनुसन्धान नभएको उनले बताइन्। आप्रवासी कामदारहरूको उपचारमा संलग्न सरकारी अस्पतालका एक डाक्टरले अप्रत्याशित मृत्युहरू हृदयघातबाट भएको बताए। अस्पताल र आफ्नो नाम उल्लेख गर्न नचाहने उनका अनुसार, धेरैलाई हृदयघात किन भइरहेको भनेर अध्ययन चाहिं भएको छैन। टेनागानिटाकी फर्नान्डेज भन्छिन्, “हामीले मृत्युको कारणसमेत थाहा पाउन सकेका छैनौं।”

गत वर्ष सरकारले अनुदान बन्द गरेर मलेशियामा विदेशी कामदारका लागि स्वास्थ्य सेवामा ३० प्रतिशत शुल्क वृद्धि गर्‍यो। थुपै्र आप्रवासी श्रमिकमा मलेरिया र क्षयरोग पनि देखिएकोले उनीहरूले पाउने स्वास्थ्य सहुलियत बन्द हुँदा मलेशियालीहरू पनि जोखिममा परेका छन्। फरक जलवायु भएको मलेशिया आइपुगेका नेपाली कामदारले आवश्यक सावधानी नअपनाउँदा पनि जोखिममा छन्। लगातार काम गर्ने बानी नभएका नेपालीलाई गर्मीमा अपनाउनुपर्ने सावधानीका उपाय समेत नबताइएकाले बढी समस्या भएको हुनसक्ने टेनागानिटाकी फर्नान्डेजको अनुमान छ।

लाई कम्पनीले तत्काल अस्पताल नपुर्‍याउँदा मृत्यु भएपछि गत साल जेद्दामा उग्र प्रदर्शन भएको थियो, जसमा प्रहरीले समातेकामध्ये पाँच जनालाई नेपाल फिर्ता गरियो। त्यसको एक महीनापछि त्यही कम्पनीमा थप दुई नेपालीको 'अप्रत्याशित' मृत्यु भयो। गत अगस्तमा पनि जोहोरको एउटा कारखानामा कार्यरत एक जनाको मृत्यु भएपछि एक हजारभन्दा बढी नेपाली आफ्नो स्वास्थ्यमा खेलवाड भएको भन्दै प्रदर्शनमा उत्रिएका थिए। त्यसवेला पक्राउ परेका ५० जनामध्ये धेरैलाई नेपाल फर्काइयो।

मलेशियामा नेपाली श्रमिकका दुःख धेरै छन्– विनाकारण करार रद्द हुने, अतिरिक्त समय काम गर्न बाध्य हुने, न्यूनतम ज्याला र बिरामी विदा नपाइने, बीमा तथा स्वास्थ्य सुविधा नहुने आदि। मलेशियन ट्रेड युनियन काउन्सिलकी कार्यकर्ता फ्लोरिडा स्यान्डानासामी भन्छिन्, “नेपालले श्रमशक्ति पठाएर मात्र हुँदैन, उनीहरूको सुविधा र सुरक्षामा पनि विशेष ध्यान दिनुपर्छ।”


आप्रवासीका विधवा

इलामका विक्रम योङहाङसँग बिहे गर्दा सुमित्रा राई (२२) ले भर्खरै १८ वर्ष टेकेकी थिइन्। १९ वर्षकी हुँदा उनको पहिलो सन्तान जन्मियो, त्यसै वर्ष योङहाङ मलेशिया गए। त्यसको एक वर्षमै सडक दुर्घटनामा परेका उनको शव बाकसमा घर आइपुग्यो। सुमित्राको त्यसपछिको समय पतिको बीमावापतको रकम लिन इलाम–काठमाडौं आउजाउमै बितिरहेको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले गत साता पाँचौं पटक कागजात नपुगेको भन्दै उनलाई फिर्ता गरिदियो। “हरेक पटक एउटा कागज पुगेन भन्छन्”, सुमित्रा भन्छिन्, “इलाम फर्केर त्यो ल्यायो, फेरि अर्को पुगेन भन्छन्।”

सडकले नछोएको उनको गाउँमा पुग्न सदरमुकामबाट एक दिन हिंड्नुपर्छ। मधेशमा जारी बन्द–हडतालले उनको इलाम–काठमाडौं यात्रालाई पनि कष्टकर बनाइदियो। काठमाडौंबाट इलाम पुग्दा तीन रात गाडीमै बिताउनुपरेको उनी बताउँछिन्। छोरालाई कसरी हुर्काउने, पढाउने भन्ने चिन्तामा रहेकी उनी बीमाको रकमबाट पसल खोल्न चाहन्छिन्। “यी कर्मचारीलाई बिन्तीभाउ गर्न अब कहिल्यै काठमाडौं आउन्न भन्दै फर्कन्छु”, सुमित्रा भन्छिन्, “छोराको अनुहार हेरेपछि फेरि बीमाको रकम लिनैपर्ने अवस्था आउँछ।” माओवादी हिंसाले हजारौं विधवा बनाएको देशमा दैनिक तीन युवकको शव फर्कनुले खतरनाक अवस्थाको चित्रण गरिरहेको छ। यो अवस्थाप्रति बेवास्ता कायम रहे केही समयपछि नेपाल वैदेशिक रोजगारीले विधवा बनाएकाहरूको देश कहलाउन सक्ने डा. गुरुङ बताउँछन्।

comments powered by Disqus

रमझम