९-१५ फागुन २०७२ | 21-27 February 2016

चार लेनकै चाहिन्छ

Share:
  
महाकाली नदीमाथिको पुल चार लेनबाट दुई लेनमा झार्ने सरकारको तयारीले देशकै आर्थिक विकासमा हानि पुर्‍याउनेछ।

डीपीआरका लागि राखिएको ड्रिलिङ्ग स्तम्भ।
कञ्चनपुर, भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमाथि चार लेनको पुल बन्ने समाचारले स्थानीयमा उत्साह जागेको थियो। पुल नेपाल–भारत द्विपक्षीय व्यापारमा 'कोसेढंुगा' बन्ने धेरैको विश्वास थियो। तर, एकाएक चार लेनको पुल दुई लेनमा झ्रेपछि स्थानीयवासी ठगिएको महसूस गरिरहेका छन्।

'ट्राफिक चाप' लाई आधार बनाएर सडक विभागको पुल महाशाखाले दुई लेनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन सीआईएस प्रालिलाई निर्देशन दिइसकेको छ। “सवारी आवागमन कम हुने भएकाले दुई लेनको कुरा आएको छ” पुल महाशाखाका प्रमुख सरोज प्रधान भन्छन्। डीपीआर निर्माणका क्रममा रहेकाले अहिले नै दुई वा चार लेन भन्ने प्रष्ट नभएको बताउँदै उनी भन्छन्, “चार लेन बनाउन राजनीतिक निर्णय नै चाहिन्छ।” चार लेनकै बनिहाले यो देशको पहिलो चार लेनको पुल हुनेछ।

“काठमाडौंले फेरि हामीलाई धोका दिएको छ”, तीन वर्षदेखि महाकाली पुल निर्माणका लागि काठमाडौं–दिल्ली धाइरहेका कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेशदत्त जोशी भन्छन्, “दुई लेनको पुल बनाउनुको कुनै अर्थ छैन।”

शारदा बाँध दक्षिण र दोधारा चाँदनी झोलुङ्गे पुल उत्तर बन्ने पुलले महाकाली पारिको दोधारा चाँदनी नगरपालिका–२ को स्याउले बजार जोड्नेछ। करीब ७०० देखि ८०० मिटर लामो पुलको डीपीआरका लागि अहिले ड्रिलिङ्ग भइरहेको छ। “वैशाखसम्म डीपीआर तयार पार्ने योजना छ”, सीआईएसका इन्जिनियर सुरेशकुमार रेग्मी भन्छन्।

पुलकै भर

महाकाली पुल निर्माणस्थल देखाउँदै स्थानीय ।
सन् १९२८ मा बनेको महाकाली नदीमाथिको शारदा बाँधको पुल जीर्ण बनेपछि ठूला सवारी साधन आवतजावतमा रोक लगाइएको करीब ३० वर्ष भइसक्यो। सिंचाइ प्रयोजनको बाँधको पुल साना सवारीका लागि दैनिक पाँच घण्टा (बिहान ६–८, दिउँसो १२–१ र साँझ् ५–७ बजे) मात्रै खुल्छ। यसले भारतबाट यस क्षेत्रमा हुने आयात निर्यात न्यून छ। व्यवसायीहरू दोब्बर ढुवानी रकम खर्चेर वीरगञ्ज नाकाहुँदै सामान भित्र्याउन बाध्य छन्।

भारतका औद्योगिक शहरहरू रुद्रपुर, हल्द्वानी, हरियाणा तथा राजधानी नयाँदिल्ली सुदूरपश्चिमको महेन्द्रनगरबाटै नजिक पर्छ। महेन्द्रनगर–रुद्रपुर ७० किलोमिटर, महेन्द्रनगर–हल्द्वानी ८५ किलोमिटर, महेन्द्रनगर–हरियाणा ३०० किलोमिटर र महेन्द्रनगर–नयाँदिल्लीको दूरी जम्मा २५० किलोमिटर मात्र छ, जबकि वीरगञ्जबाट नयाँदिल्लीको दूरी ९४४ किलोमिटर छ। भारतले पश्चिमी सीमा क्षेत्रका बजारसम्मका सडकलाई चार लेन र ब्रोडगेजको रेलमार्गसँग जोडिरहेकोले पनि नेपालसँगको व्यापार सहज हुने व्यवसायीको विश्वास छ।

महाकाली नदीका कारण शारदा बाँध बाहेक सुदूरपश्चिमका अन्य नाकाबाट भारतसँगको ढुवानी सहज छैन। सीमामा रहेको दुधवा टाइगर रिजर्भ र लग्गाबग्गा संरक्षित क्षेत्रका कारण भारतले गौरीफन्टा र कैलालीको धनगढीस्थित त्रिनगर नाकाको प्रयोग कम गर्दै आएको छ।

चीनसँगको दार्चुलाको तिङ्कर–ताक्लाकोट र बझाङको काँडा–ताक्लाकोट नाका २०५७ सालदेखि बन्द छन्। भेडा र खच्चरमा हुने तिब्बतसँगको सुदूरपश्चिमको व्यापार हिउँद बाहेकका ६ महीना मात्रै भइरहेको छ। “भारतसँगको नाकाबन्दीमा चीनसँगका सात नाका खोल्ने सहमति भयो, तर सुदूरपश्चिमका बन्द नाका प्राथमिकतामै परेनन्”, दार्चुला जिल्ला विकास समितिका पूर्व सभापति वीरबहादुर ठगुन्ना भन्छन्, “अब सुदूरपश्चिम विकासको भर भनेकै महाकाली नदीमाथि चार लेनको पुल नै हो।”

सुक्खा बन्दरगाहको सम्भावना

वीरगञ्जपछिको सुक्खा बन्दरगाहका लागि पनि दोधारा चाँदनी नै उपयुक्त देखिएको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टर मोडल यातायात विकास समितिको पुस अन्तिम साताको स्थलगत अध्ययनपछि सुक्खा बन्दरगाहका लागि महाकाली नदी पारिको दोधारा चाँदनी रोजेको हो। “हरेक हिसाबले सुक्खा बन्दरगाह दोधारा चाँदनीमै बनाउनु उपयुक्त देखिन्छ”, समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत भन्छन्, “बन्दरगाहका लागि पनि महाकाली नदीमा चार लेनको पुल नबनाई खासै अर्थ छैन।”
दुई लेनको पुल बनाउने तयारी थालिएपछि नेपाल इन्टर मोडल यातायात विकास समितिले समेत असन्तुष्टि जनाएको छ। सुक्खा बन्दरगाहका लागि चार लेनकै पुल आवश्यक हुने भन्दै समितिले मन्त्रालय र सडक विभागलाई पत्रसमेत पठाएको छ।

बच्चु विक

comments powered by Disqus

रमझम