९-१५ फागुन २०७२ | 21-27 February 2016

वैतरणी राजनीति

Share:
  
- शेखर खरेल
तन्नेरीहरूको महान सपना र समर्पणबाट बनेको देश अघिल्ला पुस्ताबाटै शासित भइरहनु आजको दुर्भाग्य हो।

भानु भट्टराई
नेपाली कांग्रेस चितवन जिल्ला सभापतिमा जीतनारायण श्रेष्ठको जीतले सञ्चारमाध्यममा राम्रै चर्चा पायो। कारण एउटै थियो, श्रेष्ठको उमेर। ३६ वर्षीय उनी संभवतः कांग्रेसकै कान्छा जिल्ला सभापति हुन्।

नयाँ पुस्ताले राजनीतिको बागडोर सम्हाल्नुपर्छ भन्ने बहुसंख्यक नेपालीको आकांक्षा आज पनि स्वैरकल्पनामै सीमित छ। प्रमुख राजनीतिक दलहरूको नेतृत्व युवावयबाट उहिल्यै पार पाइसकेकाहरूको पोल्टामा छ। दुःखको कुरा चाहिं, पुरानो नेतृत्वलाई विस्थापित गर्न सक्ने संभावना पनि आजको युवापंक्तिमा नदेखिनु हो। जुन वेला यी युवापंक्ति नेतृत्वमा पुग्नेछन्, त्यस वेलासम्म उनीहरू पनि वृद्ध भइसक्नेछन्।

तर, राजनीति जति नै निराशाजनक देखिए पनि नेपालको प्रजातान्त्रिक तथा वाम आन्दोलन उत्साही युवाहरूकै सपना र समर्पणको उपज हो। चैत, २००६ सालमा नेपाली प्रजातान्त्रिक कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेस एकीकरण भई नेपाली कांग्रेसको स्थापना हुँदा पार्टीका संस्थापकहरू बीपी कोइराला, मातृकाप्रसाद कोइराला, डिल्लीरमण रेग्मी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतको औसत उमेर ३०–४० को बीचमा थियो। प्रथम आमनिर्वाचनमार्फत प्रधानमन्त्री बन्दा बीपी ४४ वर्षका थिए। तर, आज उनैको पार्टीमा केन्द्रीय समितिमा त परै जाओस् जिल्ला सभापतिमा समेत ४० वर्षभन्दा कम उमेरका अनुहार भेटिनु आश्चर्यको समाचार बन्न पुग्छ।

कांग्रेसकै जस्तो स्थिति छ, वाम पार्टीहरूको। कांग्रेस जस्तै राणाशाही मिल्काउने अभीष्टसाथ २००६ सालमै नेपाल कम्युनिष्ट पार्टी जन्मिएको हो। पार्टीका प्रथम महासचिव पुष्पलाल श्रेष्ठ त्यसबखत २५ वर्षीय युवा थिए। नेपाली वाम आन्दोलनलाई जडसूत्रवादबाट मुक्त गरी लोकतान्त्रिक अभ्यासमा अनुवाद गर्ने 'जनताको बहुदलीय जनवाद' का प्रवर्तक मदन भण्डारी पनि नेकपा (एमाले) को महासचिव बन्दा ४० वर्षका थिए।

दलहरू बन्नुभन्दा धेरैअघि नेपाल एकीकरणकै चरणमा फर्कने हो भने तन्नेरीको भूमिका अझ् प्रमाणित हुन्छ। १७७९ सालमा जन्मिएका गोरखाका तत्कालीन युवराज पृथ्वीनारायण शाह २० वर्षको अल्लारे उमेरमा राजा बनेका थिए। ४६ वर्षको उमेरमा उनले (१८२५ साल) काठमाडौं विजय गरिसकेका थिए। आजको नेपाल तन्नेरीहरूकै सिर्जना हो भन्न योभन्दा गतिलो तथ्य खोजिरहनु पर्दैन।

२०६२–६३ को लोकतान्त्रिक आन्दोलनपछि राजनीतिमा युवाले नेतृत्व लिने जनअपेक्षा विपरीत पुरानै अनुहार र विचार हावी भए। 'नयाँ नेपाल' भनिए पनि राजनीति र राष्ट्रिय जीवनमा नयाँपन देखिएन। आशलाग्दा कतिपय युवा नेता सुरक्षित भविष्यको लोभमा नेतृत्वकै चाटुकार बन्नपुगे। गुटबन्दी राजनीति चिरेर आफ्नो दललाई नवजीवन दिन सक्ने सामर्थ्य कुनै तन्नेरीमा देखिएन। अपितु, स्वयं गुट र उप–गुटका प्यादा बन्न लालायित देखिन्छन्।

यस्तो राजनीतिक कुसंस्कारले युवालाई कम र च्याखे दाउ थाप्नेलाई आकर्षित गर्नु अस्वाभाविक होइन। पछिल्लो समय त झ्न् राजनीति अवकाशपछिको क्षेत्र बनेको छ। प्रशासन, सुरक्षा, कला आदि विधाहरूमा जीवन खर्चिएकाहरू राजनीतिमार्फत वैतरणी पार गर्ने लालचमा छन्। तन्नेरीको बलिदान र सपनाले निर्मित देशमा पुराना अनुहार र पुरातन विचार हावी हुनु असलमा भद्दा मजाक सिवाय केही हुन सक्दैन।

comments powered by Disqus

रमझम