९-१५ फागुन २०७२ | 21-27 February 2016

भोलिको भय

Share:
  
- मनिष झा

एक व्यवसायिक संस्थाको सञ्चालकको हैसियतले दुई महीनाअघि मैले सम्पूर्ण सहकर्मीमाझ् माफी मागें। कारण थियो, समयमै तलब दिन नसक्नु। मैले आफ्नो यस्तो असहजता एक उद्यमी साथीसँग बाँडें। तर, उनले त आफ्नो व्यवसायमा पाँच महीनासम्म तलब ढिलो भएको पीडा सुनाए। म झ्नै दिक्क भएँ।

२०६० सालमा स्नातक पढ्न म जनकपुरबाट उपत्यकामा आएँ। मेरो कलेज एक अमेरिकी विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित थियो। अधिकांश विद्यार्थी अध्ययन सकेर अमेरिकी कलेजमा स्थानान्तरणको प्रयास गर्थे। केही साथी भिसा पाएकै दिनदेखि अन्य साथीलाई दोस्रो दर्जाको व्यवहार गर्थे। त्यस्तो व्यवहारले ममा पनि ईख नपलाएको हैन। तर, त्यो वेला म 'आफ्नो जीविकोपार्जन होइन, अरूको जीवनमा सारथि बन्ने प्रयत्न गर्नू' भन्ने बुबाको भनाइलाई कसरी साकार पार्ने भनी सम्झ्न्थें। त्यसो गर्न स्वदेश नै बस्नुपर्छ भन्ने लाग्थ्यो।

३५ वर्षे उमेर, औसत राम्रो शिक्षा, १२ देशमा तालीम/अध्ययन। १२ वर्षको व्यावसायिक यात्रामा रहँदा मैले विभिन्न खाले अनुभवसँग आत्मसात् गरें। त्यसपछि भने 'आफैं केही गरौं' भन्ने ऊर्जाले प्रेरित गर्‍यो। अनि विगतमा आबद्ध संस्थाबाट फर्निचर, कम्प्युटर जस्ता सामग्री सापट मागेर तीन वर्षअघि 'फ्याक्ट्स नेपाल' शुरू गरें, जसले सूचना र यससम्बन्धी अनुसन्धानमा काम गर्छ।

संस्था दर्ताको प्रक्रियामा सरकारी कर्मचारीको व्यवहार भोग्दा मैले देश विकासमा सघाउ पुग्ने नभई अपराध नै पो गर्न लागेछु कि भन्ने महसूस गर्न बाध्य नबनाएको पनि होइन। करदाता बनिरहँदा कर कार्यालयले नै हौसलाको साटो निराश नतुल्याएको पनि होइन। तर, मेरो इच्छाशक्ति डगमगाएन।

पुरानो सम्पर्क र अनुभवका आधारमा म अन्य संस्थामा परामर्शदाता भई काम गर्थें। र, आफ्नो व्यवसाय चलाउँथें। अहिले पनि यो सिलसिला टुटिसकेको छैन, सँगसँगै साथीहरूसँग सहयोग पनि निरन्तर छ। अहिले संस्थामा देशभर पूर्णकालीन र आंशिक गरी ७० जनाले रोजगारी पाएका छन्।

१२ वैशाखको महाभूकम्प र त्यसपछिको नाकाबन्दी उत्पन्न आर्थिक भूकम्पले व्यवसाय पनि थर्मरायो। तर, हामीले हिम्मत हारेनौं।

उद्यमशीलताको 'मन्द विष'

काम र भोगाइको आधारमा म दाबी गर्न सक्छु, देश परिवर्तनको संवाहकमध्ये म पनि एक हुँ। तर, यतिवेला मेरो ध्यान कहाँ कालोबजारीमा तेल किन्न पाइन्छ? कसो गरे कर कम तिर्नुपर्छ भन्नेतिर जबर्जस्ती पुग्ने गर्छ। दक्ष कर्मचारी विदेशिनबाट जोगाउने चिन्ता, चन्दा आतंकबाट बच्ने तरीका सोच्दैमा अधिकांश समय खर्च हुन्छ। म चाहन्छु, मेरो समय कतिपय मह140वपूर्ण अवधारणा र व्यवस्थापकीय तकनिक प्रयोगमा खर्च होस्। तर, धेरैजसो म तिनै समस्यामा अल्झिरहेको हुन्छु, जुन ममाथि अकारण थोपरिएको छ। केही स्वाभिमानी अभिमान बाँकी छ, जसले मलाई आफ्नो काम पूरा गर्न नझुक्न प्रेरणा दिन्छ। तर, थाहा छैन बाध्यताका अघि मेरो स्वाभिमान कतिञ्जेल टिक्छ!

“नेपालमा व्यवसाय गर्नु भनेको टेनिस कोर्टमा र्‍याकेट लिएर उभिएको खेलाडीले क्रिकेट बलको सामना गर्नु जस्तै हो”, उद्योगपति विनोद चौधरीले एकपटक छलफलका क्रममा भनेका थिए। कुरा साँचो रहेछ, नेपाल यतिखेर साँच्चै अनिश्चयको देश बनेको छ।
सन् १४९२ मा जतिवेला अमेरिका पत्ता लाग्यो, त्यो वेला हाम्रा पाटन र भक्तपुर दरबार क्षेत्र समृद्धिका प्रतीक बनिसकेका थिए। तर सन् १९२७ मा भक्तपुरमा कामधेनु चर्खा प्रचारक महागुठी संघ नामक पहिलो संस्था दर्ता हुँदा अमेरिकाको मिचिगन विश्वविद्यालयमा उद्यमशीलता विषयको अध्यापन शुरू भइसकेको थियो। हामी त्यसै अल्झियौं।

पहिले राजा–रजौटाले दरबारमा आयोजित कुनै उत्सवको निम्तालुको सूचीमा सबैभन्दा पहिले भाइ–भारदार, प्रशासक, अन्य इच्छुक महानुभाव, साधु, सन्त र अन्त्यमा मात्रै साहू–महाजन पर्दथे। हाम्रा पुर्खाले निजी क्षेत्रलाई विकासको प्रमुख मेरुदण्ड न पहिले सम्झे न अहिले नै सम्झेका छन्।

म र मजस्ता धेरै युवा विदेश जान नपाएर होइन देश बनाउनुपर्छ भनेर यहाँ बसेका हुन्। विडम्बना, सरकार भने हामीलाई नै विदेशिन दबाब दिइरहेको छ। लाग्छ, देशलाई राजनीतिज्ञ र निजामती कर्मचारी मात्र भए पुग्छ, नयाँ सोच र जोशले भरिपूर्ण युवा चाहिन्न।

पूर्वसचिव खेमराज नेपालले आफ्नो पुस्तक 'समाज, संस्कार र शासन' मा लेखेका छन्– 'यो देश कसरी चल्ने भन्ने हैन, यसरी नै चल्ने हो कि भन्ने चिन्ता छ।' नसुधि्रएको देश हेर्दा थपक्क जागीर नखाएर वा विदेश नगएर गलत त गरिनँ भन्ने प्रश्नले बारम्बार खाइरहन्छ। आफूलाई मीठो लागे पनि परिणामको डरले सताउँछ। जस्तो कि, एउटा मीठो स्वादको विष, जो खाइरहूँ लाग्छ, तर खाइसकेपछि अवस्था कल्पना पनि गर्न सकिन्न।

comments powered by Disqus

रमझम