९-१५ फागुन २०७२ | 21-27 February 2016

सोफा सजावट

Share:
  
बैठक कोठामा अनिवार्य बनेको सोफा सेटले घरको सौन्दर्य पनि बढाउँछ।

घरका कोठाहरुमध्ये धेरैको जमघट हुने बैठक कोठा नै हो। त्यसैले अन्य कोठाभन्दा बैठक कोठा व्यवस्थित हुनुका साथै चिटिक्क देखिनुपर्छ। यसमा सोफाको भूमिका महत्वपूर्ण हुन्छ।

कपन, बूढानीलकण्ठकी रञ्जिता सुवेदी (२८) ले बैठक कोठाको तीनै दिशामा सोफा सेट राखेकी छिन्। मूल ढोकाबाट बैठक कोठामा पस्ने वित्तिकै देखिने सोफाले बैठक कोठाको सुन्दरता थपेको बताउँदै उनी भन्छिन्, “पाहुनासँग मात्र होइन, परिवारसँगै पनि सोफामा बसेर चिया–नास्ता गर्दै कुराकानी गरे आत्मीयता बढ्छ।”

कुमारीपाटी, ललितपुरस्थित भेराइटी ट्रेडर्स फर्निचर स्टोरका बिक्री प्रबन्धक अनिल दाहाल सोफाप्रतिको आम दृष्टिकोण नै परिवर्तन भएको बताउँछन्। उनी भन्छन्, “पहिले सोफा रहर थियो, तर अहिले बाध्यता जस्तै भएको छ।”

सोफा किन्नुअघि

आगन्तुकलाई ध्यानमा राखी घरको बैठक कोठा, कार्यालयको प्रतीक्षा कोठा तथा लबीमा काउच तथा सोफा राखिन्छ। पहिले पहिले पाहुनालाई काठ वा बेतको कुर्सीमा बसाए राम्रो मानिन्थ्यो। तर, अहिले यो ठाउँ सोफाले लिएको छ। बजारमा आवश्यकता र बजेट अनुसारका विभिन्न प्रकारका सोफा सेट किन्न पाइन्छन्।

सोफा किन्नुअघि गुणस्तर र डिजाइनमा विशेष ध्यान दिनुपर्छ। तर, योजना बनाइरहँदा कोठाको आकारलाई बिर्सनु हुन्न। पाँच सीट हुने तीन पिस सोफा सेटको चल्ती रहे पनि अहिले बजारमा सात सीट, तीन सीट भएका सेटका साथै सिङ्गल सोफाहरु पनि उपलब्ध छन्।

चाबहिलस्थित प्राइम फर्निचर एण्ड फर्निसिङका उत्तम प्रजापति कोठाको कुन भाग र कति क्षेत्रफलमा सोफा राख्ने भन्ने निर्क्योल गरेर मात्र डिजाइन छनोट गर्न सुझाउँछन्। उनी अचेल बटम, हेभी मन्दिर, कर्नर, कुशन सोफाहरु चल्तीमा रहेको बताउँछन्। उनी भन्छन्, “कर्नरमा सेट हुने र आकर्षक पनि देखिने हुनाले अहिले कर्नर सोफा बढी चलेको छ।” उनका अनुसार, काठ देखिनेभन्दा कपडाले मोडेका सोफामा उपभोक्ताको रुचि बढ्दो छ। “काठको फ्रेममा फेब्रिक, कपडा, फमको प्रयोग गरिएका सोफा किन्दा कोठामा छिर्ने प्रकाशका आधारमा रङ छनोट गर्नुपर्छ”, प्रजापतिको आग्रह छ।

भेराइटी ट्रेडर्स फर्निचर स्टोरका बिक्री प्रबन्धक दाहाल घरको सुन्दरता र डेकोरेशनमा ध्यान दिनेले नयाँ डिजाइनका फेब्रिक निर्मित सोफा छान्नुपर्ने बताउँछन्। रु.१३ हजारदेखि रु.६५ हजारसम्मका सोफा सेट बिक्री भइरहेको बताउँदै उनी भन्छन्, “'एल सेप' कर्नर सोफा बढी बिक्री हुने गरेको छ।”

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम