पहिलो कारण गत पुसमा भारतमै भएको सुजुकी साफ च्याम्पियनसिपमा नेपालको निराशाजनक प्रदर्शन नै थियो, जहाँ नेपाल अंकविहीन भएर समूह चरणबाटै बाहिरिएको थियो। दोस्रो, २३ पुसमा विश्व फूटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको वरियताक्रम थियो, जहाँ कुनै वेला (सन् १९९३) मा १२४औं स्थानसम्म पुगेको नेपाल १९६औं स्थानमा झ्ारेको थियो। दक्षिण एशियाली देशहरूमध्ये पुछारमा पुगेको नेपालको यो स्थान फूटबल इतिहासकै सबैभन्दा खराब बन्यो।
२३ वर्षअघि छैटौं साग जितेयता एउटै पनि अन्तर्राष्ट्रिय पदक नजित्नु आलोचनाको तेस्रो कारण थियो। त्यति मात्रै होइन सन् १९९९ मा काठमाडौंमा आयोजित साग यता नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलसम्मको यात्रा पनि तय गर्न सकेको थिएन। २० भदौ २०७० मा दशौं साफमा भारतलाई पराजित गरेयता नेपालले एउटै जीत पनि निकाल्न सकेको थिएन।
चौथो कारण स्वयं अखिल नेपाल फूटबल संघ (एन्फा) र खेलाडी थिए। एन्फा अध्यक्ष गणेश थापामाथिको फिफाको १० वर्षे प्रतिबन्ध, राष्ट्रिय टोलीका कप्तान सागर थापा र उपकप्तान सन्दिप राईसहित चार खेलाडी र एक प्रशिक्षकलाई एशियाली फूटबल महासंघ (एएफसी) ले आजीवन प्रतिबन्ध लगाएको घटनाले नेपाली फूटबलको नूर गिरेको थियो।
सिण्डिकेट भत्किएको परिणाम
हुन पनि २६ वर्षीय नवयुगले गएको १५ भदौमा मात्र राष्ट्रिय टीममा अवसर पाएका थिए। भारतको पुनेमा भएको मैत्रीपूर्ण खेलमा प्रशिक्षक प्याटि्रक ओसेम्सले जगजित श्रेष्ठको साटो नवयुगलाई मैदान पठाएका थिए। मंगलबारे, इलामको उदित क्लबबाट फूटबल खेल्न थालेका उनले हिमालयन शेर्पाको 'बी डिभिजन' हुँदै २०६७ देखि त्रिभुवन आर्मी क्लबबाट 'ए डिभिजन' खेल्ने अवसर पाएका थिए।
प्रशिक्षक ग्राहम रोबर्टले त सार्वजनिक रूपमै खेलाडी छनोटमा एन्फा नेतृत्वको हस्तक्षेपको विरोध गरेका थिए। ग्राहमकै कार्यकालका सहायक प्रशिक्षक र हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक मेघराज केसी टीमको जीतको बलिलो आधार नै टीमको बलियो संरचनालाई मान्छन्।
राष्ट्रिय टीमका पूर्व सहायक प्रशिक्षक हरि खड्का भारतसँग १–० गोलले पछिपरेको अवस्था उल्ट्याएर नतीजा आफ्नो पक्षमा पार्नुमा प्रशिक्षक राजुकाजी शाक्यको रणनीतिले काम गरेको बताउँछन्। उनी भन्छन्, “४१औं मिनेटमा प्रकाश बुढाथोकीलाई मैदानमा पठाउने प्रशिक्षकको निर्णयको प्रत्यक्ष प्रभाव नतीजामै देखियो।” सन् १९८४ र १९९३ को सागमा स्वर्ण जित्दा टीमका सदस्य रहेका शाक्यले मैदानभित्रको कमजोरी सही समयमा पहिचान गरेको खड्काको भनाइ छ।
विश्लेषक संजीव मिश्र दायाँ–बायाँबाट बल लगेर विपक्षी पोष्टमा आक्रमणको साटो बीचैबाटै पोष्टमा प्रहार गर्ने रणनीतिले काम गरेको बताउँछन्। खासगरी बंगबन्धु कप यता नेपालले यस्तो 'आक्रमण रणनीति' बनाएको थियो। मिश्र भन्छन्, “बीचबाट आक्रमण गर्दा विपक्षीले बढी गल्ती गर्छन्। भारतसँगको खेलमा अन्जनको बलमा उनीहरूले धेरै फाउल गरे।” उनी पहिलो २० मिनेट दबाबमा खेलेर पनि गोल हुन नदिनुलाई नेपाली डिफेन्स लाइनको सफलता मान्छन्।
राष्ट्रिय टीमका गोलकिपिङ प्रशिक्षक उपेन्द्रमान सिंह भारतलाई हराउन गोलकिपर विकेश कुथुको प्रदर्शन सम्झनलायक मान्छन्। “७१औं मिनेटमा नेपालले २–१ गोलले अग्रता लिए पनि अन्तिम मिनेटसम्म विकेशले उत्कृष्ट बचाउ गरिरहे”, मध्यपुर थिमी क्लबदेखि नै विकेशलाई प्रशिक्षित गर्दै आएका उनी भन्छन्।
योजनाविहीन एन्फा
स्वर्ण जितेर स्वदेश फर्केका खेलाडीलाई भव्य स्वागत गरियो। युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले जनही रु.५ लाख दिने घोषणा पनि गरे। उच्चपदस्थ अधिकारीहरूले 'सेल्फी' पनि खिचे। तर यतिले मात्र फूटबल विकास नहुने निश्चित छ।
२३ वर्षपछि स्वर्ण पदक जितेको नेपालसँग अहिलेको जीत जोगाउने सबैभन्दा ठूलो चुनौती छ। गएको भदौमा दक्षिण एशियाली फूटबल महासंघ (साफ) च्याम्पियन बनेको यू–१९ टोलीको योगदानको अहिले चर्चा हुन छाडिसकेको छ। उनीहरूसँगै यू–२३ र राष्ट्रिय टीमका खेलाडीलाई 'इन्गेज्ड' गराइराख्ने योजना एन्फासँग छैन।
नेपालका लागि सन् २०१७ को अन्त्यमा बाङ्लादेशमा हुने साफ च्याम्पियनसीप नै सबैभन्दा नजिकको प्रतियोगिता हो। २०१८ मा साग नेपालमा हुँदैछ। एक वर्षपछि हुने बंगबन्धु गोल्डकप निमन्त्रणामा भर पर्छ।
यू–१९ टीम नेपाललाई साफ च्याम्पियन र बंगबन्धु कप जिताएका प्रशिक्षक बालगोपाल महर्जन अन्तर्राष्ट्रिय प्रतियोगिता नभए पनि खेलाडीलाई बाह्रै महीना व्यस्त राख्नुपर्ने बताउँछन्। उनी भन्छन्, “फूटबलमै भविष्य सुरक्षित छ भन्ने ग्यारेण्टी गराउन सक्नुपर्दछ।” विश्लेषक पाण्डे सरकार र एन्फा गम्भीर हुने हो भने नेपाल दक्षिणएशियाकै शक्तिकेन्द्र बन्ने बताउँछन्। प्रशिक्षक केसी पनि दीर्घकालीन योजना बनाएर अघि नबढ्ने हो भने दुई वर्षपछि हामी अहिलेभन्दा पनि कमजोर अवस्थामा पुग्नेतर्फ सचेत गराउँछन्। “निश्चित योजना बनाएर अघि बढ्नुको विकल्प छैन”, उनी भन्छन्।
साग शुरू हुनुभन्दा एक महीना अघिसम्म पनि सरकारद्वारा विनियोजित रकम निकासा भएको थिएन। सरकारी अधिकारीहरूको गैर–जिम्मेवारी बुझ्न यही उदाहरण काफी छ। १२ वैशाखको महाभूकम्पले क्षति पुगेको दशरथ रंगशाला अभ्यासलायक छैन। १९७२ मै चीनको बेइजिङमा पहिलो अन्तर्राष्ट्रिय फूटबल खेलेको नेपालमा अहिलेसम्म अन्तर्राष्ट्रियस्तरको एउटै पनि रंगशाला नहुनुभन्दा ठूलो विडम्बना के होला?
उपेन्द्रमान सिंह जीतको जिम्मेवारी वहन गर्न खेलाडी पनि तयार हुनुपर्ने बताउँछन्। अझ्ौ पनि धेरै राम्रा खेलाडी टीम बाहिरै रहेको स्मरण गराउँदै उनी भन्छन्, “एउटै सफलताले हौसिने हो भने खेलाडी मात्र होइन, देशलाई नोक्सानी हुन्छ।”
राष्ट्रिय टीमबाट सबैभन्दा बढी गोल (१३) गरेका हरि खड्का पनि खेलाडीलाई 'हिरोइज्म' बाट बच्न सुझाव दिन्छन्। १६ वर्षकै उमेरमा पाकिस्तानविरुद्ध निर्णायक गोल गरेका विमल घर्ती मगरलाई एकाएक स्टार बनाइएकै कारण उनीमाथि दबाब परेको खड्काको तर्क छ। उनी भन्छन्, “विमलको प्रतिभामा शंका छैन। तर उनी आज होइन, भोलिका स्टार हुन् भन्ने बिर्सनु हुन्न।”
नेपाली प्रशिक्षकले दुई उपाधि दिलाएपछि विदेशी प्रशिक्षक नै चाहिंदैन भन्ने आवाज पनि उठेको छ। तर विदेशी प्रशिक्षकको भूमिका नजरअन्दाज गर्नु दीर्घकालीन रूपमा आत्मघाती हुने जानकारहरू बताउँछन्। राष्ट्रिय टीमका पूर्व सहायक प्रशिक्षक मेघराज केसी नेपाली फूटबलको स्तर एशिया हुँदै विश्वकपसम्म पुर्याउने हो भने अनुभवी विदेशी प्रशिक्षकबाट सिक्न हिचकिचाउन नहुने बताउँछन्। यथार्थ के हो भने नेपालमा आजसम्म एएफसीबाट ए श्रेणीको लाइसेन्स प्राप्त प्रशिक्षक नै छैनन्।
महिलाले धाने साख
भारतमा सकिएको १२औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ कास्य गरी ६० पदक जित्यो। तीमध्ये ३७ पदकको श्रेय महिला खेलाडीलाई जान्छ। नेपालले जितेका तीनमध्ये दुई स्वर्ण उसुकी निमा घर्ती मगर र जुडोकी फुपू ल्हामु खत्रीले जिते। पुरुषले ८ रजत र १४ कास्य जित्दा महिलाले १५ रजत र २० कास्य पदकमा आफ्नो नाम लेखाए।
बढी पदकको आशा गरिएको तेक्वान्दोमा महिलाले पाँच रजत हासिल गर्दा पुरुष खेलाडी दुई रजत र तीन कास्यमा समेटिए। पौडीमा नेपालले जितेको चार पदक (एक रजत र तीन कास्य) एक्लैले जित्दै गौरिका सिंहले कीर्तिमान कायम गरिन्।
बक्सिङका तीनमध्ये दुई रजत महिलाले नै जिते। ट्रायथलन मिक्स टीमले रजत प्राप्त गर्दा दुई महिला सहभागी थिए। महिला फूटबल खेलमा पनि महिला टीमले रजत पाए। ट्रायथलनमा महिलाले एक रजत र एक कास्य जिते। खो–खोमा भने महिला तथा पुरुष टीम दुवैले कास्य जिते। कबड्डी, हक्की, ब्याडमिन्टन, स्क्वास र भलिबलमा पदक जित्ने पनि महिला खेलाडी मात्र भए।
पुरुषको तुलनामा महिला खेलाडीले सबै विधामा उल्लेख्य पदक हासिल गरे पनि चर्चा र सम्मानमा भने उनीहरू पछि परे। त्यसो त सबै खेलमा महिला प्रतिस्पर्धा समेत राखिएका कारण यसपटकको सागलाई लैंगिक समानताको महोत्सव पनि मानिएको थियो।
सविता श्रेष्ठ