९-१५ फागुन २०७२ | 21-27 February 2016

पुनःनिर्माणमा पाटन

Share:
  
- सविता श्रेष्ठ
भूकम्पपछि क्षतिग्रस्त पाटन दरबार क्षेत्र पुनःनिर्माणमा स्थानीयवासी आफैं कस्सिएका छन्।

विश्व सम्पदा सूचीमा रहेको ललितपुरस्थित पाटन दरबार क्षेत्रमा अचेल दिनभरि छिनो, हथौडाको ट्याक–ट्याक, टुक–टुक सुनिन्छ। भित्रै पसेर हेर्दा भने कालिगडको एक समूह काठमा बुट्टा कुँद्दै गरेको देखिन्छ। दशैंयता भण्डारखालमा भक्तपुर–१४ नासमनाका मचामान शिल्पकार (४२) सँगै ६ जना बुट्टा बनाउने काममा खटिएका छन्।

१२ वैशाखको भूकम्पपछि भत्किएका दरबार परिसरका काठका सामान भण्डारखालमा राखिएको थियो। त्यही काठ पुनः प्रयोग गर्ने उद्देश्यले पुनःनिर्माण थालिएको हो।
पुरातत्व विभागका अनुसार, भूकम्पले पाटन दरबार क्षेत्रका ६ वटा सम्पदा पूर्ण क्षति भएका थिए भने १५ वटामा आंशिक क्षति पुगेको थियो। हरिशंकर, चारनारायण, मणिमण्डप, राधाकृष्ण मन्दिर, सुन्दरी चोकको पूर्वी लङ्ग (भित्ता), सोठको नारायण मन्दिर क्षतिग्रस्त भएका छन् भने ढुङ्गेधाराको सत्तल पनि भत्किएको छ। कृष्ण मन्दिरमा पनि तत्काल पुनःनिर्माण थाल्नुपर्ने देखिन्छ।

तस्वीरहरुः सविता श्रेष्ठ

मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधान भूकम्पपछि भत्किएका सम्पदाको सामान तथा भग्नावशेष स्थानीयको पहलमा एकैठाउँमा राखिएको बताउँछन्। उनी भन्छन्, “त्यतिवेला बुद्धि पुगेकाले अहिले बनाउन सजिलो भइरहेको छ।”

पुरानै काठ

पुराना काठलाई सम्पदा अनुसार वर्गीकरण गरी काम नै नलाग्ने बाहेककालाई पुनः प्रयोग गर्न थालिएको छ। सम्पदामा प्रयोग भएका पुराना काठ सकेसम्म संरक्षण गरी उपयोग गर्ने नीति बनाइएको काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्ट (केभीपीटी) का निर्देशक रोहित रञ्जितकार बताउँछन्। “बिग्रेको, भाँचिएको काठ पनि मर्मत हुनेसम्मका बनाउँदैछौं”, उनी भन्छन्। भाँचिएर बाँकी भएका काठलाई स्टील पाता, काँटीले नयाँ काठमा गाँसेर प्रयोग गर्ने प्रयास गरिरहेको उनको भनाइ छ।

ट्रष्टले लामोसमयदेखि उपत्यकाका सम्पदाको जीर्णोद्धार गरिरहेको छ। पाटन दरबार क्षेत्रमा ट्रष्टले दुई वर्ष अघिदेखि जीर्णोद्धार थालेको हो। अहिले दरबारभित्र रहेका तलेजु र देगु तलेजुका दुई मन्दिर र सुन्दरी चोक पूर्वी लङ्ग (भित्ता) को निर्माण पनि सँगसँगै भइरहेको छ। तर, भूकम्पपछि थप निर्माणको दायित्व आइलागेको छ।

स्वीकृतिमा ढिलाइ

दरबार क्षेत्रमा भत्किएका हरिशंकर, चारनारायण, विश्वनाथ, कृष्ण मन्दिर, दुई वटा सत्तल (पाटी) र ठूलो घण्टी बनाउन अनुमतिका लागि ट्रष्टले गएको भदौमै पुरातत्व विभागसमक्ष निवेदन दिएको थियो। तर, विभागले स्वीकृति दिएको छैन। पुनःनिर्माणका लागि ट्रष्टले स्रोत समेत जुटाइसकेको छ।

रोहित रञ्जितकार।

“आफैं पैसा जुटाएर बनाउँछौं भन्दा पनि विभागले ढिलासुस्ती गरिरहेको छ”, टोल सुधार संघका अध्यक्ष प्रधानको गुनासो छ। संघले स्वीकृति पाए मणिमण्डपका दुईमध्ये एउटा सत्तल आफैं बनाउने प्रस्ताव गरेको छ।

“सम्पदाहरु समयमै मर्मतसम्भार भए ठूलो क्षतिबाट बच्छन्”, ट्रष्टका निर्देशक रञ्जितकार भन्छन्। ललितपुरस्थित स्मारक तथा दरबार हेरचाह कार्यालयका संग्रहालय अधिकृत काजीमान प्याकुरेल भने मणिमण्डप, योगेन्द्र मल्लको सालिक र विश्वनाथ मन्दिरको पुनःनिर्माणको काम पुनःनिर्माण प्राधिकरणले अघि बढाएको बताउँछन्।

प्यागोडा भाइदेगः

१९९० सालको भूकम्पमा भत्किएको पाटनको भाइदेगः मन्दिर पुरानै प्यागोडा शैलीमा बनाइँदैछ। परम्परागत वास्तुकलामा ध्यान नदिई बनाइएको मन्दिरलाई पुरानै संरचनामा फर्काउने काम यहाँको सांस्कृतिक सम्पदा संरक्षण समूहले गरिरहेको छ।

दुई वर्षअघि नै थालिएको मन्दिर पुनःनिर्माणमा अहिले काठका थाम, ढोका, बुट्टा बनाउने काम सकिएको छ। पाटन दरबार क्षेत्रमै मन्दिरका २२ वटा टुडाल पनि भेटिएपछि मन्दिर पहिलेकै शैलीमा बनाउन थालिएको केभीपीटीका निर्देशक रञ्जितकार बताउँछन्।

comments powered by Disqus

रमझम