९-१५ फागुन २०७२ | 21-27 February 2016

बुद्धभूमिको व्यथा

Share:
  
- अरुणा उप्रेती
बुद्धजन्मस्थल लुम्बिनी परिसरको फोहोरले तीर्थालुको मनमा शान्ति होइन खिन्नता अनुभूत गराउँछ।

गौतम बुद्ध आजको नेपालको भूगोलभित्र जन्मिएका हुन् भारतमा होइन भन्ने तथ्य प्रवाह गर्न सरकारी र गैरसरकारी संस्थाहरू लागिपरेका देखिन्छन्। प्रत्येक वर्ष बौद्ध परम्परा र दर्शनबारे लुम्बिनीमा थुप्रै कार्यक्रम गरिन्छ। लुम्बिनी विकास कोष नै छ। बौद्ध विश्वविद्यालय नै सञ्चालित छ। तर, शारीरिक र आध्यात्मिक रूपमा स्वस्थ रहन आवश्यक सरसफाइमा चाहिं सबैले बेवास्ता गरिरहेका रहेछन्।

तस्वीरमा हेर्दा लुम्बिनी उद्यान भव्य लाग्छ। तर, त्यहीं पुग्दा भने आशामाथि तुषारापात हुन्छ। उद्यानको मूल ढोका पस्ने बित्तिकै घाँस नै छोप्ने गरी प्लाष्टिक र कागजको थुप्रो देखिन्छ। नजिकैको सानो पोखरी फोहोर छ। धन्न, मायादेवी मन्दिर छेवैको पोखरी चाहिं केही सफा छ। तर, मन्दिरभित्रको बुद्ध मूर्ति र खुट्टाको छायाँ भएको ठाउँ पुग्दा फेरि खिन्नता बढ्छ। ढुंगाहरूमा जथाभावी अबिर मिसाइएको कुनै चम्किलो वस्तुले पोतिएको हुनाले पत्थरको वास्तविक रूप हराउँदै गएको छ। भक्तजनलाई 'कृपया, यहाँ सिन्दुर नदलिदिनुहोला' भनेर अनुरोध टाँस गरेको समेत देखिंदैन। फुत्तफुत्त चढाइएका पैसालेेपनि स्वरुप बिगारेको छ। भित्रै पसी गरिने पूजाले अशोक स्तम्भ कुरुप बन्दै गएको छ। प्लाष्टिक, रंगीचंगी कागज, बोतलले तीर्थस्थल होइन, 'डम्पिङ साइड' को झलक दिन्छ।

सिद्धार्थले २९ वर्ष बिताएको लुम्बिनी उद्यानबाट २८ किलोमीटर पश्चिम तिलौराकोटको दर्शन पनि फोहोरबाटै शुरू हुन्छ। घाँस महीनौंदेखि काटिएकै छैन। प्राचीन दरबारको ढोका अपहेलित लाग्छन्। सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछि पहिलोपटक कपिलवस्तु आउँदा बसेको कुदान क्षेत्र पनि अव्यवस्थित छ। ऐतिहासिक स्थल गौचरन बनेको छ। पोखरीमा पानी कम र फोहोर बढी देखिन्छ। यहाँ दक्षिणकोरिया, थाइल्याण्डलगायतका थुप्रै मुलुकका पर्यटक पाल लिएर रात बिताउन आउँछन्। तर पंक्तिकार त्यहाँ घुमिरहँदा एक व्यक्ति खुला ठाउँमा पिसाब गरिरहेका थिए। “लुम्बिनीबारे जति प्रचारप्रसार गरिएको छ, व्यवस्थापनमा वास्ता नै गरिएको छैन”, कपिलवस्तुका पत्रकार गोपाल भण्डारी भन्दैथिए।

बेखबर कोष!

आश्चर्य, लुम्बिनीको बेहालबारे स्वयं कोष भने बेखबर छ। “आजसम्म कसैले लुम्बिनी क्षेत्र फोहोर भयो भनेकै थिएन। कर्मचारी कम छन्, समस्या छ”, कोषका एक कर्मचारी यतिसम्म गैरजिम्मेवार भेटिए। तर, समस्या स्थानीय व्यवसायीमा पनि रहेछ। करोडौं खर्च गरी होटल खोल्ने व्यवसायी स्वयं 'फोहोरी' रहेछन्। लुम्बिनी उद्यान नजिकैको धारा, पर्खालसँगैको कुलोमा भरिएका फोहोरका स्रोत नै स्थानीय होटल रहेको कोष कर्मचारीको भनाइले पनि यसलाई पुष्टि गरेको छ। होटलको होर्डिङ, मेनु र कोठाकोठामा लुम्बिनीका सफा तस्वीर राखेर प्रचार गर्ने होटलका ढोकामै भने फोहोर छ। मैले फोहोरबारे गुनासो गरेपछि एक होटल व्यवसायी उल्टै जंगिए, “के सरसफाइ गर्ने काम हाम्रो मात्र हो, नगरपालिकाले चाहिं जिम्मेवारी लिनुपर्दैन?” आफ्नै अनुहारको फोहोर पुछ्न पनि नगरपालिका पर्खने उनको धारणाप्रति दया लाग्यो।

हुनत 'सफाइ गर्न नसक्नेले फोहोर पनि नगरिदिनु होला', 'फोहोर फ्याँके रु.५ हजार जरिवाना गरिनेछ' भन्ने जस्ता अनुरोध र चेतावनी केही ठाउँमा पढ्न नपाइएको होइन। तर, प्रभाव कतै देखिएन।

लुम्बिनी विकासका गुरुयोजनाबारे पटकपटक सुनिएको छ। तर, यो कस्तो गुरुयोजना, जहाँ सरसफाइ जस्तो आधारभूत कुरा पनि प्राथमिकतामा पर्दैन? के फोहोरी वातावरणमा शान्ति अनुभूति गर्न सकिन्छ? पक्कै सकिंदैन। त्यसैले, पवित्र बुद्धभूमि पुगेर मैले लुम्बिनी परिसर सरसफाइकै कामना गरे।

comments powered by Disqus

रमझम