९-१५ फागुन २०७२ | 21-27 February 2016

सम्भव होला 'टाइम ट्राभल'?

Share:
  
- सञ्जीव शर्मा
गुरुत्वाकर्षण तरंगले ब्रह्माण्डको उत्पत्ति, नवीन आविष्कारका साथै मानिसको भूत–भविष्य यात्रा समेत गराउन सक्ने सम्भावना बढाएको छ।

आइन्सटाइनले अन्तरिक्षमा रहेका ठूला पिण्डबाट निस्कने गुरुत्वाकर्षण शक्तिले अन्तरिक्ष र समयलाई तन्काउने–खुम्च्याउने बताएका थिए। यही ज्यामिति अनुसार तय भएको बाटोमा पृथ्वीले सूर्यको परिक्रमा गरेको देखाउने लिगो प्रयोगशालाले बनाएको तस्वीर।

लिगो प्रयोगशालामा काम गर्दै प्राविधिज्ञ।
११ फेब्रुअरीमा अमेरिकी वैज्ञानिकहरूले गुरुत्वाकर्षण तरंग पत्ता लागेको सार्वजनिक गरेपछि ब्रह्माण्डको सृष्टि र अन्तरिक्षबारे नयाँ तथ्य पत्ता लाग्ने ढोका खुलेको छ। अमेरिकास्थित प्रयोगशाला 'द लेजर इन्टरफेरोमिटर ग्राभिटेस्नल वेभ अब्जर्भेटरी (लिगो) मा गुरुत्वाकर्षण तरंग ध्वनिसहित रेकर्ड भएपछि ब्रह्माण्डबारे नयाँ जानकारीहरु प्राप्त गर्न सकिने भएको हो। त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. उदयराज खनालको भनाइमा यो गुरुत्वाकर्षण तरंगको माध्यमबाट इलेक्ट्रोम्याग्नेटिक तरंगले देखाउन र बुझाउन नसकेका अन्तरिक्षका अनेक स्थानको यात्रा गर्ने र समयको इतिहास खोतल्न सकिनेछ।

“यो तरंगको खोजसँगै ब्रह्माण्डको उत्पत्ति अर्थात् बिगब्यांगबारे बुझ्न धेरै सजिलो हुनेछ”, खनाल भन्छन्, “अन्तरिक्षका अनेक रहस्य खुल्नेछन्।” तरंगको मद्दतले मानिसलाई आफ्नो भूत र भविष्यतर्फ नियाल्न मद्दत पुग्ने चर्चा पनि चलेको छ। “यदि भूत र भविष्यतर्फको यात्रा सम्भव छ भने त्यसको सारथि यही गुरुत्वाकर्षण तरंग नै हो”, खनालको तर्क छ। लिगोमा संलग्न अमेरिकी भौतिकशास्त्री ब्रेन ग्रिनले पनि पछिल्लो खोजले 'टाइम ट्राभल' को सम्भावना जीवितै राखेको छ।

पृथ्वीभन्दा एक अर्ब ३० करोड प्रकाश वर्ष (प्रकाशले अन्तरिक्षमा हाम्रो पृथ्वीको एक वर्षमा यात्रा गर्ने दूरी। जस अनुसार एक प्रकाश वर्षमा प्रकाशले ९४.६१ खर्ब किलोमीटर यात्रा गरेको बुझाउँछ।) टाढा सूर्यभन्दा ३६ गुणा र २९ गुणा ठूला दुई ब्ल्याक होल घुम्दै आपसमा समाहित हुने प्रक्रियामा सूर्यभन्दा तीन गुणा शक्तिशाली तरंग उत्पन्न भयो। अन्तरिक्षलाई तन्काउँदै–खुम्च्याउँदै १ अर्ब ३० करोड वर्ष लगाएर पृथ्वीसम्म आइपुगेको त्यही तरंगलाई १४ सेप्टेम्बर २०१५ मा वैज्ञानिकहरूले रेकर्ड गर्न सफल भए। तरंगको 'सिग्नल' निकै सूक्ष्म अर्थात् एउटा अणुको चौडाइ बराबरको क्रियाकलाप रेकर्ड गरिएको थियो। यही 'सिग्नल' कै आधारमा तरंगको उत्पत्तिक्रम अर्थात् ती ब्ल्याक होल कत्रा थिए, कति टाढा थिए र गुरुत्वाकर्षण तरंग कति शक्तिशाली थियो भन्ने पत्ता लागेको थियो। यो ऐतिहासिक अनुसन्धानमा सहभागी करीब एक हजार अनुसन्धानकर्तामध्ये नेपाली युवा सुदर्शन कार्की पनि एक थिए।

विख्यात भौतिकशास्त्री अल्बर्ट आइन्सटाइनले सन् १९१५ मा सापेक्षताको सिद्धान्त 'जनरल थ्यौरी अफ रिलेटिभिटी' प्रतिपादन गर्दा नै यस्तो गुरुत्वाकर्षण तरंगबारे उल्लेख गरेका थिए। उनले दुई पिण्ड एकअर्काको नजिक आउँदा वा ठोक्किंदा पनि गुरुत्वाकर्षण तरंग उत्पन्न हुने र प्रकाशको गतिमा यात्रा गर्ने अनुमान गरेका थिए। तर, त्यसको पुष्टि हुन १०१ वर्ष कुर्नुपर्‍यो।

“इलेक्ट्रोम्याग्नेटिक तरंग पत्ता लागेको ५० वर्षपछि रेडियो आविष्कार भयो। त्यसको ७० वर्षपछि अहिले हाम्रा हातहातमा मोबाइल फोन छन्”, खनाल भन्छन्, “हुनसक्छ, गुरुत्वाकर्षण तरंग पत्ता लागेको केही वर्षपछि नयाँ 'अचम्म' आविष्कार हुनसकोस्।”


तरंग (वेभ)

गुरुत्वाकर्षण तरंग (ग्राभिटेस्नल वेभ) पत्ता लाग्नु अघिसम्म मेकानिकल वेभ र इलेक्ट्रोम्याग्नेटिक वेभ मात्रै मानिसको जानकारीमा थियो। ध्वनि र पानीको तरंग जस्ता मेकानिकल वेभ प्रसार हुन माध्यम चाहिन्छ। तरंगसँगै शक्ति पनि प्रवाहित हुन्छ। सन् १८६५ मा वेलायती वैज्ञानिक जेम्स क्लार्क म्याक्सवेलले माध्यम विनै प्रसार हुने इलेक्ट्रोम्याग्नेटिक वेभको उपस्थितिबारे पहिलोपटक चर्चा गरे। सन् १८८८ मा जर्मन वैज्ञानिक हेनरिक रुडोल्फ हर्जले त्यसको पुष्टि गरे। रेडियो, मोबाइल फोन, एक्स–रे इलेक्ट्रोम्याग्नेटिक वेभकै देन हो।

ब्ल्याक होल

'ब्ल्याक होल' अन्तरिक्षको त्यस्तो स्थान हो जसको गुरुत्व शक्तिका कारण प्रकाश समेत त्यहाँ प्रवेश गरेपछि बाहिर निस्कन सक्दैन। सापेक्षताको सिद्धान्त अनुसार जब कुनै विशाल तारा विघटन हुन्छ, त्यो आफैंभित्र समेटिन थाल्छ र, ब्ल्याक होल निर्माण हुन्छ।
ब्ल्याक होल वरिपरि काल्पनिक सतह हुन्छ, जसलाई 'इभेन्ट होराइजन' भनिन्छ। ब्ल्याक होलले आफ्नो 'इभेन्ट होराइजन' सम्म पुगेका सबै वस्तुलाई खुम्च्याउँदै आफूमा समाहित गर्छ। यो क्षेत्रलाई वैज्ञानिकहरूले 'प्वाइन्ट अफ नो रिटर्न' पनि भनेका छन्।

बिगब्यांग

ब्रह्माण्डको उत्पत्ति एउटा महाविस्फोटबाट भएको भन्ने सिद्धान्तलाई महाविस्फोटको सिद्धान्त (बिगब्यांग थ्यौरी) भनिन्छ। यो सिद्धान्तका आधारमा, करीब १४ अर्ब वर्ष पहिले सम्पूर्ण ब्रह्मान्ड एउटा पारमाणिक इकाइको रुपमा थियो। महाविस्फोटका वेला अत्यधिक ऊर्जा उत्सर्जन भयो र त्यसैको प्रभावले ब्रह्माण्ड फैलिंदै गयो। विस्फोटका वेला पनि ठूलो मात्रामा गुरुत्वाकर्षण तरंग उत्पन्न भएको वैज्ञानिकहरू बताउँछन्।

अहिलेसम्मका सारा भौतिक मान्यता बिगब्यांगको यही घटनाबाट परिभाषित हुन्छन्। गुरुत्वाकर्षण तरंग पत्ता लागेपछि भने बिगब्यांगबारे बुझ्न सहयोगी हुने अपेक्षा गरिएको छ।

comments powered by Disqus

रमझम