९-१५ फागुन २०७२ | 21-27 February 2016

विनिता वत्सल

Share:
  
१९ सन्तानकी 'आमा' विनिता अर्याल (२५) धनले होइन मनले बालगृह चलाइरहेकी छन्।

डम्बरकृष्ण श्रेष्ठ

सात वर्षअघि निसी गाविस बाग्लुङका एकै परिवारका पाँच अनाथ बालबालिकाको कष्टकर जीवनबारे थाहा पाएलगत्तै बसुन्धरा, काठमाडौंकी विनिता अर्याल बाग्लुङ लागिन्। ती बालबालिकालाई काठमाडौं ल्याउन हिंडेकी १९ वर्षे विनिताको आँटलाई कसैले पत्याएन। “तपाईं आफैं भर्खरकी हुनुहुन्छ, फेरि, संस्था पनि रहेनछ। के आधारमा बच्चा सुम्पिने?” यस्ता प्रश्नको उत्तर उनीसँग थिएन। खिन्न हुँदै फर्किएकी विनितालाई पाँचै महीनापछि गाविस सचिव हरिहर पनेरुले तिनै बच्चा लिइदिन अनुरोध गरे।

आफूले नागरिकता बनाइनसकेकाले आमा रेविका कार्कीको नामबाट 'हाम्रो बाल संरक्षण धरोहर, नेपाल' नामक बाल आश्रम दर्ता गरिन्। जहाँ अहिले ३ देखि १४ वर्षका १८ जना बालबालिका छन्। “कोही पत्रिकामार्फत सम्पर्कमा आए, कोही सडकमा त कोही पुलमुनि भेटिए” उनी भन्छिन्।

बालबालिकाको स्याहार खर्च जुटाउन पार्लर खोलेकी विनिता साउदी अरब गएका श्रीमान्ले पठाएको पैसा पनि आश्रममै लगाउँछिन्। “महीनामा रु.१ लाखजति खर्च हुन्छ” उनी सुनाउँछिन्, “खर्च नपुगेर धौ–धौ हुन्छ।” र पनि धोको एउटै छ, सबै बालबालिका आफ्नै खुट्टामा उभिऊन्।

सजना बराल


लिलामीमा रु.१२ लाख

करीब रु.१२ लाखमा लिलाम भएको प्रतीक रायमाझी को चित्र।

भुल्के–५, सिरहाका प्रतीक रायमाझीले बनाएको यो चित्रकला (हे. तस्वीर) गएको साता मात्र अमेरिकाको लिलामी बजारमा ११ हजार ९०० डलर (करीब रु.१२ लाख) मा बिकेको छ। लिलामीमा राखिएको ३२ घण्टाभित्रै न्यू जर्सीका माइकल एडवार्डले यो चित्रमा बढी बोल लगाएका थिए। मिथिला कलाको कौशिकी शैलीमा नेपाली हातेकागज 'लोक्ता' मा सिर्जित यो चित्रमा दाउरे दम्पतीको दिनचर्या उतारिएको छ।

भारतको मुम्बईस्थित सर जेजे आर्ट कलेजबाट कलामा स्नातक प्रतीकको अर्को चित्र यही वर्षको साउनमा करीब रु.२५ लाखमा बिक्री भएको थियो। “अमेरिकामा बसी मिथिला कलाको प्रचार गर्न सक्नु मेरा लागि ठूलो उपलब्धि हो”, पाँच वर्षदेखि नेब्रास्का राज्यको ओमाहामा बस्दै आएका रायमाझी भन्छन्।


एक्ली एलडीओ

देशकै कम साक्षर र उच्च बालविवाह दर भएको रौतहटले पहिलो मधेशी महिला एलडीओ पाएको छ।

३ फागुनदेखि रौतहट जिल्ला विकास समितिको स्थानीय विकास अधिकृत (एलडीओ) मा नियुक्त बन्दना झा (३५) मधेशी समुदायकी एक्ली महिला एलडीओ हुन्। उपसचिव झ्ाा सम्भवतः मधेशमा खटिएकी पहिलो महिला एलडीओ समेत हुन्।

रौतहटकै बसतपुरमा जन्मिएकी झा २०६६ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेकी थिइन्। मधेशी महिलाका लागि सरकारी सेवा टाढाको कुरा भए पनि शिक्षित अभिभावकका कारण उनी 'भाग्यमानी' ठहरिइन्।

देशकै न्यून साक्षर र उच्च बालविवाह दर रहेको रौतहटमा आफ्नो नियुक्तिले चुनौती थपिएको झ्ााको अनुभव छ। महिला एलडीओ प्रवेशले जिल्लाका महिलालाई प्रेरणा दिने विश्वास पनि गरिएको छ। तर, झा भने महिला भनेर मात्रै नहुने बताउँछिन्। भन्छिन्, “आफूलाई के चाहिएको हो प्रष्ट हुनुपर्छ, प्रतिस्पर्धा गर्न चुक्नुहुन्न।”

सञ्जय साह 'मित्र', रौतहट

comments powered by Disqus

रमझम