१६-२२ फागुन २०७२ | 28 Feb - 5 Mar 2016

डाक्टर प्रकाशन

Share:
  
- महेश थापा
मोटो रकम र ट्याम खोटी अध्ययनको टन्टा बेसाउनुभन्दा डाक्टर प्रकाशन खोलेर विशेषज्ञ चिकित्सकको प्रमाणपत्र छापम् अनि त्यसको समुचित वितरणबाट देशको स्वास्थ्य सेवामा चमक लगाऔं।

बिजुलीको अनिकालमा दिउँसै बत्ती बालेर इन्भर्टरको रहलपहल चार्ज सत्यानाश पार्नु भन्दा कम बेवकूफी हुँदैन झ्ोले, खडे, खेतालादी डाक्टर भन्दै शंका प्रदेशमा सय वाटको गुलुप बाल्नु। त्यसैले कुरो सीधै डाक्टर प्रकाशनको गरम्।

कलियुगले बूलिङ्ग ट्रेन्ड पक्रेको घडीमा झूटो नडग्ने र सत्य नटिक्ने भएकाले भलाद्मीको जमानै रहेन। लोकको भलो चितायो, बैगुनी दुनियाँ उल्टै दोहोलो काढ्न तम्सिन्छ। प्रहरीले क्वाँक पारेर पेरुङ्गोमा जिप्टाएको सेताकोटे मण्डलीको दीनहीन भङ्गिमा देख्दा आफू त छाँगोबाट खसेतुल्य भइयो। मनमा बास गरेको उदात्त सेवाभावलाई फोसा ठान्दै मार्कशीट छापेको, मनमौजी नम्बर चढाएको, कक्षामा हाजिरै नभएको जस्ता छुसी विषय उठाएर छापाखाना डाक्टर भन्दै खिसियाउनु कृतघ्नताको पराकाष्ठा हो। चाहेको खण्डमा हर रत्नाकर डाँकु वाल्मीकि बन्ने सत्यबाट यसरी मुँह फेर्नु हुँदैनथ्यो।

कसैको गुजेस्ता हरेर बसे/बसाएको घरबार उजाडिदिनु आफैंमा पापकर्म हो। वयस्क मान्छे डाक्टरीको कक्षा 'बङ्क' गरेर कहाँ मुन्टियो? के गर्‍यो? भन्दै विदेशसम्म चियो गर्ने पुलिसिया हर्कतले गोपनीयता सम्बन्धी हकको गम्भीर उल्लंघन गरेको छ। उपरसे, कछाडधरि खैंचेर स्वजनको अघिल्तिर नङ्गा पार्ने कृत्यले छोपनीयताको हक सोत्राम् पारेको छ। बोधाकुमारहरू जति मचमच गरे'नि बोधै रहन्छन् भने टाठा गणेशजीहरू लटरपटरमै बेसी बुझछन्। मान्छेको प्रतिभा एकनासे नहुने गुप्ती भगवानको पालादेखि नै प्रमाणित छ। बरु, पढे/नपढेको यकिन गर्न हाजिरी ढड्डा पल्टाउँदै हिंड्नेहरू पाषाणयुगीन मानसिकता बोकेका 'आउटडेटेड' प्राणी हुन्। भेजावालहरू दारु अड्डामा जमेर, जुवाखानामा रमेर वा पाइखानामा कनेर पनि पढाकु बन्न सक्छन् भन्ने जमठ सत्य आफ्नोमा छँदैछ।

छप्पुरामहरूले स्वास्थ्य क्षेत्रका लफडेबाजहरूबीच सुलहको सम्भावना पहिल्याइदिएको नदेख्नु नादानी हो। स्वास्थ्य क्षेत्रमा लुटेराहरूको हुजूम बढ्यो भन्दै एकाथरी अनशन बस्छन्, अर्काथरी लतारेर हसुर्न नपाएकोमा ङ्यार–ङ्यार गर्छन्। तथापि, जाबो डाक्टरै खसाल्न एक थान अफसेट प्रेस वा स्त्रि्कन प्रिन्टिङ्गको अफिस भए पुग्दैन र? यत्रो घम्साघम्सी किन? सम्बन्धन, अस्पताल, कलेज, ल्याब, कोटा आदिको लफडा केलाई? पढुवा र छपुवा घुलमिल भई वर्षौंसम्म बिरामीलाई 'ऐसी कि तैसी' पारेपछि असली र नक्कलीको भेद के रहन्छ? राजनीतिक खलियानमा बढी से बढी अयोग्य साँढहरूको माडीमैदान चलिरहँदा जनस्वास्थ्य भन्ने एउटा विषयलाई चाहिं वाञ्छनीय योग्यताको तुरुङमा जाक्दा न्यायको तराजु कसरी असन्तुलित होला?

त्यसमाथि छप्पुरामहरूले चिकित्सा विज्ञान फगत खेल हो भन्ने सावित गरेकै छन्। मनमा अलिकति आँट र हल्का छाँट जाने डाक्टरी खेल्न सोमबारको सोमबारै सम्भव छ, आइतबारसम्म कुर्नु कौनो दरकार नाईं! जनस्वास्थ्यमा टेवा पुर्‍याउने उच्च मनोभाव चाहिन्छ, बस्!

बिचरा नियमन निकायहरूले आफ्नो गोरखधन्दाबाट फुर्सद मिल्दा मुन्डी दायाँबायाँ हिलाउने हो भने भवितव्यमा पर्नु अलग बात। यो अवस्थामा पक्राउ पर्ने सम्भावना कम हुने नै भयो। तसर्थ, डाक्टर जन्माउने छापाखाना प्रविधिलाई तनिक व्यवस्थित गर्न सके सामाजिक न्यायको मूल फुटाउन सकिने सम्भावना लवालव छ। लक्कुवाल बुङ्गाले बिरामी चिरफार गरिरहेकै छन् भने भेजा र जेब दुवै खलास भएका हल्लुँडहरूले सेतो गाउन पहिरेर किस्मत आजमाउन पाउँदा समानताको बाली फस्टाउँछ। जनस्वास्थ्य धरापमा पर्ला भनी किन माथा दुखाउने? जीवन र मरणको सवाल उसै पनि उपरवालेको टेन्सनको बात हो।

सेवा नामक जिनिसलाई व्यवहारमा उतारेर मेवा लुँड्याउनु बजार–धर्म हो। 'फोकटमे जो मिले वह उत्तम' हुने बिन्दास मार्गमा ढल्किन छाडी मध्यम वा निम्छरो बाटोमा धपेडी बेसाउनु उसै पनि खत्तम बात हो। खत्तम बाटोबाट न वैधानिक हिसाबको डाक्टर प्रकाशनमार्फत भटाभट विशेषज्ञ चिकित्सक उत्पादन गर्न सकिन्छ न त देशको कुनाकुनामा तारे हस्पताल खोली स्वास्थ्य सेवालाई उन्नत बनाउन मिल्छ। बुद्धिमत्ता त आफू पनि बन्ने र अरूलाई पनि सप्रिन दिनेमा छ। त्यसैले, सर्टकर्टमा डाक्टर उत्पादन गर्दै अस्पताल चलाऊँ, रोकडा कमाऊँ र देशलाई आत्मनिर्भर बनाऊँ!

comments powered by Disqus

रमझम