१६-२२ फागुन २०७२ | 28 Feb - 5 Mar 2016

ओझेलको 'सूक्तिसिन्धु'

Share:
  
- क.दी.
नेपाली मन र मुटुलाई हल्लाउने किताबको लेखाजोखा गर्दा १९७० को दशकमा प्रकाशित 'मकैको खेती' र 'सूक्तिसिन्धु' दुवै कृति पुस्तक–सम्पदाको 'माथ्लो' कोटिमै पर्छन्।

ऐतिहासिक 'मकैको खेती' र 'सूक्तिसिन्धु' १९७० को दशकमा एकैएकै समयतिर छापिएका हुन् र त्यस वेलाको सरकारले ती दुवैलाई कारबाही पनि गरेको हो। तर, 'मकैको खेती' बढी दण्डित भएकाले होला अधिक चर्चित भयो, 'सूक्तिसिन्धु' ले कम सजाय पाएकाले त्यसबारे धेरैले थाहै पाएनन्। नेपाली मन र मुटुलाई हल्लाउने किताबको लेखाजोखा गर्दा भने यी दुवै कृति हाम्रो पुस्तक–सम्पदाको लहरमा 'माथ्लो' कोटिमै पर्छन्। किनभने ती दुवै उत्तिकै 'मशहूर' भए नेपाली बुद्धिजीवीहरूलाई तर्साउनेमा। त्यसै हुनाले दुवैको चर्चा सँगसँगै गर्नुपर्ने हो। तर आज हामी 'सूक्तिसिन्धु' को मात्र कुरा गरौं, मकैलाई पछि भुटौंला।

यसै पनि 'मकैको खेती' बारे धेरै लेखिइसकेको छ। किताब समेत निकालेको छ जगदम्बा प्रकाशनले २०६८ सालमा जगदीश घिमिरेको सम्पादनमा। बबुरो 'सूक्तिसिन्धु' भने बेपत्तै भयो, पूर्ण पलायन! श्यामजीप्रसाद अर्यालले कत्रो दौडधूप गरी जम्मा पारेर १९७४ सालमा निकालेका, श्रृङ्गाररसका उत्कृष्ट २४ ओटा कविताको त्यो सँगालो एक–दुई वर्ष चुरीफुरी देखाएर हरायो सरकारले 'अघोषित' प्रतिबन्ध लगाएकाले। करीब आधा शताब्दी जति कसैले त्यसको नाम पनि सुनेन। अनि फेरि जगदम्बा प्रकाशन नै अगाडि आयो। २०२४ सालमा उसले शोधखोज गरी 'सूक्तिसिन्धु' प्रकाशित गरिदियो र नेपालीले फेरि त्यसको मनोहारितामा डुब्न पाए। (कुनै अर्को एक प्रकाशकले पनि चोरी गरेर त्यसको प्रकाशन गरेको छ रे! त्यो होस्।)

पढ्नेहरूलाई खुलदुल लाग्यो होला ती दुई किताबमा के त्यस्ता कुरा थिए र मान्छे तर्से? किताबभित्र त केही थिएन तर्सनुपर्ने। जे थिए सबै बाहिरै थिए, सरकारी कारबाहीमा थिए। यसलाई अलि अर्थ्याऊँ। राणाकाल, त्यसमा पनि चन्द्रशमशेरको शासन! उनको नीति यस्ता कुरामा अलि असहिष्णु थियो भन्छन्। पुस्तक, पत्रपत्रिका पढ्नु भनेको चेतना जगाउनु हो, रैतीमा चेतना भरिएपछि राणाशासन धेरै अड्न सक्दैन भन्ने उनको धारणा थियो। त्यसैले त्यस्ता कुरालाई निरुत्साहित पार्न खोज्थे उनी। तर त्यसो गर्दा पनि सकेसम्म ज्ञानगुनमा रोक लगाएको नदेखियोस् भन्ने उनको प्रयत्न हुन्थ्यो। त्यही प्रयास हो 'मकैको खेती' र 'सूक्तिसिन्धु' का मुद्दा। दुवैमाथि एउटा एउटा अत्तो थापेर मुद्दा चलाइयो अनि रोक लाग्यो दुवैलाई। यौटाको सम्पादकले खप्की मात्र खाएर कलम भाँचे। अर्का लेखक भने जेलै परेर त्यहीं मरे!

'अत्तो' भनियो फेरि 'मुद्दा' भनियो, के हो यो भन्ने पर्ला। त्यो प्रष्ट्याऊँ। 'रातो टाउके' र 'कालो टाउके' मकै खाने कीरा भनेर कृष्णलाल अधिकारीले महाराज तथा चिफसाहेबलाई गाली गरुर्‍यो– भन्ने आरोप लगाएर सिंहदरबारमा एउटा उजुर परुर्‍यो, भनूँ पार्न लगाइयो। त्यसमा छानबीन भयो अनि मुद्दा चलाइयो। छापिएका किताब सबै जलाइए, लेखकलाई जेल हालियो। त्यस्तै भयो 'सूक्तिसिन्धु' मा पनि। श्यामजीप्रसाद अर्यालले (रामशमशेरको आर्थिक सहयोग पाई) प्रकाशित गरेको त्यो श्रृङ्गारी किताब रसिलो थियो, मान्छेले खूब रुचाए। कुनै पनि कृति जनतामा त्यति लोकप्रिय हुनु खतरा ठान्थ्यो सरकार। त्यसै हुँदा 'सूक्तिसिन्धु' विरुद्ध पनि उजुर पारियो। यस पटक अर्कै पाराको आरोप लगाइयो– 'यो किताबले जनता भाँड्यो, यो छाडा किताबको बिक्री बन्द होस्' भन्ने आशयको। छानबीन भयो अनि तोक लाग्यो, रोक लाग्यो!

वास्तवमा दुवै किताब निर्दोष थिए। दुवै राम्रा थिए। तर, एक–दुई वर्षको अन्तरालमा यसरी लगालग ती दुइटा किताब र तिनका लेखकमा मुद्दा लाग्दा जनता तर्से। लेख्नु र पढ्नु भनेको डरलाग्दो कुरा रहेछ भन्ने परुर्‍यो प्रजाको मनमा गहिरो तवरले। सरकारले चाहेको त्यही थियो। महाराजको अभीष्ट पूरा भयो, तर त्यस कार्यको प्रतिफल राम्रो भएन। त्यल्ले राणाहरूको कुभलो गरुर्‍यो। सोझासाझा रैती–प्रजा शरणागत भए पनि नेपाली बुद्धिजीवीको मनमा विद्रोहको बीउ रोपिदियो त्यस दमनले। बीस वर्ष जनमानसमा भित्रभित्र गुम्सिएर फुट्यो त्यो आक्रोश सन्तानब्बे सालमा अनि त्यसको १० वर्षपछि त त्यसले राणाशासनकै अन्त्य गरिदियो!

पुस्तक सम्पदाको कुरा गर्दा यस्तो नमीठो प्रसङ्ग ल्याउनु हुन्नथ्यो। अब अलि रसिला कुराबाट यो प्रकरण टुङ्ग्याऊँ। 'सूक्तिसिन्धु' किन त्यत्तिको लोकप्रिय भयो हेरूँ। उस वेलाको नेपालमा प्रजाको मनोरञ्जनको साधन क्यै थिएन जात्रामात्रा बाहेक। त्यस्तोमा मलयसमीर जस्तो भएर आयो यो सूक्तिको सिन्धु कुत्कुताउने रतिरागका यस्ता श्लोकहरू बोकेरः

नयाँ बरामीटर तुल्य गोल, जवानि जाँच्ने फल ती अमोल।

निचोरिएका ननिचोरिएका, कडा खडा छन् भुमरी परेका।।

अनि यस्ताः

भोली पनी दिन बितीकन रात पर्ला, आजै अतीव नगरौं अब गाल पर्ला।

अनि यस्ताः

येती भनें अनि मसक्क समाउनूभो, भागेर लाज हिंडिगो अनि कुन्नि के भो।

मेरो त सारिबिच हात पुराउनूभो, साच्ची म जान्दिन सखी अनि कुन्नि के भो।।

त्यस्ता पंक्तिहरू त तन्नेरीहरूका मुखैमा झुन्डिहाले। 'सूक्तिसिन्धु' पुरुषभन्दा महिलाबीच बढी चलेको थियो रे! त्यसै हुँदा प्रजा छाडा भए भनेर सरकारले हस्तक्षेप गरेको भनिन्थ्यो। त्यो जे भए पनि नेपालीका मुटु र मस्तिष्कलाई एक पटक चपक्कै समाउने किताब हो यो। यत्ति मान्नैपर्छ।

comments powered by Disqus

रमझम