१६-२२ फागुन २०७२ | 28 Feb - 5 Mar 2016

गुदेलमा लालिमा

Share:
  
- मिलन बगाले
सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट तीन दिन कस्सिएर हिंड्दा पुगिने गुदेलमा भाइबहिनीले चेतनाको दियो सल्काएका छन्।

मिलन बगाले
स्थानीय सिकर्मी/डकर्मीलाई ढुंगा, माटो र काठबाटै भूकम्प प्रतिरोधी घर बनाउन सिकाउने/सघाउने उद्देश्यले हामी तीन साता बस्ने गरी गएको माघेसंक्रान्तिका दिन गुदेल पुगेका थियौं। एक बिहान गाउँ घुम्दै गर्दा बडेमाको ढुंगाको कापमा केही चीज खोतल्दै गरेका भाइबहिनीको टोली भेटियो। उनीहरू सबैले डोको बोकेका थिए। के गरेको भनेर सोध्दा 'प्लाष्टिक बटुलेको' भन्ने उत्तर पाइयो। किन? “प्लाष्टिकमुक्त गाविस अभियान सफल पार्न”, झ्लक कुलुङ राईले फुर्तीसाथ भने।

त्यहाँको बसाइमा हामीले नयाँ मान्छे देख्दा लजाएर भाग्ने भाइबहिनी मात्रै भेटेकोमा झ्लक र उनका साथीहरू चाहिं मजाले गफिए। उनीहरूले प्लाष्टिकमुक्त गाउँ बनाउने सपनादेखि गाउँमा चलेका अरू अनेक अभियानसम्मका कुरा फरर्र बताए। उनीहरू बाफुदौ गाउँको लालिमा साम सांस्कृतिक परिवारमा आबद्ध रहेछन्।

उनीहरू हरेक महीनाको अन्तिम शनिबार दुई टोली बनाएर हुङ्गखोलादेखि गुदेल उच्च मावि परिसरसम्म सरसफाइ गर्दा रहेछन्। टोली सदस्य संगीता राईले आफूहरू बाफुदौको युवा प्राविका शिक्षक खगेन्द्र राईको प्रेरणाले सरसफाइलगायतका विभिन्न अभियानमा लागेको सगर्व बताइन्। “ठाउँ–ठाउँमा डोको झुन्ड्याएर प्लाष्टिक त्यहाँ राख्न अनुरोध गरिएका सूचना टाँस्यौं, मौखिक पनि भन्यौं, तर पार लागेन”, सांस्कृतिक परिवारको संस्कृति समूह संयोजक रहेकी संगीताले भनिन्, “अनि आफैं डोको बोकेर प्लाष्टिक टिप्न हिंडेका।”

बटुलेको प्लाष्टिक के गर्ने नि? खाल्डो खनेर गाड्ने कि डढाएर आकाशमा धूँवा उडाउने? मेरो प्रश्न भुईंमा खस्न नपाउँदै सांस्कृतिक परिवारको कार्यक्रम संयोजक रहेकी बसुन्धरा कुलुङले फरर्र भनिन्, “त्यस्तो गर्दैनौं हामी। सद्दे प्लाष्टिक धोईपखाली गरेर चकटी बनाउँछौं। सांस्कृतिक परिवारको अफिसमा आउनुभयो भने ती चिज हेर्न पाउनुहुन्छ। सारै काम नलाग्ने प्लाष्टिक मात्र खोल्सामा लगेर जलाउँछौं। तर, त्यस्ता प्लाष्टिक ज्यादै थोरै हुन्छन्।”

कक्षा सातमा पढ्ने झ्लक संस्थाको कोषाध्यक्ष रहेछन्। घाँसदाउरा खोज्न नगएर प्लाष्टिक बटुल्दै हिंड्दा अभिभावकले केही भन्नुहुन्न? भनेर सोध्दा उनले फटाफट भने, “मलाई त आजकाल केही भन्नुहुन्न, तर धेरैका बाबुआमाले काम नगरेर प्लाष्टिक खोज्न हिंडेको भन्दै गाली गर्नुहुन्छ। हामी चाहिं घरको काम र स्कूलको गृहकार्य पनि गर्छौं अनि गाउँ सफा राख्ने अभियानमा पनि खट्छौं।”

लालिमा सांस्कृतिक परिवारले बालबालिकाको प्रतिभा प्रस्फुटन गराउने विभिन्न सिर्जनात्मक कार्यक्रम पनि चलाउँदो रहेछ। त्यस्ता कार्यक्रमका लागि सांस्कृतिक परिवारमा आबद्ध सदस्यहरूबाटै मासिक रु.१० उठाइँदोरहेछ। अलि धेरै पैसा चाहिं तिहारमा देउसी–भैलो खेलेर जम्मा पार्ने भाइबहिनीले बताए।

महाकुलुङको गुदेलमा जाँडरक्सीको चल्ती नहुने कुरै भएन। त्यसलाई रोकिहाल्न नसके पनि सांस्कृतिक परिवारमा संलग्नले चाहिं खान नपाउने नियम लागू गरेको भाइबहिनीले बताए। यो क्षेत्रको अर्को समस्या बालविवाह रहेछ। १३–१४ वर्षकै उमेरमा विवाह गरेर पढाइछाड्ने विकृति हटाउन समूह सक्रिय भएको भाइबहिनीले बताए।

परम्परागत रूपमा चलिआएका विकृतिलाई रातारात समूल नष्ट गरेर समाजलाई स्वस्थ बनाउनु अवश्यै सम्भव छैन, तर लालिमा सांस्कृतिक समूहले त्यसमा पनि पहल थालेको रहेछ। साथीभाइको लहैलहैमा लागेर मोबाइलमा गीत घन्काउँदै भारी बोक्न सल्लेरीतिर र्झ्ने फेसन नै चलेको संगीताले बताइन्। उनका अनुसार, स्कूल पठाए झुन्डिएर मर्छु भनेर आमाबाबुलाई धम्काउँदै सल्लेरी धाउने चलन बढेको छ। त्यसो गर्दा हातमा पैसा पनि पर्ने भएकोले पढ्ने उमेरका धेरै बालबालिका स्कूल जानुभन्दा सल्लेरी र्झ्नु मजा मान्छन्। संगीताले भनिन्, “सांस्कृतिक समूहमा लागेका हामी सबैले उनीहरूलाई सम्झाउँछौं।”

लालिमा सांस्कृतिक अभियान गुदेलको वडा नं ४ र ५ मा बढी प्रभावकारी रहेछ। अभियानलाई अन्यत्र पनि फैलाउँदै लगेको भाइबहिनीले बताए। उनीहरू आफ्ना शिक्षकले भनेको र आफू स्वयंले जानेबुझ् अनुसार गरिरहेछन्। शिक्षक–शिक्षिका र अभिभावकको सहयोग त अनिवार्य नै छ, विविध अभियान लिएर गाउँघर पस्ने संघ–संस्थाहरूले पनि लालिमा सांस्कृतिक परिवारसँग हातेमालो गरिदिए भाइबहिनीका काम र ज्ञानको दायरा छिटो फराकिलो बन्नेथियो। गुदेलमा धिप्धिप् गरिरहेको लालिमा चाँडै ज्योति बनेर चम्कियोस्। लालिमा परिवारका सदस्यहरूको जय होस्!

comments powered by Disqus

रमझम