कसले मार्ला बाजी

Share:
  
- सइन्द्र राई
कांग्रेसको नेतृत्वमा पुग्ने रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीचको प्रतिस्पर्धा अर्का नेता कृष्णप्रसाद सिटौलाको दाबेदारीले थप रोचक बन्दैछ।

गोपेन राई
१३ फागुनमा केन्द्रीय मुख्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक।
नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह तथा शशांक कोइराला, शेखर कोइराला, आमोदप्रसाद उपाध्याय, आनन्दप्रसाद ढुंगाना, दिलबहादुर घर्तीलगायतका केन्द्रीय सदस्यहरू निर्धारित मितिभन्दा दुई दिन ढिलो शुरू भएको केन्द्रीय कार्यसमितिको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल स्थगित गरेर १३ फागुनको साँझ् अर्का केन्द्रीय सदस्य डा. रामशरण महतको घरमा हतार–हतार भेला भए। पार्टी सभापति सुशील कोइरालाको निधनपछि कार्यवाहक बनेका पौडेललाई सभापतिको उम्मेदवार बनाउने टुंगोमा पुगेको संस्थापन पक्षको त्यो भेलाले शशांकलाई महामन्त्रीको उम्मेदवार बनाउने छलफल अघि बढाएको छ। मनोनीत उपसभापतिको आश्वासन पाएपछि संस्थापन समूह मिलाउन लागिपरेका डा. महतको पहलमा अघि बढेको यो छलफलले संस्थापन समूह निर्माणसम्मै निरन्तरता पाउने देखिन्छ।

पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने प्रयास बीपी पुत्र शशांकको पहलमा ४ फागुनबाटै शुरू भइसकेको छ। सभापति पदमा दाबी गरेका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य रहेकी गिरिजाप्रसाद कोइरालापुत्री सुजातालाई मनाउने रणनीतिमा भए पनि तीनै जनाले अडान छाड्ने संकेत देखाएका छैनन्। सुजाताले पनि सभापति पदको आकांक्षा सार्वजनिक गरिसकेकी छन्। संस्थापनको मत तान्न कोइराला परिवारबाट शशांकलाई महामन्त्रीको उम्मेदवार बनाएर अघि बढ्ने मनस्थितिमा पुगेका पौडेल विधान संशोधनमार्फत पद बढाएर सिंह, सिटौला र सुजातालाई मनाउन लागिपरेका छन्। “तर, समूह बनाउनेदेखि प्रतिनिधिहरूलाई भोट माग्नेसम्मको अभियान थालिसकेकाले सिटौला पछि हट्लान् जस्तो देखिन्न”, पौडेल निकट एक नेता भन्छन्।

सिटौला युवा नेता गगन थापालाई महामन्त्रीको उम्मेदवार बनाएर सभापतिमा लड्ने तयारीमा छन्। संस्थापनबाट पौडेल र सिटौला सभापतिको उम्मेदवार बन्दा २०–२३ फागुनमा हुने १३औं महाधिवेशनमा त्रिपक्षीय भिडन्त हुनेछ। १०औं महाधिवेशनमा गिरिजाप्रसाद र १२औं मा सुशीलसँग पराजित वरिष्ठ नेता शेरबहादुर देउवा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको समूह सार्वजनिक गर्ने अन्तिम तयारीमा छन्। महामन्त्रीको उम्मेदवार बनाउने शर्तमा अर्जुननरसिंह केसीलाई आफ्नो समूहमा ल्याइसकेका देउवा संस्थापनको घोषणा कुरेर बसेका छन्।

'त्रय' को तयारी

२०३९ साउनमा बीपी कोइरालाको निधनपछि शुरू भएको नेतात्रयको अवधारणा अनुसार सर्वोच्च नेता गणेशमान सिंह, कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई र महामन्त्री गिरिजाप्रसाद कोइरालाले पार्टी चलाए। २०४८ पछि आरएसएस (रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्य) चर्चामा आयो। गिरिजाप्रसादले महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापति बनाएका सुशील कोइराला १२औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भए। अहिले कांग्रेस संस्थापनभित्र सुशीलको स्थान लिने रस्साकस्सी चलेको छ। गिरिजापछि कोइराला परिवारको लिगेसी बोकेका सुशीलको निधनअघिसम्म सभापति पदका उम्मेदवार नरहेकाहरूको दाबी अहिले एकाएक सशक्त बनेको छ। यो दाबीमा 'नेतात्रय' बन्ने मनस्थिति पनि रहेको बुझ्ाइ कांग्रेसभित्र छ। २६ माघ अघिसम्म सुजाताबाहेकका कोइरालाहरूले सभापतिमा दाबी गरेका थिएनन्।

सुशीलको निधनपछि कोइराला परिवारका सदस्यदेखि सिंह, सिटौला र महतसम्म नेतात्रय बन्ने दाउमा देखिएको कांग्रेस नेताहरू बताउँछन्। यीमध्ये धेरैजसोले आफूलार्ई १४औं महाधिवेशनमा बलियो गरी उभ्याउने मनस्थिति बनाए पनि सिटौला त्यसरी रोकिने मूडमा नदेखिएको उनीहरूको भनाइ छ। गिरिजाप्रसादको विश्वासपात्रका रूपमा पार्टीमा प्रभाव बढाएका सिटौलाले गत पाँच वर्षमा देशव्यापी सञ्जाल बनाइसकेकाले तुलनात्मक बलियो छन्। चण्डौलस्थित निवासमा प्रतिनिधि भेला गरेका उनले केन्द्रीय नेताहरूसँग समर्थन माग्न थालिसकेका छन्। सुशील कोइरालाले २४ असोजमा प्रधानमन्त्रीको उम्मेदवारी दिएपछि असन्तुष्ट बनेर टाढिएका सिटौलाले संस्थापनको लिगेसी पौडेलले नभई आफूले बोक्ने दाबी गरिरहेका छन्। जीवनभर कोइराला परिवारको विरोध गरेका पौडेलले नभई आफूले संस्थापन बचाउन सहयोग गरेको दाबी गर्ने उनी सुजाता, शेखर वा शशांकमध्ये एक जना तान्न सके थप बलियो बन्ने आकलनमा छन्।

कार्यकर्तासँग राम्ररी भिजेका शेखर रोजाइमा रहे पनि त्यस्तो संभावना न्यून भएकाले गगन थापासहितको समूह बनाएर चुनाव लड्ने मनस्थितिमा सिटौला पुगेका छन्। केन्द्रीय सदस्य प्रदीप पौडेल सिटौला र थापाको उम्मेदवारीले दोस्रो चरणमा मतदान हुने संभावना बढ्ने बताउँछन्। कांग्रेस विधान अनुसार ५१ प्रतिशत मत नआए पहिलो र दोस्रो परिणाम ल्याउनेबीच पुनः प्रतिस्पर्धा हुन्छ। दोस्रो चरणको मतदानमा निर्णायक हुनसक्ने आकलनमा रहेका सिटौलाले त्यसबाट नेतात्रयमा उभिन्छु भन्ने ठानेको हुनसक्ने कांग्रेसका एक नेता बताउँछन्।

सिटौलालाई साथ दिन लागेका थापा पनि महामन्त्रीमा युवा उम्मेदवारीमार्फत आफ्नो राजनीतिक क्रेज कायम राख्ने दाउमा छन्। शाही 'कु' विरुद्ध लड्दालड्दै २०६२/६३ को जनआन्दोलनमार्फत राष्ट्रिय राजनीतिमा उदाएका थापा कांग्रेस केन्द्रीय कार्य समितिका कान्छो सदस्य हुन्। देशभरबाट आएका युवा प्रतिनिधिको संख्याबाट दुई पटक सांसद् भइसकेका केन्द्रीय सदस्य थापा उत्साहित छन्। थापा महामन्त्रीको उम्मेदवारीबाट आफ्नो राजनीतिक उँचाइ पनि बढ्ने आकलनमा छन्। सदनको प्रस्तुति कमजोर बन्दै गएको, व्यावसायिक अभियान सुस्ताएको तथा क्षेत्र र जिल्ला अधिवेशनमा आफ्ना समर्थक पराजित भएकाले पनि उनी महामन्त्रीको उम्मेदवार बनेर साख जोगाउन चाहन्छन्। १२औं महाधिवेशनमा पदाधिकारीमा पराजित विमलेन्द्र निधि, भीमबहादुर तामाङ र नरहरि आचार्य कार्यसमितिमा तानिएको नजीर भएकाले थापा महामन्त्रीमा पराजित भए पनि हैसियत नगुम्नेमा विश्वस्त छन्।

२४० निर्वाचन क्षेत्रबाट छानिएका महाधिवेशन प्रतिनिधिहरूको जोडघटाउमा अगाडि रहेको देखिएको संस्थापनबाट सिटौला–थापाको उम्मेदवारीले देउवा पक्षलाई केही फाइदा पुग्ने देखिन्छ। सिटौलाको व्यक्तिगत मत र थापाप्रति युवा आकर्षणले संस्थापनको बढी मत काट्ने सम्भावना छ। त्यसबाट दोस्रो चरणको निर्वाचनको सम्भावना बढ्ने हुँदा संस्थापन पक्ष उनीहरूलाई फकाउने प्रयत्न गरिरहेको छ। संस्थापन पक्षका नेता नारायण खड्का अन्तिम अवस्थासम्म साझा उम्मेदवार बनाउने प्रयत्न कायम रहने बताउँछन्।

सिटौलाले उम्मेदवारी दिंदा पनि संस्थापनका बाँकी आकांक्षीहरूको व्यवस्थापन सजिलो छैन। कांग्रेसको विधानमा एक सभापति, एक उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री र एक कोषाध्यक्षको व्यवस्था छ। तर, सयभन्दा बढी मत प्रभावित पार्नसक्ने नेताहरूको आकांक्षा यति पदले मात्र व्यवस्थापन गर्न संभव नहुने भएपछि पौडेल विधान संशोधनको कसरतमा लागेका छन्। शशांक निर्वाचित महामन्त्रीको उम्मेदवार बन्दा अहिलेका महामन्त्री सिंहदेखि शेखर, सुजाता, महतलगायतको व्यवस्थापन गर्नु सजिलो छैन। शंशाकभन्दा सिनियर शेखर र निर्वाचित महामन्त्री भइसकेका सिंहले उपसभापतिमा दाबी गर्नु स्वाभाविक देखिन्छ भने सुजाता र महतको उपसभापति बन्ने आकांक्षा व्यवस्थापन गर्न पनि धेरै पद चाहिन्छ।

समूह निर्माणमा थोरै सहजतामा रहेको देउवा पक्ष भने कुनै हालतमा विधान संशोधन गर्न नदिने पक्षमा छ। देउवा निकट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की कसैको गुट मिलाउन विधान संशोधन नहुने बताउँछन्। गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन पुरानै विधान अनुसार भइसकेकाले केन्द्रीय महाधिवेशन पनि त्यही अनुसार हुनुपर्ने देउवा पक्षको भनाइ छ। आफू निकट विमलेन्द्र निधि महामन्त्री (मनोनीत), खुमबहादुर खड्का वा पूर्णबहादुर खड्का उपसभापति (मनोनीत), अर्जुननरसिंह केसी महामन्त्री (निर्वाचित) र चित्रलेखा यादव, पुष्पा भूसाल वा लक्ष्मण घिमिरेमध्ये एकलाई कोषाध्यक्ष बनाउने तयारीमा रहेका देउवा पदाधिकारी नबढाउँदा संस्थापनमा हुने भद्रगोलबाट फाइदा लिने सोचमा छन्।
देउवाले बरु महाधिवेशनलगत्तै महासमिति बैठकबाट विधान संशोधन गरेर संघीय संरचना अनुसार प्रादेशिक सभापति बनाउने आश्वासन आफ्ना समर्थकहरूलाई दिने गरेका छन्। त्यसै अनुसार सबै प्रदेशमा महाधिवेशन तयारीको जिम्मेवारी दिइएको छ।

उम्मेदवारको ओइरो

'बूढाहरूको पार्टी' नेपाली कांग्रेसमा यस पटकको महाधिवेशन प्रतिनिधि छनोटले पुरानो संरचना बदल्ने संकेत देखाएको छ। ६० प्रतिशतको हाराहारीमा रहेका नयाँ अनुहारका प्रतिनिधिमध्ये ४० प्रतिशतभन्दा बढी ४० वर्ष मुनिका हुनुले पुस्तान्तरणको संकेत गरेको छ। केन्द्रीय सदस्य प्रदीप पौडेल युवा प्रतिनिधिको निरन्तरता कायम राख्न सके १४औं महाधिवेशनबाट पुराना पुस्ता पूरै 'रिटायर्ड' हुने बताउँछन्। उनी भन्छन्, “त्यसका निम्ति अहिलेको महाधिवेशनबाटै पदाधिकारीदेखि केन्द्रीय कार्यसमितिसम्ममा युवाको उपस्थिति बढाउनुपर्छ।”

लामो समयदेखि भ्रातृ संस्थाहरूको अधिवेशन र स्थानीय निर्वाचन नहुँदा बिजनेस नपाएकाहरू महाधिवेशन प्रतिनिधिमा छनोट भएकाले युवा आकांक्षा बढेको छ। परिणाम, विधानले ८५ जनाको केन्द्रीय कार्यसमिति व्यवस्था गरे पनि ७०० भन्दा बढीको उम्मेदवारी पर्न सक्ने देखिएको छ। देउवा निकट नेता रामहरि खतिवडा तल्लो कार्य समितिमा नअटेकाहरूले अन्यत्र ठाउँ नदेखेपछि उम्मेदवारी बढ्ने बताउँछन्। केन्द्रमा तय भएको पौडेल, देउवा र सिटौलाको समूहमा सबै आकांक्षी समेटिने संभावना नभएकाले स्वतन्त्र उम्मेदवारहरूको लर्काे लाग्ने सम्भावना पनि उत्तिकै छ।

केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका एक दर्जनभन्दा बढी नेताको आँखा पदाधिकारीमा छ। महामन्त्रीमा गगन थापाले उम्मेदवारी दिने हल्लाबीच नवीन्द्रराज जोशी, एनपी साउद, मिनेन्द्र रिजाल, प्रदीप पौडेल, दिलेन्द्र बडू, दीपक गिरी, धनराज गुरुङ, अर्जुन जोशी, विश्वप्रकाश शर्मा, रामहरि खतिवडा, चन्द्र भण्डारी, शंकर भण्डारीलगायतका नेताहरू विधान संशोधन गरेर सहमहामन्त्री वा प्रदेश सभापतिमा दाबी गर्नेतिर लागेका छन्।

comments powered by Disqus

रमझम