'गुटबन्दी अन्त्य हुन्छ'

Share:
  

गोपेन राई
रामचन्द्र पौडेल

कार्यवाहक सभापति, नेपाली कांग्रेस

१३औं महाधिवेशन के कुरामा फरक छ?

सभापति सुशील कोइरालाको निधनको शोककै घडीमा महाधिवेशन गर्दैछौं। संविधानले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक प्रक्रिया नयाँ र प्रखर ढंगले अघि बढाउने संकल्प गरेको छ। संविधानद्वारा निर्दिष्ट परिवर्तन कार्यान्वयनको नेतृत्व गर्ने जिम्मेवारी सबैभन्दा ठूलो पार्टी कांग्रेसमा छ। कांग्रेसले त्यो परिवर्तन बुझ्न र आत्मसात् गर्न सक्ने हुनुपर्छ।

संविधानद्वारा प्रदत्त उत्पीडित र उपेक्षित वर्गको अधिकार र समतामूलक समाजको परिकल्पनालाई प्रजातान्त्रिक समाजवादको दर्शनले मात्रै समेट्न सक्छ। त्यो दर्शनमा आधारित परिवर्तन आत्मसात् गर्दा मात्रै गन्तव्यमा पुग्न सकिन्छ। यस्तो विशेष परिस्थितिमा १३औं महाधिवेशन हुनु स्वयंमा महत्वपूर्ण छ।

२००७ सालदेखि नै युगान्तकारी परिवर्तनको नेतृत्व गर्ने कांग्रेस यतिखेर सबैभन्दा अप्ठ्यारो मोडमा आइपुगेको छ भनिन्छ नि!

पार्टीभित्र धेरै चुनौती छन्। गुटगत विभाजनले मनोमालिन्य छ। अहिलेको ठूलो चुनौती नै गुटगत र भागबन्डाको राजनीति अन्त्य गर्नु हो। महाधिवेशनले यसखाले चुनौती अन्त्य गर्छ। भागबन्डा अन्त्य गरेर मूल्यांकनको राजनीतितिर लाग्नुपर्छ। म त्यो मिसनमा छु।

महाधिवेशनपछि कांग्रेसमा गुटबन्दीको राजनीति सकिन्छ भन्नुभएको हो?

जसले गुटको राजनीतिलाई आधार बनाएर हैसियत बनाएको छ, त्यसलाई यो महाधिवेशनले अन्तिम जवाफ दिन्छ। ६०/४० को राजनीति अन्त्य गर्छ, पार्टी हुन्छ। त्यसको नेतृत्व म गर्छु। पहिले पनि बीपी र सुवर्णबीच, किसुनजी र गणेशमानबीचका मनोमालिन्य मिलाएर पार्टीलाई मिलाउने काम मैले नै गरेको हुँ। अहिले शेरबहादुर देउवा र सुशील कोइराला खेमा भन्ने अस्वस्थ परिस्थिति मेट्नुपर्नेछ। म त्यही गर्छु, किनभने सबै साथीहरू मसँग 'कम्फर्ट' महसूस गर्छन्, कसैप्रति मेरो र मप्रति पनि कसैको पूर्वाग्रह छैन। म एकताको सेतु बन्छु।

स्थापनादेखि नै गुटबन्दीबाट गुजि्रएको कांग्रेसमा अचानक गुट अन्त्य हुने कसरी पत्याउने?

कांग्रेस जन्मँदै दुई वटा फग्लेटो मिलेर बन्यो, नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातान्त्रिक कांग्रेस। पछि नेपाली कांग्रेसबाट चोइटिएर प्रजातान्त्रिक कांग्रेस बन्यो। एकतापछि पनि विभाजनको 'ह्याङओभर' मेटिएको छैन। त्यो अभिशापबाट मुक्त हुने ठूलो अवसर पनि अधिवेशन नै हो।

कांग्रेसभित्रको गुटबन्दीले देशले दुःख पाइरहेको जस्तो लाग्दैन?

पार्टी गुटबन्दीको दलदलमा फँसेको छ। अब गुटबन्दीमुक्त कांग्रेस नयाँ ऊर्जासाथ अघि बढ्छ। हाम्रो लक्ष्य भनेकै राष्ट्रको उन्नति, एकता, स्वाभिमानका साथै हिमाल, पहाड र तराईलाई एकतामा बाँधेर देशलाई समृद्धिको मार्गमा लैजानु हो।

तपाईंलाई पार्टी सभापति बनाउनैपर्ने आधार के के छन्?

पार्टीप्रतिको निष्ठा नै हो। अरुले व्यक्तिगत स्वार्थमा पार्टी मात्रै होइन, प्रजातन्त्र र देशलाई नै जोखिममा पारेका छन्। तर, यी संस्थाहरूलाई जोगाउन मैले पटकपटक आफैंलाई जोखिममा राखेको छु।

मैले सत्ताको दुरुपयोग कहिल्यै गरिनँ। ग्रामीण स्वावलम्बन कार्यक्रमदेखि कृषि क्रान्तिसम्म, 'निमुखालाई न्याय र विपन्नलाई आय' जस्ता कार्यक्रमहरू अघि बढाएँ। पार्टी साहित्य, संस्कृति र विचारमा जलप लगाएरै आइरहेको छु। पार्टीभित्र जागरण र मनोबल बढाउने काम गरिरहेकै छु। मेरो यस्तो व्यवहारले पार्टीका साथीहरू प्रभावित छन्। उहाँहरूबाट यसको मूल्यांकन हुने नै छ।

तपाईं नेतृत्वमा पुग्नुभयो भने कस्तो पार्टी बनाउनुहुन्छ?

कांग्रेस पार्टी देशमा लोकतन्त्र स्थापना, सामाजिक लोकतन्त्र र समानतामूलक समाज निर्माण गर्ने ध्येयले जन्मेको थियो। प्रजातान्त्रिक समाजवाद साकार पार्ने उद्देश्य बोकेर जन्मेको थियो। एउटा आधुनिक, न्यायपूर्ण र प्रगतिशील समाज स्थापनाको कांग्रेसको त्यो मिसनलाई म मूर्तरुप दिनेछु। नेपालको कृषि, पर्यटन, ऊर्जाशक्तिलाई प्राथमिकतामा राखेर गरीबी निर्मूल र बेरोजगारी अन्त्य गर्नेतिर लाग्छु। विकासकै आधारमा पार्टीप्रति जनआस्था बढाउन पनि लाग्छु। पार्टीलाई स्वच्छ राजनीतिक संयन्त्र बनाउनुछ। राजनीतिप्रतिको वितृष्णा हटाउनुछ। राजनीतिकर्मीलाई सम्मानको दृष्टिले हेर्ने स्थितिमा पुर्‍याउने दायित्व पनि मेरो काँधमा छ।

पछिल्लो समय कांग्रेस नीतिभन्दा नेता प्रधान हुँदै गइरहेको देखिन्छ। महाधिवेशन पनि केवल नेतृत्व छनोटमै केन्द्रित हुँदै गइरहेका छन् नि!

पार्टीको जन्म हुँदा बीपी कोइरालाहरूले परिकल्पना गर्नुभएको थियो– समतामूलक, न्यायपूर्ण र प्रगतिशील समाज निर्माण गर्ने। नीतिको आधारशिला त्यही नै हो। यसै आधारमा उभिएर अहिलेको संविधानले कल्पना र निर्दिष्ट गरेका नयाँ अधिकारहरू पूरा गराउनेतिर लाग्नुपर्नेछ।
महाधिवेशन भन्नासाथ नेतृत्व चयनले प्राथमिकता पाउनु अस्वाभाविक होइन। कम्युनिष्ट पार्टीमा जस्तो एउटा एउटा अजेण्डामा चुनाव गर्नुपर्ने परम्परा कांग्रेसमा छैन। बारम्बार सिद्धान्त र परिभाषा फेरिरहनुपर्ने आवश्यकता र बाध्यता पनि छैन। यो महाधिवेशनमा कांग्रेसले लिनुपर्ने नीति कस्तो हुनुपर्छ भनेर नीति तथा कार्यक्रम अघि सारेका छौं। त्यसको मस्यौदा देशभरि पठाएर छलफल गरेका छौं। महाधिवेशनपछि नीतिगत प्रष्टता हुनेछ।

महाधिवेशनले नेतृत्वसँगै पार्टी नीतिमै फेरबदल ल्याउँछ त?

मेरो विश्वास छ, महाधिवेशनले पार्टीको संरचना र कार्यशैलीमै परिवर्तन ल्याउनेछ। नयाँ जीवन, सोच र संस्कृति आउनेछ, जसले देशलाई उन्नतिको बाटोमा लैजानेछ।

परिवर्तनको संवाहक कांग्रेस परिवर्तन संस्थागत गर्न भने सधैं चुक्दै आएको छ। किन यस्तो हुन्छ?

यो देशकै विडम्बना हो। सधैं 'म ताक्छु मूढो बञ्चरो ताक्छ घुँडो' जस्तै भइरहेको छ। पटक–पटक परिवर्तन गर्छा, लोकतन्त्र ल्याउँछौं, विकास गर्छौ पनि भन्छौं। तर, जब जग बस्छ, एकाएक हिंसा हुन्छ। जस्तो कि, संविधान बनेलगत्तै मधेश आन्दोलन र नाकाबन्दी खेप्नुपर्‍यो।
यस्तो विडम्बना किन भोग्नुपरिरहेको छ? यो विचारेर जोगिएर बढ्नु नै अहिलेको राजनीतिक बुद्धिमत्ता हो। यसका लागि छिमेकीहरूलाई पनि विश्वस्त तुल्याउनुपर्छ। अतिराष्ट्रवादले अहित मात्रै गर्छ। मध्यमार्गबाटै हित सम्भव छ। न साम्यवाद न उन्मुक्त पूँजीवादले देश समुन्नत हुन्छ। म पार्टीभित्र, राजनीति र सिद्धान्तमा पनि मध्यमार्गी हुँ। यसैमा देशको सुरक्षा, उन्नति र विकास छ। यस्ता विभिन्न प्रवृत्ति र शक्ति बुझेर सन्तुलन मिलाउने आवश्यकता कांग्रेससामु आइपुगेको छ।

तर, त्यस्तो भूमिकामा कांग्रेस सधैं कमजोर देखियो, किन?

कांग्रेस मात्रै जिम्मेवार छ भन्दिनँ। कांग्रेस मार खाने पार्टी हो। देशको भलो गर्छु भन्दाभन्दै कांग्रेससामु अप्ठ्यारा आइपरेका छन्। कुठाराघात हुन पुगेको छ।

अप्ठेरा चिर्न नसक्नु त नेतृत्वकै कमजोरी हो नि?

म कसैलाई दोष दिन चाहन्नँ। राम्रो गर्छु भन्दाभन्दै पनि अप्ठ्याराहरू आइलागेका छन्। २०४६ को परिवर्तन, माओवादी हिंसालाई मूलधारमा ल्याउने काम र २०६२/६३ को परिवर्तनको अगुवाई कांग्रेसले नै गर्‍यो। आजको नेपालमा जे भएको छ, त्यसको कारक कांग्रेस नेतृत्व नै हो। नकारात्मक कुरा मात्रै गरेर अग्रज नेतृत्वमाथि अन्याय गर्न हुन्न।

कुनै वेला मधेशमा लोकप्रिय कांग्रेसलाई अहिले त्यही अधिवेशन गर्न समेत अप्ठेरो पर्नुको कारण के हो?

संविधान बनाउँदा पनि सबै जनताको चाहना र भावना बुझ्ोर समावेशिताका सिद्धान्त अपनाइयो। उपेक्षितलाई सम्बोधन गरी मौलिक अधिकारहरू स्थापित गरिएको छ। संघीयता सुनिश्चित गरिएको छ। यसमा केही असन्तुष्टि हुँदा कांग्रेसमाथि प्रहार भयो। ठूलो अवरोध बेहोर्नुपर्‍यो।
जनजाति, मधेशी र हिमालको असन्तुष्टि समेट्न कांग्रेसले नै संविधान संशोधन प्रस्ताव गरेको हो। मधेशको समस्या समाधान मधेशी जनताकै चाहना अनुसार हुनुपर्छ, प्रदेश निर्माणमा पनि उनीहरूकै कुरा सुनिनुपर्छ, यसमा कांग्रेस खुला छ।

महाधिवेशनपछिको कांग्रेसको कार्यभार के हो?

संविधान कार्यान्वयन मुख्य कुरा हो। कानूनले निर्दिष्ट गरेको व्यवस्थाअनुसार राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा आधारित भएर कांग्रेस अघि बढ्नेछ। यसैअनुसार राज्य पुनःसंरचना, विकास, समावेशी लोकतन्त्र साकार गर्नु कांग्रेसको कार्यभार हो।

महाधिवेशनलगत्तै सरकार परिवर्तन गर्ने चर्चाबारे के भन्नुहुन्छ?

शेरबहादुरजीले मलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभएछ। मैले पनि त्यस्तो अवस्था आए तपाईं नै राष्ट्रपति, प्रधानमन्त्री के बन्ने हो बन्नुस् तर म पार्टी सभापति बन्छु भनेको हुँ। खासमा अहिले हामी महाधिवेशनमै केन्द्रित छौं। सरकार परिवर्तनबारे सोच्न पनि भ्याइएको छैन।

प्रस्तुतिः रामेश्वर बोहरा र सइन्द्र राई

comments powered by Disqus

रमझम