१६-२२ फागुन २०७२ | 28 Feb - 5 Mar 2016

'मसँग विरासत छ'

Share:
  

विक्रम राई
शेरबहादुर देउवा

वरिष्ठ नेता, नेपाली कांग्रेस

१३औं महाधिवेशन के कारणले भिन्न छ?

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरणसँगै यतिखेर संविधानको कार्यान्वयन गर्ने काम सबैभन्दा महत्वपूर्ण छ। देशलाई नयाँ दिशामा लैजाने, आर्थिक विकास गर्न सक्ने गरी नेतृत्व चुन्नु छ। खासगरी आधारभूत लोकतन्त्रलाई सुदृढ गर्ने दायित्व कांग्रेसमाथि छ। यस्तो वेला भइरहेको महाधिवेशन विशेष छ।

महाधिवेशनले कांग्रेस पार्टीमै आधारभूत परिवर्तन ल्याउँदैछ या नेतृत्व मात्रै बदली गर्नेछ?

पार्टीमै परिवर्तन ल्याउँछ। किनभने देशले नै फड्को मारिसक्यो। संघीयता, गणतन्त्र, समावेशी जस्ता महत्वपूर्ण परिवर्तनलाई आत्मसात् गर्दै यसको सुदृढीकरण गर्नुछ। सच्चा मानेमा समावेशी नेपाल बनाउनुपर्ने हुनाले पार्टीले पनि त्यसैको 'फलो' गर्नैपर्छ।

कांग्रेस नेतृत्वको अक्षमताले देशमा राजनीतिक अस्थिरता बढेको हो भनियो भने सही हुन्छ?

यसको कारणतिर म अहिले जान चाहन्न। मधेशका केही दलले आन्दोलन गरेका छन्। उनीहरूका जायज कुरा सम्बोधन गरिनुपर्छ। सीमांकनलगायतका मुद्दा पनि समाधान गर्नुपर्छ।

भारतसँगको उतारचढावपूर्ण सम्बन्ध सुदृढ गर्नु जरुरी छ। अहिले हेर्नुहोस् अर्थतन्त्र ध्वस्त भयो। पेट्रोल, ग्याँस पाइएन। त्यो हुँदाहुँदै पनि चीन लगायतका देशसँग पनि सम्बन्ध सुधार गर्नु अति आवश्यक छ।

देशका हरेक ठूला परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेस परिवर्तनलाई संस्थागत गर्न चाहिं चुकेको देखिन्छ। त्यसको कारण के हो?

प्रजातन्त्रमा सरकार आउँछन्, जान्छन्। सधैं टिक्नुपर्ने त प्रजातन्त्र हो। नेपालमा त प्रजातन्त्र पनि सधैं टिकेन। देशको पहिलो प्राथमिकता भनेको स्थिर र बलियो प्रजातन्त्र हो। जनता सार्वभौमसत्ता सम्पन्न भएपछि पार्टीहरूले प्रतिस्पर्धा गर्ने कुरा त जहिल्यै रहन्छ। संघीयता र गणतन्त्रलाई स्थायी रुपमा 'स्ट्रेन्थेनिङ' गर्न हाम्रो पार्टी सधैं लागिरहेकै छ।

प्रजातन्त्र सधैं खतरामा परिरहनुमा कांग्रेस पनि दोषी छ नि होइन?

त्यसरी दोष देखाएर हुँदैन। आखिर प्रजातन्त्रका लागि लड्ने त कांग्रेस नै हो नि! जन्मकालदेखि नै बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने पार्टी हो यो। अरु पार्टी त बल्ल प्रजातान्त्रिक पद्धतिमा रुपान्तरित हुँदै आउँदै छन्।

नेपाली कांग्रेसको सभापतिमा तपाईंको उम्मेदवारी किन?

गिरिजाबाबु र मेरो बीचमा पार्टी एकीकरण भएको हो। तर, अहिले पनि पार्टी पूर्ण रुपमा एकीकरण गर्न बाँकी नै छ। त्यसको दायित्व ममाथि छ।
अर्को; कर्णाली क्षेत्र, आदिवासी, महिला, मधेशी, दलित सबैलाई समेटेर अगाडि बढ्नु छ। नयाँ पार्टी गठन गर्दा नै पहिलो पटक पार्टीमा समावेशी सिद्धान्त लागू गर्ने व्यक्ति मै हुँ। अब म त्यही सिद्धान्त नेपाली कांग्रेसमा लागू गर्न चाहन्छु। सबैबीच मेलमिलाप र प्रतिनिधित्वको ग्यारेण्टी गरेर पार्टीमा सबैको स्वामित्व विकास गर्न पनि कांग्रेसलाई मेरो आवश्यकता छ। जुँगाको रेखी नबस्दैदेखि पार्टी र प्रजातन्त्रका लागि जेल परेको, पिटाइ खाएको मान्छे हुँ म। बीपी, गणेशमान, किसुनजी र गिरिजाबाबुको खास उत्तराधिकारी हुँ म। उहाँहरूको 'लिगेसी' मैसँग छ।

तर, तपाईंमाथि नै प्रजातन्त्र दरबारमा बुझाएको आरोप लाग्ने गरेको छ नि!

संसद् भंग गर्नु नै प्रजातन्त्र दरबारमा बुझाएको हुन्छ भने सबभन्दा पहिले गिरिजाबाबुले बुझाएको भन्नुपर्छ। ६ पार्टीको बैठकले माओवादी आतंकका कारण चुनाव सार्नुपर्‍यो भनेपछि मात्र मैले प्रधानमन्त्रीको रुपमा चुनाव सार्ने निर्णय गरें। त्यो बैठकमा सुशीलजी पनि हुनुहुन्थ्यो। सबैले भनेपछि म डराएँ। पार्टीले नै भाग लिएनन् भने के हुन्छ भन्ने लाग्यो।

चुनाव सारेपछि राजाले सत्ता खोसे। यो त मलाई चुनाव सार्न भनेर राजालाई खोस्न लगाउने सल्लाह दिएजस्तो भयो। यसमा त उनीहरू नै राजासँग मिलेका थिए जस्तो लाग्छ मलाई। यसमा ६ पार्टीहरू त्यत्ति नै दोषी छन्, जति म छु। चुनाव सार भन्ने सुशील कोइराला र गोविन्दराज जोशीहरू चाहिं सही, म चाहिं गलत? आन्दोलन भयो, प्रजातन्त्र पुनर्बहाली भयो। प्रधानमन्त्रीको रुपमा पुनर्बहाली भएपछि फेरि राजाले खोसे। बीपी पछि निर्वाचित प्रधानमन्त्री खोसिने म नै हुँ।

पार्टी फुटाउनुभयो, एकता गर्नुभयो। एकतापछि पनि ६०–४० को गुटबन्दी बाँकी नै रह्यो, किन?

यो ६०–४० केही होइन। कुरो के हो भने आफ्नै दलको प्रधानमन्त्रीलाई साधारण सदस्यबाट निष्काशन गरेपछि म पार्टी सभापति बनेको हो। त्यो वेला वास्तवमा रामचन्द्रजीलाई पार्टी सभापति बनाउने कुरा थियो। उहाँका लागि फूलमाला तयार पारेर राखेका थियौं। बिहान ८ बजेदेखि कुर्‍यौं, १ बजेसम्म नआएपछि सबै साथीहरूले 'ल तँ नै बन्' भने। अनि मात्रै म सभापति बनें।

१२औं महाधिवेशनलाई पनि एकता महाधिवेशन भनिएको थियो र अहिले पनि त्यही भनिंदैछ नि!

यसअघि किन एकता भएन भन्नेतर्फ जान चाहन्न। तर, साँचो एकता भएको छैन र यो महाधिवेशनबाट हुन्छ।

तपाईं पार्टी सभापतिमा चुनिने आधार के हुन्?

यसबारे मैले धेरै भन्नुपर्छ जस्तो लाग्दैन। तर, म सभापति बन्नेमा पूरा विश्वास छ।

पार्टी फुट्ने वेला रामचन्द्र पौडेललाई सभापति स्वीकार गर्ने तपाईं अहिले चाहिं किन मिल्न नसक्ने?

त्यसैले त मैले रामचन्द्रजीलाई मलाई सहयोग गर्नुहोस् भनिरहेको छु नि!

तपाईं नेतृत्वमा पुग्नुभयो भने कांग्रेस कस्तो बन्छ?

पार्टी पूर्ण समावेशी हुन्छ। गुटबन्दी र विवाद अन्त्य गर्छु। पार्टीलाई बलियो बनाउँछु। प्रजातन्त्र बलियो बनाउन पनि पार्टी बलियो बनाउन आवश्यक छ।

यी त योजना भए, आजको कांग्रेस कस्तो बन्दैछ?

नेपाली कांग्रेस जनताले विश्वास गरेको पार्टी हो। सच्चा मानेमा जनताको हितैषी पार्टी हो। समावेशी पार्टी हो। तल्लो तहका जनताले समेत आफ्नो महसूस गर्ने पार्टी हो।

तर, कांग्रेसको मुख्य जनाधार भएको मधेशमै गाउँ–नगरमा अधिवेशन गर्न गाह्रो भयो। विज्ञप्ति निकालेरै सुरक्षा माग गर्नुपर्‍यो। कसरी यस्तो भयो?

हरेक पार्टीले यस्ता कार्यक्रम गर्दा देशैभर सुरक्षाको वातावरण माग गर्दछ। मधेशी जनताले हामीलाई सहयोग गरेका छन्। मधेशमा पार्टी जीवन्त छ।

कांग्रेस नीतिगत अस्पष्टताका कारण सधैं आलोच्य हुँदै आएको छ, यसपटकको महाधिवेशनले नीतिगत प्रष्टता ल्याउँछ?

नीति तथा कार्यक्रम स्वीकृत हुनै बाँकी छ। केन्द्रीय समितिले स्वीकृत गरेपछि सबै कुरा प्रष्ट हुन्छ।

कांग्रेसमा पदाधिकारी संख्या बढाउने गरी विधान संशोधन प्रस्ताव पास हुन्छ कि हुँदैन?

१४ अञ्चल हुँदा भूगोलको हिसाबले एक अञ्चलबाट केन्द्रीय सदस्य चुनिन्थ्यो। संविधान अनुसार अब भूगोलको आधार सात प्रदेश मानिएको छ। तर नेताविशेषलाई हेरेर पदाधिकारी संख्या बढाउने गरी संशोधन हुँदैन। संघीयता अनुरुप संरचना बनाउन महासमितिको बैठकबाट पछि निर्णय गरिनेछ। अहिले गाउँ, क्षेत्र, जिल्लाको अधिवेशन सकिएपछि केन्द्रमा मात्र पदाधिकारी संख्या बढाउनुको अर्थ छैन।

कांग्रेसभित्रको गुटबन्दीले राष्ट्रिय राजनीति नै प्रभावित बनेको छ। यसपटक पनि गुटगत प्रतिस्पर्धा नै हुने भयो हैन?

गुटको राजनीति थियो भने त्यो अन्त्य हुन्छ। अहिले गुट छैन। महाधिवेशन प्रतिस्पर्धालाई नै गुट भन्ने हो भने केही भन्नु छैन।

कांग्रेसका आगामी कार्यभार के हुन्?

तत्काल महाधिवेशन सम्पन्न गर्नुछ। त्यसपछि संविधान कार्यान्वयनमा लाग्नुछ। संविधान अनुसार पार्टी संरचना बनाउनुछ।

महाधिवेशनपछि कांग्रेसको ध्यान सरकार परिवर्तनमा केन्द्रित हुने चर्चाप्रति के भन्नुहुन्छ?

यसमा केही नबोलौं। सरकार बनाउने–गिराउने उद्देश्य छैन। हामी बलियो विपक्षी बन्न चाहन्छौं।

प्रस्तुतिः रामेश्वर बोहरा र तुफान न्यौपाने

comments powered by Disqus

रमझम