१६-२२ फागुन २०७२ | 28 Feb - 5 Mar 2016

तरंगको आशा मात्र

Share:
  
- शंकर तिवारी
शेरबहादुर देउवा वा रामचन्द्र पौडेल जो सभापति भए पनि जीवनको उत्तरार्द्धमा पाएको पार्टी नेतृत्व गर्ने अवसरको महत्व उनीहरूले बुझेका छन्।

मोन्टाजः भानु भट्टराई।
२० फागुनबाट काठमाडौंमा शुरू हुने नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट पार्टी सभापति हुने दौडमा रहेकामध्ये रामचन्द्र पौडेल र शेरबहादुर देउवा पञ्चायत विरुद्धको आन्दोलनमा खारिएका नेता हुन्। कोइराला परिवारका स्वाभाविक उत्तराधिकारी बीपीपुत्र शशांकले अहिलेलाई 'किङ मेकर' बन्ने रुचि देखाएकाले पार्टी नेतृत्व सुवर्णशमशेर र किसुनजीपछि तेस्रो पटक कोइराला परिवार बाहिर जाँदैछ।

२०५३ वैशाखमा सभापति निर्वाचित भएका गिरिजाप्रसाद कोइरालाले एकछत्र रूपमा पार्टी मात्र हाँकेनन्, भतिज सुशीललाई कार्यवाहक सभापति पनि बनाए। २०६७ मा पार्टी सभापति निर्वाचित सुशीलले दुर्भाग्यवश २०७२ को महाधिवेशन देख्न पाएनन्। नेपाली कांग्रेसलाई गत दुई दशक सिंगो रूपमा कोइराला परिवारले हाँक्यो। शेरबहादुर देउवाले २०५७/५८ मा विद्रोह गरेर नयाँ पार्टी बनाए पनि आवश्यकताको दबाबले दुवै समूहलाई पहिलो संविधानसभा निर्वाचन अगावै २०६४ मा एक बनायो।

चारतारामुनि चार प्रवृत्ति

अहिले सबैको ध्यान नेपाली कांग्रेसको भावी सभापतिमा केन्द्रित देखिन्छ। त्योभन्दा अलिकति अलग– महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्मका आकांक्षीहरूको नेतृत्व विकासतिर फर्कंदा विशेषतः तीन प्रकारका पात्र देखिन्छन्। चारतारे झ्न्डामुनि आबद्ध भइसकेपछि दायाँ–बायाँ कतै नहेरी आजीवन कांग्रेस रहेका पहिलो प्रकारका पात्रका उदाहरण पौडेल र देउवा नै हुन्। कांग्रेसभित्र यस्ता नेता–कार्यकर्ताको सबभन्दा ठूलो पंक्ति छ। जस्तोसुकै पार्टीगत, व्यक्तिगत संकटमा पनि चारताराप्रतिको निष्ठा नडगमगाएको यो पंक्ति नेपाली कांग्रेसको आधारस्तम्भ हो।

कांग्रेसभित्र बीचमा पञ्चायत प्रवेश गरेर २०४७ पछि पुनः घर फर्केका नेता–कार्यकर्ताको दोस्रो किसिमको पंक्ति छ। अर्जुननरसिंह केसीलगायतका नेता–कार्यकर्ता यो पंक्तिका उदाहरण हुन्। पञ्चायतको वर्गीय संगठन वा वामपन्थी पार्टीबाट राजनीतिक जीवन शुरू गरेर २०४७ पछि कांग्रेसमा पसेको तेस्रो पंक्ति छ। यसमा कृष्णप्रसाद सिटौलालगायतका नेता–कार्यकर्ता पर्छन्। यी तीनथरी बाहेक विद्यार्थी फाँटबाट गणतन्त्रको आन्दोलनमा लागेर पार्टी नेतृत्वमा स्थापित कान्छो पुस्ताको पनि कांग्रेसमा प्रभावशाली उपस्थिति छ। यो पुस्ताको प्रतिनिधि गगन थापा हुन्।

कांग्रेसले टुटफुट र जुटको लामो श्रृंखला पार गरेको छ। नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस जुटेर बनेको नेपाली कांग्रेसमा पहिलो फुट मातृकाप्रसाद कोइरालाले ल्याए, नेपाल प्रजा पार्टी खोलेर। टुट्ने क्रम पञ्चायतभरि चलिरह्यो। अड्तिसे सम्बद्ध समूह परशुनारायण चौधरी र बखानसिंह गुरुङहरूको त्यसकालको मुख्य टुटाइ थियो। पछिल्लो पटक २०५८ सालमा देउवाले नेकां (प्रजातान्त्रिक) बनाए।

नेतृत्व विकास र लोकतन्त्रीकरण

जनआन्दोलन र गतिशील युवा–विद्यार्थी आन्दोलनको अभावमा प्रभावकारी नेतृत्व जन्मिन कठिन हुन्छ। कांग्रेसमा नेपाल विद्यार्थी संघबाट उदाएका नेताहरूको प्रभाव छ। विशेषतः पञ्चायत विरुद्धको तीन दशक लामो प्रतिरोध आन्दोलनले नेपाली कांग्रेसलाई नेतृत्व विकासको राम्रो अवसर दियो। २०४७ सालपछि सुस्ताएको त्यो प्रक्रियालाई २०५८ को प्रतिगमन र २०६१ को शाही 'कु' ले पुनर्जीवन दियो।

आन्दोलनको अलावा पार्टीतन्त्रले पनि नेतृत्व स्थापनामा मद्दत गर्छ। यद्यपि, पार्टीतन्त्रले जन्माएका नेताको पकड पार्टीभित्र मजबूत भए पनि आम जनतामा कम प्रभाव हुन्छ, जसले पार्टीको लोकप्रियतामा गिरावट आउँछ। अर्को कुरा, पार्टीतन्त्रमा स्थापित नेतालाई आमजनतामा पकड भएका आफ्नै सहकर्मीबाट खतरा महसूस भइरहन्छ। नेपाली कांग्रेसमा यो समस्या छ। यो सन्दर्भसँग १३औं महाधिवेशनमा युवा आवाज कसरी प्रस्फुटित होला भन्ने कौतुहल जोडिएको छ। गगन थापाले देखाएको महामन्त्रीको आकांक्षाले पार्टी पंक्ति बाहिर पनि तरंग ल्याएको छ। उनले उम्मेदवारी दिएर महामन्त्रीमा विजयी भए भने कांग्रेसमा परिवर्तनको जोडदार धक्का महसूस हुनेछ।

२००३ देखि २०१७ सालसम्म सातवटा महाधिवेशन गरेको नेपाली कांग्रेसको पञ्चायतकालीन तीनदशक संघर्षमै बित्यो। 'मास बेस्ड' कांग्रेसले जनपरिचालनलाई जोड दिंदा त्यो अवधिमा महाधिवेशनमा ध्यान पुर्‍याउन नसकेको हुनसक्छ। २०४८ पछि भने नियमित महाधिवेशन भएर पार्टी नेतृत्व चयन प्रक्रिया पनि पारदर्शी हुँदै मनोनयन सम्बन्धी सभापतिका अधिकार खुम्चिंदै गए।

२०४८ सालमा पदाधिकारी मात्र चुनिएकोमा २०५३ मा सभापतिको पनि निर्वाचन भयो। त्यसपछि २०५७ र २०६२ को महाधिवेशनमा सभापति र आधा केन्द्रीय सदस्यको निर्वाचन भयो। २०६७ मा लागू गरिएको आरक्षण प्रणालीले कांग्रेसलाई मुलुकको उदाहरणीय समावेशी दल बनायो। गाउँ/नगरदेखि केन्द्रसम्मको पार्टी संरचना समावेशी बनेको छ।

देउवा कि पौडेल?

महाभूकम्पपछि राष्ट्रिय पुनःनिर्माणको अपेक्षा बढे जस्तै सुशील कोइरालाको निधनपछिको कांग्रेस पार्टीमा कार्यकर्ता पंक्तिले नेतृत्व पुनःनिर्माणको आशा गरेका छन्। अहिले सभापतिको दौडमा रहेका शेरबहादुर देउवा नेविसंघको अध्यक्ष, पार्टी केन्द्रीय सदस्य, गृहमन्त्री (२०४८) हुँदै २०५२ सालमा प्रधानमन्त्री बने। नेका (प्रजातान्त्रिक) को सभापति बनेबाहेक कांग्रेस पार्टीको कार्यकारी पदमा नबसी उनी अहिलेको उँचाइमा पुगेका हुन्। आसन्न स्पर्धामा सभापतिमा पराजित नै भए पनि उनी नेपाली कांग्रेसको 'वरिष्ठ नेता' नै रहने छन्।

तीन पटक प्रधानमन्त्री बनिसकेका देउवाले पार्टी सभापतिमा आफ्नो दाबीलाई अन्तिम प्रतिष्ठाको लडाइँ बनाएर सम्पूर्ण अस्त्र चलाइरहेका छन्। 'फस्ट पर्सन' को रूपमा 'टेस्ट' भइसकेका उनले आफ्नो दावा आक्रामक नभइकन अगाडि बढाएका छन्। आफ्नो समूह संस्थापनभन्दा बढी कटिबद्ध भएकोले परिणाम हात पर्नेमा देउवा आशावादी देखिन्छन्। आफू बलियो भएर भन्दा पनि संस्थापनको फुट र समन्वय अभावका कारण पासा उनको पक्षमा पल्टन सक्छ।

सभापति पदका अर्का प्रत्यासी रामचन्द्र पौडेल पञ्चायतकालमा सबभन्दा लामो समय १४ वर्ष जेल बस्ने कांग्रेस नेता हुन्। पार्टी केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र अहिले कार्यवाहक सभापति रहेका उनले सभामुख, मन्त्री र उपप्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन्। पार्टी र सरकार दुवै मोर्चामा 'फस्ट पर्सन' को 'टेष्ट' नभएका पौडेलले सभापतिको आकांक्षामा 'शंकाको सुविधा' पनि पाएका छन्। 'पार्टी जोगाउन उम्मेदवारी दिएको' भन्ने उनको तर्कमा कुनै दम महसूस हुँदैन, तर संस्थापन पक्ष एकढिक्का भए उनको सम्भावना बलियो छ।

कांग्रेसको संस्थापनसँग भोटको भन्दा व्यवस्थापनको कमी छ। त्यसमाथि, पार्टीका भ्रातृसंस्थाहरू दलित संघ, टे्रड युनियन र प्रेस युनियनका चुनावमा देखिएको परिणाम दोहोरिने र सभापतिमा कृष्णप्रसाद सिटौलाको उम्मेदवारीले संस्थापनको एकता छिन्नभिन्न हुने सम्भावना पनि छँदैछ। महामन्त्रीमा शशांकले उम्मेदवारी दिन्छन् कि शेखरलाई अघि सार्छन् भन्ने छिनोफानो पनि भएको छैन। 'फादर फिगर' को अभाव महसूस गरिरहेको संस्थापन पक्षमा सबैलाई समेट्न सक्ने 'ट्रवल सुटर' भन्दा 'ट्रवल मेकर' हरू हावी हुँदै जाने सम्भावना पनि छँदैछ।

शेरबहादुर देउवा र रामचन्द्र पौडेलले आफ्नो राजनीतिको लामो कालखण्ड परस्पर विरोधी क्याम्पबाट चालु राखे। कुनै समय पौडेल कोइराला विरोधी थिए भने देउवा पक्षधर। अहिले पौडेल कोइराला क्याम्पबाट पार्टी सभापतिको उम्मेदवार बनेका छन् भने देउवा उनका प्रत्यासी। कोइरालाहरू नै पार्टीको निरन्तर संस्थापन रहे पनि परिवारका सदस्य सभापति नबन्ने परिस्थितिमा पार्टी परिचालनमा बदलाव आउँदैछ। पार्टी नेतृत्वका आकांक्षीहरूले महाधिवेशनको पूर्वसन्ध्यामा देखाएको प्रतिस्पर्धा र वैमनस्यता लोकतन्त्रका अनिवार्य उपक्रम हुन्।

२०४६ पछिको पुस्ता नेतृत्वमा नआएसम्म 'बूढो बाघ' नेपाली कांग्रेसलाई तरंगित हुन मुश्किलै पर्नेछ। अहिलेलाई भने शेरबहादुर वा रामचन्द्र जो सभापति भए पनि उनीहरूले जीवनको उत्तरार्द्धमा पाएको नेतृत्व गर्ने अवसरको महत्व बुझेका छन्। निष्ठावान कार्यकर्ता पंक्तिले भने देशको सबभन्दा जेठो लोकतान्त्रिक पार्टीमा नवीन तरंग ल्याउने अपेक्षाका साथ नेतृत्वलाई घचघच्याई नै रहनेछ।

comments powered by Disqus

रमझम