प्रश्नको घेराबन्दीमा

Share:
  
- शीतल कोइराला
१३औं महाधिवेशनको सँघारमा रहेको नेपाली कांग्रेसले २०१२ सालमा बनाएको प्रजातान्त्रिक समाजवादको सिद्धान्त स्मरण गर्न सक्ला कि नसक्ला?

वीरगञ्ज महाधिवेशनबाट समाजवादलाई पार्टी सिद्धान्त घोषणा गरेको कांग्रेसको १३औं महाधिवेशन यही २०–२३ फागुनमा काठमाडौंमा हुँदैछ। यसक्रममा भएका वडा, गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनहरूमा कांग्रेसका तीन आदर्श– 'राष्ट्रियता, प्रजातन्त्र र समाजवाद' लेखिएको चारतारे झ्ण्डा र रूखसहितको व्यानरमुनि हजारौं कार्यकर्ताले विभिन्न पदको स्पर्धा गरे। ती अधिवेशनहरू समाजवादी शैली–संस्कृतिमा भए त? प्रश्न खडा भएको छ।

निरंकुश राणाशासन ढालेको कांग्रेसले मुलुकमा नागरिक अधिकार सुनिश्चित गरी सामन्ती सामाजिक–आर्थिक पद्धतिले सिर्जना गरेको गरीबी, अशिक्षा, अज्ञानता, असमानता, भेदभाव, शोषण र अन्याय अन्त्य गर्ने लक्ष्यका लागि सैद्धान्तिक अवधारणाको रूपमा समाजवादलाई स्थापनाकालमै अवलम्बन गरेको हो। मुलुकको आर्थिक–सामाजिक व्यवस्थामा जुन वर्गको प्रभुत्व हुन्छ, राज्यमा त्यही वर्गको पहुँच स्थापित हुन्छ भन्ने बीपी कोइरालाको मान्यता थियो।

बीपीको व्याख्या

राज्य–अर्थतन्त्र अन्तरसम्बन्धलाई निरपेक्ष रूपमा हेरिनुहुँदैन भन्ने बीपीको मान्यता थियो– राजनीतिक परिवर्तनलाई अर्थ–राजनीतिक हिसाबले संस्थागत गरिनुपर्छ, नत्र परिवर्तन दिगो हुँदैन। उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई कांग्रेसको आदर्शका रूपमा व्याख्या गर्नुको कारण त्यही थियो। दोस्रो विश्वयुद्धपछि पश्चिम युरोपमा समाजवादी दलहरूको उदय भएको समयमा कांग्रेसले समाजवादलाई अंगीकार गरेको थियो। त्यसै बखत स्वतन्त्र भएका अफ्रिकी र एशियाली मुलुकहरूमा मिश्रित अर्थ–व्यवस्थामा आधारित समाजवादी ढाँचाको विकासको लहर चलेको थियो। भारतीय राष्ट्रिय कांग्रेसले पनि समाजवादी विकास अवधारणा अवलम्बन गरेको थियो। त्यसरी समकालीन दुनियाँको प्रभाव स्वीकारेका बीपीले समाजवाद विनाको प्रजातन्त्रलाई अपुरो मानेका थिए।

बीपीको समयमा कांग्रेसले परिकल्पना गरेको समाजवादका मुख्य तीन आयाम थिए, पहिलो– आर्थिक असमानता र शोषणको अन्त्य, दोस्रो– जातीय उत्पीडन र अन्यायको अन्त्य र तेस्रो– भ्रातृत्व, सहकारिता, आत्मसम्मान र स्वाभिमानको सम्मान तथा सुखदुःखमा साथ दिने संस्कृतिको विकास। बीपीले २०१५ सालको पार्टी घोषणापत्रमा यी कुरा उल्लेख गरेका छन्। उनको नेतृत्वको सरकारले समाजवादी आर्थिक विकासको दिशामा क्रान्तिकारी नीति–कार्यक्रम लागू गरेको थियो, तर डेढ वर्षमै राजा महेन्द्रले १ पुस २०१७ मा सैन्यबलमा निरंकुशता लादेपछि नेपालमा समाजवादी आर्थिक विकासको बृहत् लक्ष्य अवरुद्ध भयो।

नेपाली कांग्रेसले २०१७–२०४६ को अवधि बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनाका लागि विद्रोह, संघर्ष र आन्दोलन गर्दागर्दै बितायो। यही बीचमा समाजवादी नेता बीपी कोइरालाको देहान्त भयो। यद्यपि, बीपीपछि कृष्णप्रसाद भट्टराई, सीके प्रसाईं जस्ता नेताहरूले समाजवादी सिद्धान्तको व्याख्या प्रयास गरी नै रहे। तेस्रो पुस्तामा आइपुग्दा भने कांग्रेसमा सिद्धान्तको व्याख्या गर्ने नेताको खडेरी छ। अहिले कांग्रेसको नीतिगत समस्या भनेको बीपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र र समाजवादको समयसापेक्ष व्याख्याको सवाल हो।

नेपाली कांग्रेस नेतृत्वको जनआन्दोलनले २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना गरायो। त्यसपछिका दिनमा उसकै नेतृत्वमा सरकारहरू बने, जसले अर्थतन्त्रलाई उदारवादमा आधारित पूँजीवादी चरित्र दिन खोज्यो। कांग्रेसका सरकारले गरेको यो काम समाजवादसापेक्ष थियो वा थिएन मूल्यांकन भएको छैन। एउटा पक्का कुरा चाहिं के छ भने, २०४६ पछिको कांग्रेसको आर्थिक नीतिले भौतिकवादी चाहना र उपभोक्तावादी व्यावसायिक संस्कृति विकासको अभ्यास हुन थाल्यो।

कांग्रेसले चुनावी घोषणापत्रहरूमा 'समाजवाद' लेख्न छोडेको छैन, उसले भन्ने गरेको समाजवाद र लिएको आर्थिक नीतिबीच तालमेल नमिलेको भए पनि। राज्यको नीति, व्यवहार र शैलीले समाजको चरित्र तथा संस्कार निर्माण गर्छ। समाजको चरित्र शासनव्यवस्थामा प्रतिबिम्बित हुन्छ। २०४६ सालयता नेपाली समाजको चरित्र र संस्कारमा कांग्रेसको समाजवादी नीति प्रतिबिम्बित भएको देखिंदैन।

पूँजीवादी चरित्र

१३औं महाधिवेशनको सन्दर्भमा 'समाजवादी' नेपाली कांग्रेसका वडा, गाउँ, नगर र जिल्ला अधिवेशनहरूमा व्यक्तिकेन्द्रित सोच तथा पूँजीवादी चरित्रको बलियो अभ्यास भएको देखियो। यस्तो चरित्र निर्माणमा २०४६ सालयता पार्टीले लिएको नीति जिम्मेवार छ र यसले समाजवादलाई गम्भीर चुनौती दिएको छ।

'समाजवाद' शब्दको प्रयोग सन् १८३० को दशकबाट शुरू भएको हो। राजनीतिशास्त्री अलेक्जेण्डर मिनेतले समाजवादलाई 'व्यक्तिवाद विपरीत' भनेका थिए। अर्थात्, त्यागको भावना र अरूको सम्मान समाजवादको महत्वपूर्ण शर्त हो। समाजवादमा अरूको सम्मान गर्ने संस्कार–चरित्र निर्माण हुन्छ। संसारमा समाजवादी कहलिएकाहरूले आफूलाई त्यही चरित्रको बनाउन खोजे। उनीहरूले राज्य सञ्चालन गर्दा आर्थिक–सामाजिक नीतिमा समाजवाद प्रतिबिम्बित गराउने प्रयास गरे। महात्मा गान्धीले भारतीय समाजलाई समाजवादी बनाउने कोशिश गरे।

कांग्रेसको आन्तरिक निर्वाचनहरूमा भने मूल्यांकन पद्धतिले अर्थै राखेन। प्रतिस्पर्धाहरूको चापका बीच अस्वस्थ गुटबन्दी र जसरी पनि जित्ने मनोविज्ञान हावी भयो। अधिवेशनहरू अत्यन्तै खर्चिला पनि देखिए। उम्मेदवारलाई मतदाताको यात्रादेखि खानपिनसम्मका खर्च बेहोर्नुपर्ने प्रवृत्ति हेर्दा कांग्रेसमा पूरै पूँजीवादी चरित्र विकास भएको देखिन्छ। राजनीतिलाई द्रव्य प्रभावबाट मुक्त नराख्दा कांग्रेसको आदर्श कमजोर भएको यसले देखाएको छ। निष्ठावान कांग्रेसजन पैसा र भौतिक शक्तिको खुल्ला प्रयोगबाट मर्माहत भएका छन्। आर्थिक रूपमा निर्बल कार्यकर्ताको पार्टीमा स्थान नहुने अवस्थाको लक्षण हो यो।

प्रश्नमाथि प्रश्न

पुस्तान्तरण हुन लागेको नेपाली कांग्रेसमा समग्र सैद्धान्तिक धरातल नै खस्केको छ। समाजवाद त टाढाको कुरा, बीपी र उनको पुस्ताले व्याख्या गरेको राष्ट्रियता र प्रजातन्त्र (अहिले लोकतन्त्र) समेत नारामा सीमित छन्। कांग्रेसको लागि राष्ट्रियता र प्रजातन्त्रको समयसापेक्ष व्याख्या पनि चुनौती हुन पुगेको छ। त्यसो त, संविधानसभाबाट नयाँ संविधान जारी भएपछि कांग्रेसलाई हेर्ने दृष्टिकोणमा समेत जटिलता थपिएको छ।

कांग्रेसले हिजो संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रलाई आदर्श मानेकोमा देश गणतन्त्रमा गइसकेको छ भने प्रजातन्त्र 'क्लासिकल' बनेको छ। प्रजातन्त्रको परिभाषामा समावेशी लोकतन्त्र कहाँ अटाउने? हिजो राजा र कम्युनिष्टका बीचमा संवैधानिक राजतन्त्रको मध्यमार्गी बाटो समातेको कांग्रेस गणतन्त्रमा मध्यमार्गी नै हो कि दक्षिणपन्थी?

राष्ट्रियताको सवालमा पनि प्रश्न उठेका छन्। अबको राष्ट्रियता के हो? त्यसको आधार के हुन्छ? जातीय वा समुदाय विशेषको पहिचानमा आधारित राष्ट्रवाद सम्बन्धी बहस बीपीका पालामा आवश्यक परेन, तर अहिले यो सवाल जोडतोडसँग उठेको छ। यस विषयमा कांग्रेसको धारणाको प्रतीक्षा छ, तर महाधिवेशन नीतिमा केन्द्रित हुने छाँटै देखिएन। कांग्रेसजनलाई नेतृत्वमा केन्द्रित पारिएको छ।

नेतृत्वका दृष्टिले निष्प्रभावी भइसकेको कांग्रेस यो महाधिवेशनमा वैचारिक–दार्शनिक हिसाबले झ्नै शिथिल हुने देखिएको छ। कांग्रेसले नेपाली राजनीतिमा आफ्नो औचित्य पुष्टि समेत गर्न नसक्ने दिन आउन लागेको हो त? हो भने त्यो देशकै लागि दुर्भाग्यपूर्ण हुनेछ।

comments powered by Disqus

रमझम