१६-२२ फागुन २०७२ | 28 Feb - 5 Mar 2016

चूपचाप चालु

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ

भानु भट्टराई
राजधानीका क्यासिनोमा कंगाल भएका नेपालीहरू कुख्यात अपराधी समेत बने (क्यासिनोले जन्माउँदैछ अपराध, हिमाल १६–३० कात्तिक २०६७)। गत पाँच वर्षबाट राजधानी बाहिरका शहरमा खुलेका मिनी क्यासिनोहरूमा पनि थुप्रै उद्योगी, व्यापारीहरू जुवाको लतमा परिसकेका छन्। काकडभिट्टा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा, धनगढी र महेन्द्रनगरमा १० वटा मिनी क्यासिनो संचालनमा छन्, त्यो पनि विना अनुगमन।

कर नतिरेका काठमाडौं र पोखराका ८ वटा क्यासिनोलाई सरकारले २०७१ वैशाखबाट रोक लगाएकोमा अहिले राजधानीको सांग्रिला होटलमा ह्याप्पी वर्ल्ड प्रालिले, सोल्टी होटलमा माजोङ इन्टरटेनमेन्टले र हायात रिजेन्सी होटलमा प्राइड इन्टरटेनमेन्ट प्रालिले क्यासिनो सञ्चालन गरेका छन्। यी क्यासिनोहरूको नियमन पनि भएको छैन। कानूनतः नेपाली प्रवेश निषेध भए पनि सबै क्यासिनो नेपालीकै भरमा चलेका छन्। राजधानी बाहिर चारतारे होटलमा मिनी क्यासिनो चलाउन सकिने नियम भए पनि कुनै होटल यो स्तरका छैनन्। ती क्यासिनो रक इन्टरनेशनल (किशोर सिलवाल), ह्याप्पी आवर प्रालि (सुरेन्द्रबहादुर सिंह) र सेन्ट्रल मिडिया (महेश्वरमान जोशी) ले चलाएका छन्।

पुरानो कर नतिरेका सञ्चालकहरूले नयाँ कम्पनीको नाममा क्यासिनो खोलेका छन्। राजधानीमा चलिरहेका तीन वटा क्यासिनोका सञ्चालक राजेन्द्र बजगाई (ह्याप्पी वर्ल्ड प्रालि), विनोद श्रेष्ठ (माजोङ इन्टरटेनमेन्ट) र विनय शाह (प्राइड इन्टरटेनमेन्ट प्रालि) छन्। सुरेन्द्रबहादुर सिंहको गिल्ड इन्टरटेनमेन्टले अदालतको अन्तरिम आदेशको आधारमा याक एण्ड यती होटलमा गत माघदेखि क्यासिनो चलाइरहेको छ। अरू तीन क्यासिनोसरह सञ्चालन स्वीकृति लिने अन्तिम चरणमा गिल्डले अदालतलाई प्रभावमा पारेको पर्यटन विभाग स्रोत बताउँछ।

अदालतको आड

जुवामा पल्केर घर न घाटको भएका नेपालीको संख्या बढ्न थालेपछि सरकारले 'क्यासिनो नियमावली २०७०' जारी गरेर संचालनमा कडाइ गरेको थियो। नेपालीलाई प्रवेश नदिए क्यासिनोको सञ्चालन खर्च नै नउठ्ने अवस्था अहिले पनि छ। कडा कानूनी प्रावधान आएपछि आफैं क्यासिनो बन्द गरेका सञ्चालकहरूले राजनीतिक शक्ति र अदालतको अन्तरिम आदेशको आडमा पुनः सञ्चालन गरेका हुन्। तोकिएको वार्षिक रोयल्टी रु.२ करोड नतिर्ने क्यासिनोका सञ्चालकहरूमध्ये केहीले सर्वोच्च अदालतमा रीट हालेर आफू अनुकूलको आदेश पाए।

विराटनगरको मिनी क्यासिनोमा तीन वर्षमा रु.५० लाख सिध्याएका २७ वर्षीय व्यापारी रमेश अग्रवाल (नाम परिवर्तन) जुवा खेल्न लिएको ऋण तिर्न नसकेर लुकीलुकी हिंडिरहेका छन्।

शुरूमा आफ्नै शहरको मिनी क्यासिनोमा जितेर पल्केका वीरगञ्जका व्यापारी राजीव अग्रवाल (नाम परिवर्तन) ले राजधानीसम्मका क्यासिनोमा रु.५० लाख गुमाए। यसरी डुबेका उनले दुई पटक आत्महत्याको प्रयास गरे।

प्रहरीले गएको तिहारमा भैरहवाको ह्याप्पी आवर क्यासिनोमा नेपाली खेलिरहेको भेट्यो। भैरहवाका दुई मिनी क्यासिनो विदेशीका लागि भनिए पनि त्यहाँ बढी नेपाली नै जुवा खेलेर बर्बाद भइरहेका छन्।

सर्वोच्चका न्यायाधीश रामकुमारप्रसाद शाह र जगदीश शर्मा पौडेलको इजलासले व्यवसाय रोक्न नमिल्ने भन्दै १८ जेठ २०७१ मा सेन्ट्रल मिडियाको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो। त्यस्तै, सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले १५ साउन २०७१ मा ह्याप्पी आवर प्रालिको पक्षमा अन्तरिम आदेश जारी गर्‍यो। त्यही आदेशका आधारमा राजधानी बाहिर १० क्यासिनो चलेका छन्। (हे.ग्राफिक्स)

क्यासिनो नियमावली २०७० लागू भएपछि त्यस अनुसार दर्ता हुन ताकेता गर्दा पनि नआएपछि ६ वैशाख २०७१ मा सबैको अनुमति खारेज भएको थियो। त्यसवेला क्यासिनो सञ्चालन गर्ने कम्पनी नेपाल रिक्रिएशन सेन्टरको कित्ता नम्बर ४७ र ७९ को तीन रोपनी जग्गा राजस्व अनुसन्धान विभागले रोक्का गरेर ९ वैशाख २०७२ मा ३० दिन भित्र बक्यौता रोयल्टी नबुझ्ाए जायजेथाबाट असूल गरिने सूचना जारी गरेको थियो। सोल्टी होटल र क्यासिनो सञ्चालक रिक्रिएशन सेन्टरबीच रोयल्टी तिर्ने सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ। त्यही सोल्टीमा अहिले माजोङ इन्टरटेनमेन्ट प्रालिले नयाँ क्यासिनो चलाएको छ। यता, सरकारले न करीब रु.१ अर्ब पुरानो बक्यौता उठाउन सकेको छ न चलिरहेका क्यासिनोको नियमन गरेको छ। अदालतको आदेशपछि नियमन, अनुगमन सबै कमजोर भएको बताउने पर्यटन विभागका एक अधिकारी भन्छन्, “कसैले अदालतको आदेश विरुद्ध कारबाही चलाउने कुरै भएन।”

करीब ८ आठ हजार कर्मचारी रहेको क्यासिनोहरूमा एमाओवादी मजदूर युनियनको पकड थियो। 'जनयुद्ध' ताका गाउँहरूमा तास खेल्नेमाथि भाटे कारबाही चलाएका माओवादीहरू २०६४ पछि शहरका क्यासिनोहरूमा घुसेका थिए। सत्तामा रहँदा माओवादी नेताहरूले 'क्यासिनो बन्द भए ७/८ हजारको रोजगारी गुम्ने' भन्दै प्रहरी प्रशासनलाई आँखा चिम्लिन दबाब दिन्थे। एमाओवादी सरकारकै पालामा पर्यटन मन्त्री हिसिला यमीले राजधानी बाहिरका शहरहरूमा समेत मिनी क्यासिनोको लागि बाटो खोलिदिएकी थिइन्।

जुवा खेल्न नेपाल आउने विदेशी पर्यटकको संख्या अत्यन्तै न्यून छ। सबभन्दा ठूलो संख्यामा नेपाल आउने भारतीय, चिनियाँ र श्रीलंकालीहरू धार्मिक पर्यटक हुन्। भारतीय पर्यटकमध्ये १५ प्रतिशत जति क्यासिनो पस्छन्। नेपालका क्यासिनोका मुख्य ग्राहक नेपाली नै हुन्। हिमाल खबरपत्रिकामा उनीहरूको क्यासिनो लत, बिचल्ली र जघन्य अपराधमा संलग्नता सम्बन्धी रिपोर्ट पटक–पटक प्रकाशित भएको छ। सरकारले लागू गरेको नेपालीलाई प्रवेश निषेधको नियम क्यासिनो सञ्चालकले पालना नगर्दा विकृति बढेको हो।

नेपाल प्रहरीले क्यासिनो नियमनको अधिकारसहितको महानगरीय प्रहरी ऐनको खाका दुई वर्षअघि सरकारलाई बुझाएको थियो, जसमा कुनै प्रगति भएको छैन। महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख एआईजी प्रतापसिंह थापा क्यासिनोको अनुमति दिने र नियमन गर्ने निकाय पर्यटन मन्त्रालय भएकाले नेपाली छिरे, नछिरेको हेर्ने उसैको काम भएकाले पनि प्रहरीले नियमित अनुगमन नगरेको बताउँछन्। जिम्मेवार निकायले सहयोग चाहे प्रहरी परिचालन हुने उनले बताए। उनका अनुसार प्रहरीले क्यासिनोमा आपराधिक घटना हुन नदिन समय समयमा निगरानी भने गर्दै आएको छ। नयाँ नियम अनुसार चलेका काठमाडौंका तीन क्यासिनोले नेपाली प्रवेश गराए लाइसेन्स खारेज हुने बताउँदै पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकाल भन्छन्, “अदालतको आदेशबाट चलेका क्यासिनोको अनुगमन चाहिं कसले गर्ने हो, हामी अन्योलमा छौं।”

१६–३० कात्तिक २०६७

शहर–शहरमा जुवा अड्डा

क्यासिनोमा पल्केको तीन वर्षमा रु.५० लाख हारेका विराटनगरका रमेश अग्रवाल व्यापारी बाबुका एक्लो छोरा हुन्। अहिले लुकेर हिंड्न बाध्य उनले घरबाट पैसा पाउन छाडेपछि विराटनगरका धन्दावालाहरूसँग रु.१ लाखको दैनिक १० हजार ब्याज लाग्ने ऋण लिएका थिए। साथीहरूको लहैलहैमा क्यासिनो जान थालेका विराटनगरका अर्का व्यापारीपुत्र जीवन अग्रवाल (नाम परिवर्तन) रु.२० लाख हारेपछि जान छाडेको बताउँछन्।

विराटनगरका व्यापारी परिवारका धेरै युवक जुवाको लतमा फसिसकेका छन्। सुनिल सोनीले बाबुको सुनको व्यापार क्यासिनोमा सिध्याए। इटहरीका एक युवकले त ठूलो रकम हारेपछि आत्महत्या गरे। विराटनगरको रत्ना होटलमा क्यासिनो छ, जहाँ विदेशी जुवाडेको उपस्थिति विरलै हुन्छ। क्यासिनोमा विराटनगरकै व्यापारी परिवारका युवक र उनीहरूलाई 'मीटर ब्याज' मा ऋण दिनेहरूको खातिरदारी भइरहेको हुन्छ।

विराटनगरमा क्यासिनो नहुँदा काठमाडौंसम्म धाउने पुराना जुवाडेहरू पनि छन्। तीमध्येका रोहित धनावत, सुनिल राठी, दिनेश चौरडिया, लोकमान लोहियालगायतले प्रतिव्यक्ति रु.२ करोड भन्दा बढी हारेको बताइन्छ। आशिष लखौटिया भने रु.३ करोडभन्दा बढी हारेपछि क्यासिनो जान बन्द गरे। अभिषेक चौरडिया पनि रु.१ करोड हारेपछि सुधि्रए भने किसन सन्थालिया, महेन्द्र अग्रवाल, सिद्धान्त सोनीलगायतले विराटनगरकै क्यासिनोमा प्रतिव्यक्ति रु.५० लाख गुमाएका छन्। विराटनगरको क्यासिनोका एक मात्र नियमित विदेशी जुवाडे रहेका जोगवनीस्थित एसबीआई ब्यांकका म्यानेजर दीपेशकुमार ग्राहकको खाताको रु.५० लाख भन्दा बढी हारेर फरार भएका छन्।

सांग्रिला होटल।

सोल्टी होटल।

एक वर्षअघि क्यासिनोको लतमा फसेका वीरगञ्ज, आदर्शनगरका ३३ वर्षे व्यापारी मिनी क्यासिनोबाट राजधानीका ठूला क्यासिनोसम्म पुगे। शुरूमा एकाध लाख जितेका उनी हार्ने श्रृङ्खला शुरू भएपछि सवा करोड रुपैयाँ गुमाएर टाट पल्टिए। क्यासिनोमा गुमाएको सम्पत्ति जोड्न अब सम्भव नहुने उनले बताए। वीरगञ्जकै अग्रवाल थरका अर्का एक जना अधबैंसे व्यापारीले मिनी क्यासिनोमा रु.५० लाखभन्दा बढी गुमाएपछि आत्महत्याको प्रयास गरेका थिए।

आर्थिक नगरी वीरगञ्जका व्यापारीहरू शुरूमा रमाइलो गर्ने उद्देश्यले क्यासिनो छिर्ने गरेका छन्। त्यही रमाइलो लत बनेर धेरैलाई सडकमा ल्याएको छ।

वीरगञ्जको होटल विश्व र होटल सुरजमा मिनी क्यासिनो छ। दुवै क्यासिनोमा ३० प्रतिशतभन्दा बढी ग्राहक नेपाली हुन्छन्। २/४ लाख लिएर वीरगन्जका क्यासिनोमा आउने भारतीयहरू हार्न थालेपछि उठेर हिंड्छन्। स्थानीयहरू भने आफूसँग भएको पैसा हारेपछि 'मीटर ब्याज' को ऋण लिएर पनि खेल्छन्। “क्यासिनोमा उठ्नै नसक्ने गरी थला परिंदोरहेछ”, वीरगन्जका एक भुक्तभोगी भन्छन्, “लत कस्तो भने बरु लागूऔषधको लत छुटाउन सकिन्छ, क्यासिनोको छुटाउन सकिंदैन।”

होटल याक एण्ड यती।

हायात होटल ।

रूपन्देहीको भैरहवामा दुइटा क्यासिनो छन्– होटल लाकौलमा ह्याप्पी आवर र होटल नान्समा रक इन्टरनेशनल गेनिंग क्लब। नेपाली प्रवेश र अश्लील गतिविधिका कारण दुवै क्यासिनो विवादमा आइरहन्छन्। प्रहरीले गत तिहारमा होटल लाकौलको क्यासिनोबाट नेपालीलाई पक्राउ गरेको थियो। भैरहवाका क्यासिनोका पूर्व कर्मचारी नेपाली ग्राहकले हार्दा पटक–पटक तनाव भएको अनुभव सुनाउँछन्। उनीहरूका अनुसार, विदेशी ग्राहक नहुँदा नेपालीलाई छिराइन्छ। नेपाली 'भीआईपी' हरू चाहिं जति वेला पनि आइरहन्छन्। नान्सका एक पूर्व कर्मचारीले क्यासिनोमा जुवाडेहरूको मनोरन्जनका लागि अश्लील नृत्य प्रदर्शन गरिने बताए।

रूपन्देहीका प्रहरी प्रमुख एसपी शेरबहादुर बस्नेत क्यासिनोहरूमा पटक–पटक छड्के गरेको बताउँछन्। होटल नान्समा सञ्चालित रक इन्टरनेशनल गेनिंग क्लबका सञ्चालक चन्द्रप्रकाश श्रेष्ठ भने प्रहरी प्रशासनले अनावश्यक दुःख दिएको बताउँछन्। विभिन्न बहानामा भएको हस्तक्षेपले पर्यटन प्रवर्द्धन नहुने उनले बताए।

साथमा, दीपक ज्ञवाली बुटवल, कमल रिमाल विराटनगर र सुरेश बिडारी वीरगञ्ज

comments powered by Disqus

रमझम