१६-२२ फागुन २०७२ | 28 Feb - 5 Mar 2016

किशोरीहरुलाई एचपीभी

Share:
  
- डा. सुमनराज ताम्राकार
सरकारले उपलब्ध गराउन लागेको ह्युम्यान प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप किशोरीवस्थामै लगाए पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ।

विश्वभरका करीब ७९ प्रतिशत महिलालाई जीवनमा एक न एकपटक ह्युम्यान प्यापिलोमा भाइरस (एचपीभी) संक्रमण भएको हुन्छ, जुन पाठेघरको मुखमा क्यान्सर गराउने कारकमध्ये एक हो। धेरैजसो महिलामा यो संक्रमण आफैं हराउँछ। एचपीभीले पाठेघरको मुखमा क्यान्सर गराउने सम्भावना ३ देखि १० प्रतिशतसम्म हुन्छ।

एचपीभी संक्रमणको खास प्रभावकारी उपचार विधि छैन। सामान्यतः २५ वर्ष मुनिका महिला तथा किशोरीलाई बढ्ता एचपीभी संक्रमण हुन्छ। यौनसम्पर्कले जीवाणुको संक्रमण बढाउँछ। विश्वमा हुने पाठेघरको मुखको क्यान्सरमध्ये ७० प्रतिशत एचपीभी–१६ र एचपीभी–१८ प्रजातिको संक्रमणबाट हुने अनुमान छ।

नेपालमा कतिपय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पहलमा सन् २००८ बाट नै ह्युम्यान प्यापिलोमा भाइरस विरुद्धको खोप उपलब्ध हुँदै आएकोमा अब सरकारले निःशुल्क घोषणा गरेको छ। गार्डासिल र सर्भासिस नामक यो खोपले विशेषतः एचपीभी–१६ र एचपीभी–१८ प्रजातिको संक्रमण विरुद्ध लड्ने क्षमता दिलाउँछ। एचपीभी खोप लिएपछि पनि पाठेघरको मुखको क्यान्सरका लागि समय–समयमा स्त्रि्कनिङ गराउनु बुद्धिमानी हुन्छ।

एचपीभी विरुद्ध पहिलो खोप लगाएको दुई महीना र चार महीनापछि दोस्रो र तेस्रो मात्रा पूरा गर्नुपर्छ, नत्र पूर्ण सुरक्षित हुन सकिंदैन। एलर्जीको समस्या छ भने चाहिं यो खोप लगाउनुहुँदैन। पाखुराको मांसपेशीमा एचपीभी खोप लगाएपछि छाला रातो हुने, सुन्निने, हल्का ज्वरो आउनेलगायतका असर देखिन सक्छ, तर यो सामान्य हो।

यौन क्रियामा लाग्नुअघिको किशोरी उमेरमै यो खोप लगाए पूर्ण लाभदायक हुन्छ। ९ वर्षभन्दा कम र २६ वर्षभन्दा बढी उमेरकाले यो खोप लगाउनु त्यति उपयुक्त हुँदैन। यौनक्रियामा लागिसकेको भए पनि खोप लगाउन सकिन्छ, तर खोप लगाउनुअघि नै एचपीभी–१६ र एचपीभी–१८ प्रजातिको संक्रमण भइसकेको भए यसबाट सुरक्षा हुँदैन। त्यस्तै, गर्भवती महिलाले लगाउनुहुँदैन, तर बच्चा जन्माइसकेपछि हुन्छ।

स्तन क्यान्सरपछि महिलाको दोस्रो प्रमुख समस्या हो– पाठेघरको मुखको क्यान्सर। विश्वमा हरेक वर्ष पाँच लाख महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ। तीमध्ये करीब दुई लाख महिलाको मृत्यु हुन्छ। पाठेघरको मुखको क्यान्सर साधारणतः ४० वर्ष पुगेपछि देखापर्ने भए पनि नेपालमा ३० वर्षभन्दा कम उमेरका महिलामा पनि हुने गरेको छ। बालविवाह, कम उमेरमै यौनसम्पर्क, एकभन्दा बढीसँग यौनसम्पर्क, कम उमेरमै धेरै बच्चा पाउनु, यौनाङ्गको सरसफाइ नगर्नु, सूर्तीजन्य पदार्थ सेवन, पहिल्यैबाट यौनरोग हुनु पाठेघरको मुखको क्यान्सर लाग्नुको प्रमुख कारण हुन्।

एचपीभी यौनसम्पर्कमार्फत सर्छ। एशियामा ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभी–१६ र एचपीभी–१८ प्रजातिको संक्रमणबाट भएको पाइएको छ। यौनसम्पर्कको क्रममा पाठेघरको मुखको कोषिकाको प्रोटिन र एचभीपीको प्रोटिनबीच रसायनिक प्रक्रिया हुँदा ती कोषिकाहरूमा परिवर्तन ल्याउँछ। कोषिकाहरूमा हुने त्यो परिवर्तन नै पछि क्यान्सरमा परिणत हुन्छ।

लक्षण र निदान

पाठेघरको मुखको क्यान्सरको शुरूआती अवस्थामा कुनै लक्षण देखिंंदैन। यसको लागि 'प्याप स्मियर' परीक्षण गर्नुपर्छ। पाठेघरको मुखमा क्यान्सर लागेको छ वा छैन भनेर थाहा पाउन एसिटिक एसिड वा ल्युगोल आयोडिनको प्रयोग पनि गरिन्छ, तर २५ वर्ष काटेकी विवाहित महिलाले सकिन्छ भने वर्षेनि 'प्याप स्मियर' गराउँदा राम्रो हुन्छ। यो सामान्य किसिमको परीक्षण हो। पाठेघरको मुखमा क्यान्सर लागेको ठ्याक्कै थाहा पाउन बायोप्सी (मासु जाँच) गर्नुपर्छ। क्यान्सर अन्यत्र फैलिएको छ/छैन भनेर थाहा पाउन अल्ट्रासाउण्ड, सीटी स्क्यान, आईभीयू र एक्सरे गरिन्छ।

पाठेघरको मुखको क्यान्सरबाट बच्ने सबभन्दा राम्रो तरीका चाहिं कलिलै उमेरमा विवाह नगर्ने, निश्चित अन्तरालमा मात्र बच्चा जन्माउने, यौनाङ्गको सफाइमा ध्यान दिने, धेरै जनासँग यौनसम्पर्क नराख्ने, गुप्ताङ्गसम्बन्धी रोग लाग्दा समयमै उपचार गराउनु र सूर्तीजन्य पदार्थबाट टाढै रहनु हो। अब सरकारी तवरबाट निःशुल्क उपलब्ध हुन लागेको खोप त झ्न् छुटाउनै हुँदैन।

comments powered by Disqus

रमझम