१६-२२ फागुन २०७२ | 28 Feb - 5 Mar 2016

नमूना पशुपालन

Share:
  
- दीपक ज्ञवाली

रुपन्देहीको बुटवल–भैरहवाखण्डस्थित पत्थरडाँडाबाट चार किलोमीटर पश्चिम टिकुलीगढ पुग्ने अधिकांशलाई फरक संसार पुगेको अनुभूत हुन्छ, जहाँ मान्छे कम र गाईबस्तु बढी बस्छन्।

टिकुलीगढको २० बिघा जमीनमा रहेको लुम्बिनी एग्रो प्रोडक्सन तथा रिसर्च सेन्टर प्रालिमा पाँच सय गाई बस्छन्। १५ वर्षअघि बस्न भनेरै अमेरिका पुगे पनि केही सातामै फर्किएका शंकरनगरवासी शशिधर शर्मा पौडेल (४७) ले २०६७ मा झन्डै रु.२५ करोडको लगानीमा यो पशुफार्म स्थापना गरेका हुन्।

तस्वीरः दीपक ज्ञवाली

होलस्टोन र जर्सी जस्ता उन्नत जातका गाईले दैनिक ३२ लीटरसम्म दूध दिन्छ। फार्मबाट दिनहुँ १२०० लीटर दूध उत्पादन हुन्छ। मशीनको सहायताले एकपटकमा १२ वटासम्म गाई दुहुन मिल्छ। थप १० बिघामा जई र बर्सिम जातको हाइब्रिड घाँस लगाएका उनी भन्छन्, “गाई बाँधेर होइन, चराएर पाल्नुपर्छ भनेर घाँस लगाएको हुँ।”

रोचक त के छ भने कसैले केही नगरी हरेक बिहान चार बजे गाईबस्तु आफैं दूध दुहिने स्थानतर्फ लाग्छन्। थुनको दूध दुहिसकेपछि आफैं गोठमा फर्कन्छन्। “मान्छेले बिर्सेला, तर गाईहरु ठीक समयमा दूध दिन आउँछन्, र फर्किन्छन्”, पौडेल भन्छन्। फार्ममा दूधसँगै जैविक मल, विद्युत्, बायोग्याँस प्लान्ट, दूधका परिकार र कृषि बालउद्यान तथा अनुसन्धान केन्द्र, भेटेरिनरी विषयमा डिप्लोमा जस्ता कार्यक्रम थाल्ने र फार्मबाट बिजुली उत्पादन गर्ने उनको ध्याउन्न छ।

सरकार र विश्व ब्यांकले फार्मलाई नमूना गाईपालन केन्द्रको रुपमा पुरस्कृत समेत गरेको छ। उनको नमूना फार्मबाट सिक्न देश–विदेशबाट थुप्रै अनुसन्धानकर्मी र पर्यटक आउने गरेका छन्।

गाईपालनबाटै मासिक झण्डै चार लाख कमाइ गरिरहेका उनी स्वदेशमै श्रम गर्नुको सन्तुष्टि महसूस गरिरहेका छन्। भन्छन्, “गाईसँगै हाँसखेल गर्छु, आनन्द त्यसैमा छ।”

comments powered by Disqus

रमझम