१६-२२ फागुन २०७२ | 28 Feb - 5 Mar 2016

धारामा ध्यान

Share:
  
पर्याप्त पानी नभए पनि घरका विभिन्न ठाउँमा धारा राख्ने चलन बढेको छ।

भान्सा कोठा, शौचालय, कौसी र बरन्डामा धारा राख्ने चलन चलेको धेरै भएको छैन। पहिले–पहिले आँगनमा ट्युब–वेल वा इनार खनेर पानीको बन्दोबस्त गरिन्थ्यो। गाउँघरमा अझै पनि सामूहिक धारा वा व्यक्तिगत भए आँगनमा नाला ल्याएर पानीको चाँजो मिलाउने गरिन्छ। काठमाडौंकै कतिपय पुराना घरमा भान्सा वा शौचालयमा अझै पनि धारा जोडिएको पाइँदैन।

केही दशकयता बनेका पक्की घरमा भने भान्सामा दुईवटासम्म र शौचालयमा ५/६ वटा धारा जोड्न थालिएको छ। घट्टेकुलो, काठमाडौंका भुपाल प्रधानले गमलाका बिरुवामा पानी हाल्न र जाडोमा लुगा धुन सजिलो होस् भनेर कौसीमा दुइटा धारा राखेका छन्। “तलदेखि पानी बोकेर लैजान गाह्रो हुने भएकाले घर बनाउँदै कौसीमा धारा राखेको थिएँ”, उनी भन्छन्, “अहिले धेरै सजिलो भएको छ।”

कुमारीपाटी, ललितपुरस्थित 'साह स्यानिटरी वेयर' का रतन साहका अनुसार घरलाई आधुनिक र स्तरीय देखाउन पनि अनेक डिजाइनका धारा, सावर, बाइडेट सावर, किचन सिंक स्पे्रयर, स्पि्रंकलर आदिको प्रयोग बढेको छ। “ट्वाइलेट सीट नजिकै बाइडेट सावर र भान्सामा सिंक स्प्रेयर सुविधाका लागि राख्ने गरिएको हो”, उनी भन्छन्, “हामीकहाँ अहिले २०–२५ थरीका फसेट (धारा), सावर, सिंक, बेसिन आदि छन्।”

बजारमा विभिन्न डिजाइनका बाथ सावर छन्। प्रयोगमा अभ्यस्त नभए पनि चलनचल्ती पछ्याउनकै लागि कतिपयले यस्तो सावर राखेका छन्। टाउको मात्रै पखाल्न र अन्य प्रयोजनका लागि सावरभन्दा तल अर्को धारा पनि राख्ने गरिएको छ। लुगा धुन एक फिट जति अग्लो धारा र हात–मुख धुन छुट्टै बेसिन राखिएको हुन्छ। भान्सामा हात वा सागसब्जी पखाल्न र भाँडाकुँडा माझ्न छुट्टाछुट्टै सिंक/बेसिन बनाउन थालिएको छ।
घरमा सोलार प्यानल जोडेकाहरूले प्रत्येक धारामा दुइटा रिभाइभर (धारा खोल्ने) राख्छन्। साह भन्छन्, “तातो र चिसो पानीका लागि दुइटा अनिवार्य नै चाहिन्छ।” यस्ता धारालाई मिक्सचर ट्याप भनिन्छ।

घुमाउने, थिच्ने, बटार्ने रिभाइभरहरू फलाम, प्लास्टिक, एक्रेलिक आदिबाट बनाइएका हुन्छन्। परम्परागत धारा भने प्रायः पित्तलका हुन्थे।

पानीको बहाव तीव्र वा धिमा बनाउने विकल्पसहितका धारादेखि प्रयोगताका आफैं खुल्ने र पछि स्वतः बन्द हुने सेन्सरसहितका धारा समेत किन्न पाइन्छ। बगैंचाका लागि टि्रगर भएका धारा वा रोटेटिङ स्पि्रंकलर उपलब्ध छन् भने शौचालय, भान्सा वा अन्य ठाउँमा चतुरभुज, गोलाकार वा यू–सेप्ड, ट्राइ–फ्लो, फाउन्टेन–फ्लो गरी विविध डिजाइनका धारा रोज्न सकिन्छ। विकसित मुलुकमा त तापक्रमसमेत सूचित गर्ने स्मार्ट–ट्याप नै प्रयोगमा आइसकेको छ।

सजना बराल

comments powered by Disqus

रमझम